​अचानक उत्थान, आकस्मिक व्यवधान

  • राजेन्द्र स्थापित

इन्गेल्सिना मार्किजोभा बुर्यातकी हुन् । सन् १९३६ को जनवरीमा बुर्यात–मंगोल स्वशासित समाजवादी गणतन्त्रबाट कारखाना मजदुरको एउटा प्रतिनिधिमण्डल सोभियत कम्युनिष्ट पार्टीका नेताहरुसँग भेट्न मस्को पुग्यो । प्रतिनिधिमण्डलको नेतृत्व इन्गेल्सिना उर्फ गोल्याका बाबुले गरे, जो बुर्यातका जनकमिसार थिए । गेल्या पनि बाबुसँगै हिँडेकी थिइन् । क्रेमलिन भवन पुग्नुअगाडि नेता जोसेफ स्टालिनलाई उपहार दिन गेल्यालाई बाबुले फूलको गुच्छा किनेर दिए । 

उनीहरु पुग्दा स्टालिन कुर्सीमा थिए । त्यसो त गेल्या मात्र सात वर्षकी फुच्ची थिइन् तैपनि त्यहाँ उपस्थित नेतागण स्टालिन, भ्याचेस्लाभ मोलोतोभ र सैनिक नेता क्लिमेन्ट भोरोसिलोभलाई सजिलै चिनिन् । यसअघि उनले क्रेमलिनको भित्तामा तीनैजना नेताका ठुल्ठूला फोटो टाँगिएको देखेकी थिइन् । स्टालिनले प्रतिनिधिमण्डललाई संबोधन गरी लामो भाषण दिए । भाषण सुनेर वाक्क भएकी गेल्या फूलको गुच्छा उपहार दिन मञ्चतर्फ अघि बढिन् । सुरक्षाकर्मीले कहाँ जान लागेको भन्दै रोक्न खोजे । गेल्याले उपहार दिन जाने भनेपछि जान दिइयो । मञ्चअगाडि पुगेर फूलको गुच्छा स्टालिनलाई दिइन् । स्टालिनले त्यसमा राखिएको कागजको टुक्रा खोलेर हेरे । लेखिएको थियो, ‘बुर्यात–मंगोल गणतन्त्रका केटाकेटीको तर्फबाट कमरेड स्टालिनलाई उपहार !’

स्टालिन निकै खुशी भए । गेल्यालाई जुरुक्क उठाएर अंगालोमा बेरे, म्वाइ खाए । उपस्थित सबैले ताली बजाए । स्टालिनले गेल्यालाई काखमा बसाएर माइक समाउन दिए । गेल्याले बुर्यातका केटाकेटीको तर्फबाट फूल उपहार चढाएको सन्देश सुनाइन् । नेता तथा अन्य सबैले पुनः ताली बजाएर गेल्यालाई धन्यवाद दिए । त्यसपछि कार्यक्रमभरि गेल्यालाई स्टालिनले सँगै राखिराखे । रात्रिभोजको बेला एउटा नाडी घडी उपहार दिए । साथै त्यहीं राखिराखेको नयाँ ग्रामोफोन देखाउँदै भने, ‘यो निकै गह्रुँगो छ, तिमीले बोकेर लान सक्दैनौ ।’ तर गेल्याले तुरुन्तै जवाफ फर्काइन्, ‘मेरो बुबाले लानु हुन्छ । यसरी गेल्याले नाडी घडी र ग्रामोफोन उपहार पाइन् । प्रतिनिधिमण्डल भोलिपल्टै फक्र्यो । यो घटनाको करिब ६ महिनापछि कम्युनिष्ट पार्टीको मुखपत्र ‘प्राभ्दा’ को मुखपृष्ठमा स्टालिनले गेल्यालाई बोकिराखेको फोटो छापियो । सो फोटो पछि प्रायः सबै रुसी पत्रपत्रिकाले छाप्न थाले । नभन्दै दुई–चार दिनमै सोभियत संघभरि प्रचार भयो । गेल्याले इष्टमित्र– साथीहरु सबैलाई भन्दै हिँडिन् कि ‘यो फोटोकी केटी मै हुँ ।’

यसपछिका महिनौं दिनसम्म गेल्याले विभिन्न स्थानबाट उपहार पाउँदै गइन् । कार्यक्रमहरुमा अतिथि बन्न पाइन् । किण्डरगार्टेन, अस्पताल तथा प्रायः सबै स्कुलमा उक्त फोटो टाँगिन थाल्यो । जर्जी लाभ्रोभ नामक मूर्तिकारले त गेल्या र स्टालिनको मूर्ति नै बनाएर स्तालिन्स्कायामा ठड्याइदिए । गेल्या रातारात प्रसिद्ध भइन्, स्टालिन पनि केटाकेटीका ‘मसिहा’ नै भएको प्रचार जोडतोडले चलाइयो । तर, गेल्याको जीवनको यो खुशी धेरै दिन टिक्न पाएन । सोही वर्षको डिसेम्बरमा बुबा आदिन मार्किजोभा जनकमिसार पदबाट बर्खास्त भए । गाउँ छाड्न आदेश जारी भयो । आदिनले गल्ती नगरेकाले गाउँ नछाड्ने अडान लिइबसे । तर, सन् १९३७ को शुरुवातकै दिन सादा पोशाकका प्रहरी घरमै पसी आदिनलाई पक्रेर लग्यो । शत्रु राष्ट्र जापानको लागि जासुसी गरेको, स्टालिनको हत्यायोजना बनाएको र लियोन ट्राटस्कीको समर्थन गरेको आरोप लगाइयो । आदिनकी पत्नीले छोरी गेल्यामार्फत स्टालिनको नाउँमा पत्र पठाई लोग्नेलाई जीवनदान दिन निवेदन दिइन् । गेल्याले पनि थुप्रै पत्र लेखेर बहुप्रचारित फोटोमा भएकी केटी मै हुँ भनेर चिनाउन खोजिन् । पत्रको जवाफ त आएन नै, बरु उल्टै गेल्याकी आमालाई पनि प्रहरीले घरबाट लग्यो ।

घरमा गेल्या र दुई वर्षले जेठो दाजु मात्र रहे । आफन्तजनले सहारा दिए । यसैबीच सन् १९३८ को जुलाईमा आदिनलाई फाँसी दिइयो । आदिनकी पत्नी एक वर्षपछि बल्ल रिहा भइन् । पछि एउटा अस्पतालमा काम गर्न थालिन् । यसबीच अस्पतालमा इमर्जेन्सीमा ल्याइएको बच्चा मरेपछि बच्चाका आमाबाबुले गेल्याकी आमामाथि ‘जनताका शत्रु’ भन्दै मुद्दा दायर गरे । यसरी मुद्दा हालेकै दिन उनको लाश अस्पतालकै एउटा वार्डमा फेला प¥यो । उनी मात्र ३२ वर्षकी थिइन् । आमा–बाबु दुवैको निधनपश्चात् गेल्या र दाजु मस्कोमा बसाइँ सरे । नातेदारको परिवारसँग बसे । अनाथको रुपमा हुर्के । पछि गेल्या भएको पोष्टर सबै स्थानबाट झिकियो । सत्तारुढ पार्टी र सरकारले पोस्टर ‘गल्ती’ भएको भने । गेल्या पछि चीन र भारत विषयक विशेषज्ञ बनिन् । दुईपटक बिहे गरिन् । तीन सन्तानको आमा बनिन् । उनको निधन सन् २००४ को मे ११ मा टर्कीको अंकारामा भइसकेको छ ।

पति जति सबैको प्राणान्त
आयरल्याण्डको किल्किनी नगरमा एलिस कायटलर नामक सुन्दरी बस्थिन् । बाबुआमाकी एक्लो सन्तान । युवावस्थामा प्रवेशसँगै बिहेको चस्का लाग्यो । तर, अचम्मको कुरा लोग्ने बाँच्दै नबाँच्ने । यसको बाबजुद एकपछि अर्को लोग्ने पाउँदै गइन् । 

सन् १२८० मा १७ वर्षको उमेरमा विलियम आउटलासँग बिहे गरिन् । एउटा छोरो र छोरीको आमा बनिन् । २२ वर्षपछि सन् १३०२ मा विलियम मरेको अवस्थामा घरमै फेला परे । मृत्युको कारण कसैले थाहा पाएनन् । अकस्मात एकदिन बिरामी भए, उठ्दै उठेनन् । मर्नुअगाडि नङ र कपाल झरेको थियो । 

एलिसले सोही साल एडमले ब्लण्डसित दोस्रो बिहे गरिन् । यो बिहे सात वर्षसम्म मात्र चल्यो । एडमको मृत्युपछि सन् १३०९ मा रिचर्ड वैलेसँग बिहे गरिन् । उनको मृत्यु पाँच वर्षपछि भयो । संयोगवश एलिसका तीनैजना लोग्ने धनी परिवारका थिए । त्यसैले लोग्नेको निधनपछि एलिस ठूलो धनराशी र सम्पत्तिको मालिक्नी बनिन् । एलिसले चौथो बिहे सन् १३१६ मा सर जोन पोएरसँग गरिन् । सन् १३२४ मा जोन यात्रामा हिँड्न लाग्दा पत्नीबारे जाँचबुझ गर्ने सोचे । बिहे गरे यतादेखि नै उनले एलिसबारे नानाथरी कुरा सुन्न थालेका थिए । उनले पत्नीको अनुपस्थितिमा कोठाको तलासी लिए । अनेक प्रकारका वीष भण्डारण गरिएको पत्ता लगाए । साथै कोठामा राखिएका वस्तुबाट एलिस बोक्सी र जादुगर्नी भएको बुझे । उक्त मामिला चर्चसम्म पुगेपछि विशप रिचर्ड लैडरेडले जाँच–पड्ताल गर्ने जिम्मेवारी उठाए । 

विशपले एलिसको हरेक काममा नोकर्नी पेट्रोनिला डे मेथ र छोरा विलियमले साथ दिने गरेको पत्ता लगाए । चर्चको आदेशमा एलिसका सहयोगीहरु ११ जना पक्राउ परे । सबैमाथि बोक्सी र जादूको आरोप लगाइयो । एलिसमाथि सातवटा अपराधको आरोप लाग्यो । एलिस मध्यराति गुप्त स्थानमा गएर सहयोगीहरुसित बसी सैतानको पूजा गर्थिन् । जादू–टुनामा सिद्धि हासिल गर्न जनावरको बलि चढाउने, स–साना बच्चाको लासको मासु खाने, मरिसकेको मानिस र फाँसीमा चढाइएकाहरुको नङ उखेलेर र कपाल काटेर जन्तर बनाउने गर्थिन् । जन्तरमा मन्त्र घुसार्न डाँकूको लासको खप्परमाथि राखेर सामानहरु उमाल्थिन् । उमालिएको पेय पदार्थ सबैले शरीरमा दल्थे र औषधिसरह हप्तौं पिउँथे । 
जाँचकर्ता विशप अलि बेइमान प्रवृत्तिका थिए । जाँचबुझकै क्रममा एलिसको एकजना अग्लो हृष्टपुष्ट युवकसित अवैध सम्बन्ध रहेको थाहा पाएर तिर्मिराए । उनले पछि रोबर्ट आर्टिसन नाउँका ती युवकबाट ठूलो धनराशी लिएर उनी वास्तविक होइनन्, ‘भूत’ हुन् भनी घटनालाई सामसुम पारिदिए । प्रत्यक्षदर्शी जो साक्षी बनेका थिए, उनीहरुले बताए कि सूर्य अस्ताएपछि एलिस कुचो लिएर जादुगरी गीत गाउँदै कोठाबाट निस्किन्थिन् र छोरो विलियमको घरतर्फ धुलो बढार्दै लान्थिन् । उनले गाउने गीत हुन्थ्यो, ‘किल्किनी नगरको सबै सम्पत्ति मेरो छोरा विलियमको पोल्टामा परोस् ।’

जाँचबुझबाट यो पनि प्रमाणित भयो कि एलिस नै सबै लोग्नेका हत्यारा हुन् । जादू–टुनामार्फत सबै सम्पत्ति हडपेपछि चौथो लोग्नेलाई पनि मार्न चाहन्थिन् । जाँचबुझको आधारमा एलिसलाई मृत्युदण्ड दिइनुपर्ने तय भयो तर त्यसबेला आयरल्याण्डका चान्सलर थिए रोजर आउटला । रोजर एलिसका आफन्त । त्यसैले उनी एलिसलाई मृत्युदण्ड दिन तयार भएनन् । विशपले रिसाएर चान्सलरसँग अनुमति नलिइकनै एलिसविरुद्ध मुद्दा दायर गरे । चान्सलरलाई थाहै नदिई एलिसलाई मृत्युदण्ड दिइने सजाय सनाए । तर, कहाँ–कहाँबाट यो सूचनाको सुइँको एलिसले पहिल्यै पाइन् र नोकर्नी पेट्रोनिलाकी छोरी वासिलाको सहयोग लिई लण्डन भाग्न सफल भइन् । विशप एलिससित जसरी पनि बदला लिने सुरमा थिए, त्यसैले एलिस फेला नपरेपछि उनकी नोकर्नी पेट्रोनिलालाई भए पनि मृत्युदण्ड दिएर मन शान्त पार्ने सोच बनाए र सन् १३२४ को नोभेम्बर ३ मा पेट्रोनिलालाई आगोमा जलाएर मारे । आयरल्याण्डमा बोक्सी अपराधमा सजाय पाउने पेट्रोनिला प्रथम महिला थिइन् । उता, वासिलासँगै लण्डनतर्फ भागेकी एलिसको सन् १३२५ मा त्यहीं निधन भयो । त्यसबेला उनी ६२ वर्षकी थिइन् ।

टिप्पणीहरू