शहरको स्वाद र गाउँको याद
- यमुना अर्याल (काफ्ले)
०६८ सालको ११ औँ जनगणनाअनुसार कुल जनसंख्याको १७.११ प्रतिशत शहरी भेगमा बसोबास गर्छन् भने बाँकी ८२.८९ प्रतिशत ग्रामीण क्षेत्रमै छन् । ६ वर्षबीच यो संख्यामा केही फेरबदल भयो होला तर संख्यात्मक रूपमा तात्विक अन्तर देखिएको छैन । अझै पनि धेरै जनसंख्या गाउँघरमै छ ।
शहर अर्थात् बाध्यताको नगरीमा प्रवेश गर्नु जोकोहीका लागि पक्कै सहज लाग्दैन । बिरानो ठाउँलाई आफ्नो ठान्नुपर्ने र जन्मदेखि साइनो भएको ठाउँलाई बिरानो बनाउनुपर्ने बाध्यतामा हजारांै नागरिक रन्थनिएका छन् ।
गाउँघरमा अहिले पनि कोही नयाँ मानिसको आगमन भयो भने बूढापाकाहरू सोधिहाल्छन्, कहाँबाट आएको ? कता जाने ? कसको छोरा, कसकी छोरी हो ? अपरिचित नै भए पनि एकैछिन हाम्रो घरमा बसौँ, चिया खाऊँ, खाजा नास्ता खाएर जाऊँ । कोही आफन्तको घरमा केही गाह्रोसाह्रो प¥यो भने छिमेकीहरू तुरुन्त जुटिहाल्छन् । त्यसैले त समाजका आफन्तलाई मर्दापर्दाका सारथि मान्ने गरिन्छ । गाउँघरमा भौगोलिक विकटताका कारण वा अन्य बाध्यात्मक परिस्थितिले गर्दा एक छिमेकीको घरदेखि अर्को छिमेकीको घरसम्मको दूरी टाढा हुन्छ तर मनको दूरी नजिक हुन्छ । सहरमा घरहरू लहरै जोडिएका हुन्छन्, एकै घरको आडमा आधा दर्जन घरको सुर जोडिएको हुन्छ तर शहरमा संस्कारको स पनि भेट्टाउन सकिँदैन, कसैलाई कसैसँग सरोकार छैन, चासो छैन, एकलाई दुःख पर्दा अर्कोले सघाउने, साथ लिन जरुरी ठान्दैनन् ।
शहर नितान्त स्वार्थी छ, एउटै घरमा विभिन्न क्षेत्रका व्यक्ति कोठा भाडामा लिएर बसोबास गर्छन् । घरबेटीलाई मासिक घरभाडासँग सम्बन्ध हुन्छ, डेरावालालाई आफ्नै कामसँग मतलव हुन्छ, कसैलाई कसैको मतलव हुँदैन । एउटा कोठामा मान्छे मरेको अर्को कोठामा बस्नेहरूलाई पत्तो हुँदैन । एउटा घरमा शोक परिरहेको हुन्छ, सँगै जोडिएको अर्को घरमा भोजभतेर चलिरहेको हुन्छ । एक घरको अर्को घरसँग कुनै साइनो, सम्बन्ध हुँदैन र त एक घरमा जुठो बारिरहँदा अर्को घरमा बिहेको बाजा झ्याइँझ्याइँ बजिरहेको हुन्छ । घरबेटी र डेरावालको बीचमा पारिवारिक सम्बन्ध स्थापित हुन अझै सकिरहेको छैन । चैत ४ गते प्रकाशित एउटा समाचारले केही सोच्न बाध्य बनायो । म्याग्दीको सदरमुकाम बेनीमा आपसमा सम्बन्ध प्रगाढ बनाउन नयाँ अभ्यास थालनी भएको छ ।
बेनीको एउटा टोलमा विभिन्न काम विशेषले घर भाडामा बस्न आउनेलाई स्वागत गर्ने र विभिन्न काम विशेषले विगतमा बसोबास गर्दै आएकाहरू अन्यत्रै जान चाहे बिदाइ गर्ने संस्कारको थालनी भएसँगै यो अभियानले चर्चा पाएको हो । यसको सिको राजधानीलगायत शहरी भेगका बासिन्दाले पनि गर्न सक्ने हो सम्बन्ध कति सुमधुर बन्ने थियो ?
बेनीको वीरेन्द्रचोक टोल सुधार समितिले पारिवारिक साइनो भएका व्यक्ति आउँदा गर्ने स्वागत र आफन्त बाहिर जाँदा गर्ने बिदाइको झल्को आउने गरी सार्वजनिक रूपमै काम गर्ने प्रचलन थालेको छ । गाउँकै उब्जनी नखाई शहरमा बस्नेहरूको छाक चल्दैन फेरि उनीहरू नै भन्छन्– गाउँलेहरू पाखे हुन्छन्, गँवार हुन्छन् । शिक्षित नहोलान्, सुकिलामुकिला नहोलान्, रातदिन खेतबारी, मेलापातमा व्यस्त हुनुपरेपछि सहरियाजस्ता देख्दै वाह भन्ने खालका नहोलान् तर खास संस्कार उनीहरूले सिकेका छन् । जतिसुकै पाखे भए पनि गाउँमा बस्नेहरूले पाहुना घरमा आउलान् कि भनेर कुकुरदेखि सावधान भन्ने सूचना मूलगेटमा टाँसेका हुँदैनन्, उनीहरूलाई अतिथिदेवो भव भन्ने राम्रै हेक्का छ ।
शहरमा बस्नेहरूले कोही नयाँ व्यक्ति देख्नासाथ कुकुरको डर देखाउँछन्, घरको मूलगेटमै लेखिएको हुन्छ कुकुरदेखि सावधान भनेर । तर, गाउँमा अतिथि देवो भवः भनिन्छ ।
पाहुनालाई पानी मात्रै भए पनि खुवाउनुपर्छ, खाली पठाउनुहुँदैन भन्ने भावना आमा–हजुरआमाले गरेको हामीले सिकेका हौँ । तर, शहरमा कोही व्यक्ति कुनै काम विशेषले घरमा आइहाले पनि बोलाउने, बसौँ भन्ने संस्कार फिटिक्कै छैन । छतबाट सीधै के काम थियो ? किन भन्दै रुखो स्वरमा सोध्यो, पठायो । कम्तीमा घरभित्र बोलाएर, एकैछिन बसाएर त्यही कुरा सोध्दा बिग्रने त केही होइन । यो अधिकार शहरियालाई छ किनभने यो आधुनिक शहर हो । शहरियाले जे गर्दा पनि पाच्य हुन्छ । घर नजिक हुँदैमा, शहरमा बस्दैमा कोही आफ्नो हुँदैन, आफन्त त्यो हो जो सयौँ माइल टाढाको दूरीमा घर भए पनि केही आइपर्दा तुरुन्त आइपुग्छ । अन्त्यमा एउटा गीतको अंश भन्न मन लाग्यो,
शहरमा खान किन्न त पाइन्छ
पानी फ्रिजको अनि हावा एसीको,
झझल्को मेट्दैन गाउँबेंसीको ….
टिप्पणीहरू