कम्निष्ट भनी नगर हेलाँ

खिमलाल देवकोटा

छिमेकी मुलुक चीनले केही वर्षदेखि अमेरिकाले ३० वर्षदेखि सञ्चालन गर्दै आएको जस्तै लाग्ने भ्रमण कार्यक्रमअन्तर्गत इन्टिग्रेटेड इन ग्लोबल भ्यालु : चेन फर डेभलपिङ कन्ट्रिज शीर्षकमा अप्रिल ८ देखि २८ सम्म आयोजना गरेको थियो ।

सुनेको चीन देखेकोभन्दा फरक रहेछ । मानवअधिकार र कानुनको शासनका पण्डितले चीनको काफी आलोचना गर्छन् । सूचनाका विज्ञहरू चीनका सूचना बाहिर आउँदैनन् भन्ने कुरा गर्छन् । पश्चिमा संसारले तिमी बुद्धिमान छौ, राम्रो छौ, क्रियाशील पनि छौ, जवान छौ, सुन्दर छौ, क्षमतावान पनि छौ, तिम्रो सबै राम्रो छ तर कम्युनिष्ट भयौ, तिम्रो अयोग्यता यही भयो भन्ने मानसिकताबाट ग्रस्त छन् ।

चिनियाँ कम्युनिष्ट शासन व्यवस्था अबको दुनियाँमा टिक्न सक्दैन, उसको विकास, समृद्धि र प्रगतिको कुरा फगत हो भन्नेमा विश्वास गर्ने जमातको धेरै कुरा सुनेको म २०१५ मा पहिलो पटक र तीन वर्षपछि दोस्रोपटक जाँदा गलत सावित भएको छ । विश्वको झण्डै एकतिहाइ जनसंख्या भएको मुलुक आफ्ना जनताको गाँस, बास र कपासको ग्यारेन्टी गर्न सफल भएको छ ।

चिनियाँ प्रगतिको कथा :
पहिला गरिबी अन्त्य गर्ने, त्यसपछि मध्यम आयको विकसित मुलुकमा उकास्ने र निश्चित अवधिमा संसारकै धनी मुलुकमा विकास गर्ने मार्गचित्र तयार गरेर चीन दौडिरहेको छ । तीव्र गतिको रेल यातायात क्षेत्रको क्रान्ति नै हो । प्रतिघण्टा ७०० किलोमिटर दौडिने रेलको आविष्कारले यातायात क्षेत्रका विकासलाई धेरै पछि पारिसकेको अनुभूति हुने गर्छ । ताररहित मोबाइल चार्जर हाम्रालागि सपनाको कुरा होला त्यहाँ प्रयोगमा आइसक्यो । सोलार साइकल, सोलार कार र सोलार हवाईजहाजका मोडेल तयार भइसके । कुनै बेला भोकमरीले प्रताडित मुलुकका मानिस भेट्नासाथ तपाईंले खानुभो ? भनेर सोध्ने चलन आज खाद्य परिकारको परिणाम र गुण सबैमा संसारलाई उछिनेको छ । तोकेको लक्ष्य र निश्चित समय सीमाभित्र निर्धारित तरिकाले सहजै हासिल गर्न सक्ने मुलुक यतिबेला चीनबाहेक अर्को छैन । यसैमा चिनियाँ प्रगतिको कथा लुकेको छ । यसको पछाडि निर्णय कार्यान्वयनको दर सतप्रतिशत हुनु र अथोरिटी फस्र्टको संस्कृति निर्माण गर्नु सर्वाधिक महŒवका विषय हुन् ।

बेल्ट एण्ड रोड :
पुरानो सिल्क रोडको अवधारणालाई ब्यँुझाउँदै यतिबेला चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ संसारलाई नै चकित पार्ने परियोजना बनेको छ । यसको लक्ष्य अत्यन्तै महŒवाकांक्षी छ । संसारलाई सडक र जलमार्गको सञ्जालले जोड्ने र मानव जीवनलाई सहज बनाउने अभियान चिनियाँ जनताका लागि मात्रै होइन, संसारका लागि महŒवको हो । यसो त विशाल परियोजना भन्नासाथ पुँजीको प्रसंग आइहाल्छ । चिनियाँ धन, जन र परिकल्पनाले संसार हाँक्ने अवस्था आउनासाथ विश्वको महाशक्ति हुनबाट कसैले रोक्न सक्दैन । यो परियोजनामा विश्वका आधाभन्दा बढी राष्ट्रलाई सहमत गराउन सक्नु महान् सफलता हो भने त्यसका लागि चाहिने आधारभूत संरचना तयार गर्न अन्तका साथै चिनियाँ व्यवसायीलाई उत्प्रेरित गर्नु आफंैमा ऐतिहासिक कार्य हो ।

कम्युनिष्ट शासनवाला चीन विश्वव्यापीकरण र खुला अर्थतन्त्रको वकालत गर्छ, संसारभर निर्वाध रूपमा वस्तु तथा सेवा आवागमनको कुरा गर्छ तर अमेरिका आफ्नो सिमानामा पर्खाल लगाउने भन्छ । शून्य भन्सार दर लागू हुने विश्व बंैकको घोषणाका बाबजुद आफ्नो देशमा आउने सामानमा कर बढाउने कुरा गर्छ । कम्युनिष्ट चीन गैरकम्युनिष्ट विश्व बनाउने कुरा गर्छ, गैरकम्युनिष्ट अमेरिका अरू थुपै गैरकम्युनिष्ट मुलुकमाथि नाकाबन्दी लगाउने, प्रतिबन्ध लगाउने, सिमानामा पर्खाल ठड्याउने र आप्रवासीलाई फिर्ता पठाउने अत्यन्तै कन्जरभेटिभ कुरा मात्रै गर्दैन, अमेरिका मात्रै बनाउने दाबी गर्छ ।

अमेरिका डिग्लोबलाइजेसनको यात्रामा छ तर चीन भने ग्लोबलाइजेसनको पक्षमा देखिन्छ । अमेरिका विगतदेखि वहन गरिआएको जिम्माबाट एकाएक पछि हट्दै छ, संयुक्त राष्ट्रसंघलाई दिँदै आएको अनुदान कटौतीदेखि वैदेशिक सहायता घटाउँदै अमेरिकी जनताको सामाजिक सुरक्षामा कटौती, ओबामा केयरजस्ता पपुलर बिलहरू खारेजीमार्फत धनाढ्यहरूलाई मात्रै फाइदा हुने गरी कर कटौतीको प्रस्तावमा तल्लीन छ, यही स्पेसमा चीन आफ्नो भूमिका संयुक्त राष्ट्रसंघदेखि अन्तर्राष्ट्रिय संघसंस्थामा वृद्धि गर्दै छ ।

माओले अमेरिकी र जापानी साम्राज्यवाद तथा च्याङकाइसेकको फाँसीवादबाट एकसाथ मुक्त गराएको विशाल भूमि चीन आज आफूसँगै संसारलाई अविकास र गरिबीबाट मुक्त गराउँदै छ । यस कार्यमा चीनलाई सफलता हात लाग्नुका पछाडिको तथ्य भनेको अनुशासन र कामप्रतिको गहिरो प्रतिबद्धता नै हो । चिनियाँ संस्कृतिमा सोची बिचारी निर्णय गर्ने र त्यसको कार्यान्वयनमा आँखा चिम्लेर लाग्ने केही खास विशेषता भेटिए । निर्णय गरिसकेपछि कार्यान्वयन मात्रै बाँकी रहन्छ, त्यसबाहेक दायाँ–बायाँ तर्क गर्ने र लक्ष्य हासिल नगर्ने छुट त्यहाँ पाइन्न ।

एक देश : चार प्रणाली
आज चीन देश एउटा छ तर चारवटा प्रणालीबाट शासित छ । कम्युनिष्ट पार्टीको शासन, यो सत्य हो तर हङकङको शासन प्रणाली फरक छ । मकाउको कुरा फेरि अर्कै छ । यसैगरी, ताइवानलाई अफिसियल्ली रिपब्लिक अफ चाइना भन्ने गरिन्छ । विशाल भूभाग, अथाह जनसंख्याविरोधीहरूको घेराबन्दी, एक्काइसौं शताब्दीमा पनि कम्युनिष्ट शासन प्रणाली भनेर दुनियाँको आलोचना खप्दाखप्दै पनि चीनले आफ्नो दैनिकी रफ्तारमै सञ्चालन गरिआएको छ । चीनलाई एकदलीय शासन प्रणाली भएको देश भन्ने गरिन्छ तर रुलिङ पार्टी र डेमोक्रेटिक पार्टीहरू पाइन्छ । आठ वटा अरू पार्टी च्याङकाइसेककै पालादेखिका डेमोक्रेटिक पार्टीसहित प्रचलनमा छन् । उपराष्ट्रपति, उपप्रधानमन्त्री, सैन्य कमिसनको उपाध्यक्षजस्ता पदमा यिनै डेमोक्रेटिक पार्टीका प्रतिनिधिलाई मनोनयन गर्ने गरिएको अधिकारीहरू बताउँछन् । स्वशासित प्रदेशको अधिकार र स्वायत्तताको चर्चा गरेर चीन कुनै पनि संघीय मुलुकभन्दा कम नरहेको भन्न पनि अधिकारीहरू पछि पर्दैनन् ।

सिरिया र कोरियासम्म
चीनले आफूलाई विकासोन्मुख मुलुकको कोटीमा राखेको छ । यसो भइकन पनि थुप्रै मुलुकलाई अनुदान सहयोग, ऋण, सहुलियतलगायत व्यवस्थापन गर्नमा पनि पछि परेको छैन । संयुक्त राष्ट्रसंघलगायत बहुर्राष्ट्रिय संघसंस्थाहरूको व्यवस्थापनमा साझेदारी, हिस्सेदारी र सहायताका मामलामा चीन कहिल्यै पछि हटेको छैन । सिरियामा अमेरिका र रुसको पौंठेजोरी र एकअर्काविरुद्धको धम्कीसमेतलाई कुशलतापूर्वक व्यवस्थापन गरेर आणविक हतियारधारी शक्तिशाली राष्ट्रबीचको वैमनश्यतालाई मत्थर पार्नमा पनि भूमिका खेलेको पाइन्छ । दुई कोरियाबीच चुलिएको वैमनश्यता ७० वर्षपछि हार्दिकतामा बदल्ने भूमिकामा पनि चीनको हात देखिएकै हो । आणविक परीक्षणले अमेरिकालाई जिस्क्याउने र आफूलाई जिस्क्याएको बहानामा थप नाकाबन्दी लगाउन कस्सिने अमेरिकाको भूमिकालाई सन्तुलनमा ल्याउने काम अरू कसैले नभएर चीनले नै गरेको हो ।

संयुक्त राष्ट्रसंघमा चीन
संयुक्त राष्ट्रसंघको अमेरिकामाथि अत्यधिक निर्भरता कसैका लागि पनि प्रिय थिएन । राष्ट्रसंघको निष्पक्षतामाथि पनि बारम्बार प्रश्न उठ्ने गरेको थियो । यति नै बेला अमेरिकामा डोनाल्ड ट्रम्पको आगमनसँगै राष्ट्रसंघ उपरको दायित्व घटाउने घोषणा कार्यान्वयन हुने अवस्थामा पुगेको छ । जब अमेरिकाको योगदान घट्दै छ त कसै न कसैले त्यो स्थान लिन जरुरी छ । अमेरिका आफ्नो संलग्नता घटाउँदै जाने र रिक्त स्थानमा चीनले भूमिका बढाउँदै जाने अवस्थातर्फ परिस्थिति लम्कँदै छ ।

अफ्रिकी मुलुकमा प्रभाव
संसारका धेरै मुलुकमा उपनिवेश चलाएका बेलायत र उसका अलाइहरूको प्रभाव विस्तारै घट्दै जान थालेका बेला पोष्ट कोलोनियल राष्ट्रहरू भरपर्दो अभिभावकको खोजीमा थिए । त्यही स्पेस चीनले प्राप्त गरेको हुनुपर्छ । यतिबेला अफ्रिकी मुलुकमा चीनको एकछत्र प्रभाव देखा पर्छ । अनुदान र सहयोगमा रेलवे लाइन बिच्छाइदिनेसम्मका कामको कारण चीनले सो क्षेत्रमा आफ्नो प्रभाव जमाउन सफल भएको हो । यो पक्ष पनि चीनलाई महाशक्ति बन्न सहयोगी सिद्ध हुने पक्का छ ।

योजनाको साइज नै विशाल
चीन एसियाको एक चौथाइ र विश्वको १५ भागको एक भागमा फैलिएको छ । चौधवटा मुलुकसँग सिमाना जोडिन्छ । १ खर्ब ३७ अर्ब जनसंख्या भएको आजको चीन संसारको २० प्रतिशत जनसंख्याको हिस्सेदार हो । उसको परियोजनाको आकार नै खर्बको आकारमा हुने गर्छ । पूर्वाधार विकास होस् वा उत्पादनको मामला, आयात–निर्यात् होस् वा खपतको प्रसंग जेसुकै गरे पनि जनसंख्याको अनुपातमा आइलाग्ने आकार परिकल्पनाभन्दा बाहिर नै हुने गर्छ । यो तथ्य पनि चीनका लागि महाशक्ति बन्ने थप आधार हो । ऊर्जामा लगभग आत्मनिर्भर चीनले जम्मा १० प्रतिशत ऊर्जा मात्रै आयात गर्छ, ९० प्रतिशत आफ्नै आन्तरिक उत्पादनबाट उपभोग गर्छ ।

चीनको बहुआयामिक विकास अमेरिकाको दाँजोमा धेरै तीव्रता र रफ्तारमा छ तर अमेरिकी आर्थिक वृद्धि दर लगभग स्थिर बन्न थालेको छ । अमेरिकाका लागि नयाँ गर्नु छैन, विगतको विरासत धान्नु मात्रै छ तर चीनका लागि आफैं विकासोन्मुख मुलुक भएका नाताले गर्नुपर्ने धेरै छ । जनसंख्या वृद्धि दर अमेरिकालगायत मुलुकमा माइनस दरमा छ, चीनमा नियन्त्रणका बाबजुद तीव्रतामै छ । युरोपियन युनियनवाट बेलायतको बहिर्गमन उसको अमेरिकाप्रतिको लगावको संकेत हो भने बाँकी युरोप, अमेरिकाको तुलनामा चीनसँग सम्बन्ध विस्तारको आरम्भ हो । यसरी हेर्दा हालैका वर्षदेखि चीनले अवलम्बन गर्दै आएको राजनीतिक, आर्थिक एवं कूटनीतिक अभ्यास निकट भविष्यमा महाशक्ति राष्ट्र बन्ने नै हिसाबको देखिन्छ ।

टिप्पणीहरू