सुहागरात नमनाउँदै सुधारगृह
भरपुर प्रेम गरेर विवाहसमेत गरिसकेको युवालाई सुहागरात मनाउन नपाउँदै अपहरण, शरीर बन्धक र बलात्कार अभियोगअन्तर्गत कारागार चलान गरिएको छ । युवतीकै प्रस्तावबाट शुरु भएको प्रेमले जेलको चिसो छिँडीमा पु¥याउला भन्ने कल्पनासमेत नगरेका दैलेख चामुण्डाका युवक अहिले आगो र पानीको उदाहरणसँग युवतीको प्रेमलाई दाँजिरहेका छन् ।
कारागारमा राखेर अनुसन्धान जारी राखेको प्रहरीले युवा निर्दाेष भएको प्रमाण संकलन गरे पनि युवतीका आफन्तको बयान र उजुरीका आधारमा अदालतले पुर्पक्षका लागि थुनेको हो । हाल चामुण्डा नगरपालिका–२ श्रीवन गाउँ घर भई नमोबुद्ध नगरपालिका–४ भकुण्डेमा बस्दै आएका २१ वर्षीय बमबहादुर बिष्टलाई प्रेमले पिरोलेको छ ।
०७४ साल फागुन १ गते बेलुका अन्दाजी ७ बजेको घटना हो यो । नमोबुद्ध नपा–४ स्थित राजन हुमागार्इंको फर्निचरमा काम गर्दै आएका बमबहादुर बिहान–बेलुका नजिकैको होटलमा खाजा खान जान्थे । त्यही क्रममा माघ १० गते युवतीसँग भेट भयो । चिया पसलमा भएको भेटलाई अन्यथा मानेनन् । हेराहेर र देखादेखमा बोलचाल भयो । प्रेम शुरु भयो । त्यही दिनदेखि मोबाइल नम्बरको आदानप्रदान भयो । कुराकानीकै क्रममा विवाह गर्न राजी भए । भकुण्डेस्थित फर्निचरमा काम गरेर बस्ने दैलेखका युवा बमबहादुरले यही निहुँमा बम विस्फोट हुन्छ भन्ने पत्तो पाउनै सकेनन् । बमबहादुरले प्रेम त गरिरहे तर युवतीको अभिभावकसँग सहमति थिएन । युवतीले नै आफूलाई चाँडो भगाएर लैजान अनुरोध गरिन् । माघ २८ गते दिउँसो भाग्ने योजना बन्यो ।
त्यो दिन फर्निचरमा काम गरेर कोठामा फर्किंदा खाना पकाउन ढिलो भएका कारण भाग्ने योजना तुहियो । पैसा पनि साहुले समयमा दिएनन् । युवती लिएर भाग्दा ५ सय रकमले सम्भव थिएन । साहुले ५ सय मात्रै दिएका थिए । युवतीले भाग्ने योजना बनाइरहँदा बमबहादुर डराइरहेका थिए । नयाँ स्थानमा आएर विवाह गर्दा कतै समाजले केही पो गर्ने हो कि ? फर्निचर साहुजीलाई विवाह गर्ने कुरा नगरेका कारण पैसा पनि थोरै दिएका थिए । २८ गतेको साइत उम्किएपछि २९ गतेलाई योजना बन्यो । त्यसमा पनि सम्भव भएन । फागुन १ गते शिवरात्रि । युवती र बमबहादुरले साँझ भाग्ने योजना बनाए । २५ सय रुपैयाँ साहुजीसँग मागेर बमबहादुर कस्सिए । दिउँसै भेट भयो । सोती खोलामा उनी बाख्रा चराइरहेकी थिइन् । बाख्रा चराउन जाने निहुँमा भाग्ने योजना थियो । त्यहीअनुसार युवतीलाई कोठामा लिएर आए ।
दिउँसो साढे ३ बजेदेखि नै बसिरहे । अनुकूल समयको पखाईमा रहेका बमबहादुरको प्रेमिल जोडीले साँझ उपयुक्त समय देख्यो । तत्काल बिपी राजमार्गमा निस्कियो । बाटोमा बस थिएनन् । दूध बोक्ने गाडी चढेर चौकोटको बाटो हुँदै श्रीखण्डपुर आए । त्यहाँबाट अर्काे गाडी चढेर पनौती पुगे । पनौतीस्थित आफन्तको घरमा बास बसिरहेका बेला एक्कासी राति ९ बजे युवतीका दाइ र आफन्त आएर बमबहादुरलाई मरणासन्न हुने गरी कुटपिट गरे । युवतीलाई साथमै लिएर फर्किए ।
भोलिपल्टै प्रहरीकोमा उजुरी गरे– युवतीलाई बाख्रा चराउन गएका बखत सोती खोलामा जबर्जस्ती करणी र अपहरण गरी पनौती ल्याई बन्धक बनाइयो । सार्वजनिक यातायात प्रयोग भएपछि कसरी हुन्छ अपहरण ? युवतीकै सहमतिमा भएको भागी प्रेम कसरी हुन्छ जबर्जस्ती करणी ? प्रहरीले युवतीका आफन्तले ल्याएको उजुरी दर्ता ग¥यो । पुर्पक्षमा थुनिए बमबहादुर । युवतीकै प्रस्तावमा प्रेम स्विकारी उनकै प्रस्तावमा भागी विवाह गर्दा कसरी भएँ म अपराधी ? प्रेम स्विकार्नु मेरो अपराध हो ? बमबहादुर कारागारभित्र पश्चाताप गरिरहेका छन् । यता युवतीका तर्फबाट प्रहरीमा यस्तो बयान दिइएको छ, ‘म जाहेरवालाको छोरी वर्ष २१ की ले रोशी स–मिलबाट दाउरा लिई आफ्नो होटल पसलतर्फ आई राखेको अवस्थामा सोही स–मिलमा काम गर्ने दैलेख चामुण्डा नपा–२ बस्ने वर्ष २१ को बमबहादुर बिष्टले हातमा समाई जबरजस्ती जोरजुलुम गरी मुख थुनी लडाई करणी गरी सोही स्थानबाट अपहरण गरी लगी पनौतीस्थित कोठामा पु¥याई बन्धक बनाई राखेको अवस्थामा फेला परेकाले छोरीलाई उद्धार गरी ल्याएको हुँदा बमबहादुर बिष्टलाई पक्राउ गरी अपहरण तथा जबरजस्ती करणी मुद्दामा कानुनबमोजिम कारबाही गरी क्षतिपूर्तिसमेत दिलाइ पाऊँ ।’
प्रहरीले जाहेरी दरखास्त, प्रहरी प्रतिवेदन, पीडकको शारीरिक जाँच परीक्षण प्रतिवेदन, घटनास्थल मुचुल्का, पीडितको कागज, केस फारम रिपोर्ट, प्रतिवादी बमबहादुर बिष्टको बयान कागज, घटनास्थल मुचुल्का, पीडितको शारीरिक जाँच परीक्षण प्रतिवेदन, साक्षीहरूको बयान, कल डिटेल विवरणसमेतका आधारमा अनुसन्धान गरेको बताएको छ ।
– मोतीराम तिमल्सिना
टिप्पणीहरू