सडकमा हिँड्नेलाई नसताऊँ न सरकार
- यमुना अर्याल (काफ्ले)
भारतका प्रधानमन्त्रीको नेपाल भ्रमण कति हदसम्म सफल भयो वा भएन ? कति उपलब्धि हुनुपर्ने थियो त्यो भयो वा भएन ? विगतमा सुमधुर हुन नसकेको सम्बन्ध कति नजिकियो वा नजिकिएन ? त्यो सरकारी अध्ययनको क्षेत्र होला । तर, आमनागरिकले कति सास्ती भोगे र कति गाली गरे, एक साक्षी पात्रको हैसियतमा यो लेख्ने जमर्को गर्दै छु ।
मोदी जनकपुर आउँदै छन् रे भन्ने थाहा पाएदेखि नै सुरक्षा व्यवस्थामा कडाइ गरिएको थियो । मोदी नआउँदै उनको अनुहार हेर्न उपस्थित नागरिकलाई प्रहरीले लाठीचार्जसमेत गरिसकेको सुनियो । नेपाली सुरक्षाकर्मीको विश्वास नभएर होला, उतैबाट कमाण्डो दस्ता तैनाथ थियो ।
वैशाख २८ गते शुक्रबारको दिन । ३ बजे कार्यालय बिदा भएपछि हिँड्दै बानेश्वर चोकमा निस्कँदा प्रहरीले लौरो देखाएर रोके । माथिको आदेश छ सय मिटर वरै बस्नुस् भन्ने आदेश थियो पैदल यात्रुलाई । एक÷दुई हुँदै लगभग सय जनाजति प्रहरीको आदेश मान्नेमा दरियौँ । किन रोकेको हामीलाई ? कहाँ पुग्नुपर्ने छ यसरी रोक्न पाइन्छ ? कति बजे हो मोदीको सवारी ? गाडी पो रोक्नु, हामीलाई किन रोकेको ? पहिले भारतले नाकाबन्दी ग¥यो, अहिले त्यही देशको सरकारप्रमुख आउँदैमा मान्छेबन्दी गर्न पाइन्छ ? यस्ता आक्रोश एकपछि अर्को गर्दै चर्किन थाले ।
खुट्टा दुखुञ्जेल उभियौँ, भित्री गल्लीको बाटो घुमेर जान मिल्ने भए जान सक्नुहुन्छ होइन भने सवारी भएपछि मात्र जान पाइन्छ– प्रहरीले आदेश सुनाइरहे । संघीय संसद् भएको ठाउँवरपर साइकल पनि चल्न दिइएको थिएन, बाटो पूूरै खाली थियो, पैदल यात्रुसमेत रोकेपछि बाटोमा प्रहरीसिवाय कोही थिएन भन्दा पनि हुन्छ । एउटा विशिष्ट पदको मान्छेलाई हामी साधारण मान्छेबाट यतिविधि असुरक्षा के कारणले भएको होला ?
कोही घरमा सानो बच्चा छ, छिमेकीलाई एकैछिन उचाल्दिनु भनेर आएको सुनाउँथे, कोही कलंकी जानुपर्ने आजै रात्रिबस चढेर बुटवल जानुपर्नेछ, बस छुट्ने बाध्यता सुनाउँथे तर नभएको नियम पालना गरेर मोदी सरकारको यात्रालाई हामी यात्रुले सहजीकरण गरिदियौँ । सरकारसँग मेरो आग्रह छ एकजना पाहुनाको स्वागत गर्न हजारांै जनतालाई बन्दी बनाउनुको साटो त्यो दिन सार्वजनिक बिदा दिएर यति बजेदेखि यतिबेलासम्म कोही पनि नागरिक घरबाहिर निस्कन पाइँदैन भन्ने उर्दी जारी गरेको भए बेलैमा सचेत त भइन्थ्यो नि !
विदेशी पाहुनाको स्वागतमा सरकारले के–कसरी नागरिक अभिनन्दन ग¥यो उही जानोस् तर नागरिकले अनाहकमा पाएको सास्तीको क्षतिपूूर्ति कसले दिन्छ ? के नागरिक अभिनन्दन भनेको वीरगञ्जमा जनतालाई लाठीचार्ज गर्नु र काठमाडांैका यात्रुलाई यातना दिनु मात्रै हो ? काठमाडौंको धुलोबाट आक्रान्त मलगायतले मुखमा मास्क लगाएका थियौं, प्रहरीले तुरुन्त खोल्न आदेश थियो । टाउकोमा बेरेको सल पनि निकाल्न भनियो, मानौँ हामी सामान्य नागरिक होइनांै कि कुनै विद्रोही संगठनका अपराधी हौँ जसले जुनसुकै बेला पाहुुनामाथि हमला गर्न सक्छ । एक जना बूूढा बाले मुख फोरेरै चित्त बुझ्ने कुरा गरे, ए पुलिस भाइ तिमी मेरो नातिसरहको मान्छे, तिमीलाई विश्वास लाग्दैन भने चेक गर के–के हतियार ल्याएका छन्, खानतलासी गर तर कसैको हत्या गरेर फरार भएको अपराधी पक्रन लागेजसरी के मास्क खोल, सल खोल भनिरहेका छौ ? पुलिसले फेरि पनि माथिकै आदेश भने र उम्किए ।
जेठ ७ गते संसद् भवनमा राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम वाचन गर्न जाँदा भएको सवारीको सास्ती नागरिकले कहाँ–कहाँ कसरी भोगे ? तपार्ईंंहरूलाई धेरै माथिल्लो पद जनताले नै दिलाएका हुन् न कि कुनै लोकसेवाको जाँच पास गरेर सिफारिस हुनुभएको । सर्वोच्च पदमा पु¥याउने उनै जनतासँग डर, त्रास किन यतिधेरै ?
यसको अर्थ तपार्ईंंहरूको सवारी जनता चढ्ने नेपाल यातायात, भक्तपुरको रुटमा चल्ने बस वा थानकोट पुग्ने बसमा गुन्दु्रक भएका यात्रुको जस्तो हुनुपर्छ भन्ने होइन तर जनताले भोगेको सास्ती सुविधासम्पन्न गाडीबाट पनि देख्न सकिन्छ, त्यसका लागि जनतासँग हिँड्ने आँट हुनुपर्छ, किन जनतालाई थुनेर साइरन बजाउँदै यात्रा गर्नुहुन्छ ?
जनताका पीडा बुझ्न सार्वजनिक बसमा यात्रा गर्नुपर्छ, कार्यालय समयमा हुने जामको साक्षी बस्नुपर्छ, कलंकीको धुलोमा आधा घण्टा पैदल हिँड्नुपर्छ, चाबहिलको हिलोमा गाडी फस्नुपर्छ अनि मात्र जनताले कसरी यात्रा गर्दारहेछन् भन्ने थाहा हुन्छ ।
विशिष्ट पदाधिकारीको सवारीको अलग्गै रुट बनाए कसो होला ? कम्तीमा जनताले जामको एकतर्फी सास्ती मात्रै भोग्ने थियौँ । तपार्ईंंहरूको सवारीमा घण्टौँ जाममा फस्दा प्रसव पीडाले छट्पटाएका महिला र एम्बुलेन्समा ल्याइएका सिकिस्त बिरामीको हालत के होला ?
जनताले आफ्नो जिउज्यान अर्पण गरेर ल्याएको लोकतन्त्र, गणतन्त्र दिवसका दिनमा समेत तपाईंहरूको सवारीका कारण जनताले सास्ती भोग्नुपरेपछि अरू बेलाको हालत के होला ? चित्रबहादुर केसी बाले भनेका कुरा घत लागिरहन्छ, जनताको बिगार गरेको भए पो उनीहरूसँग डराउनु ? नराम्रो काम गरेको छैन त्यही भएर मलाई पिएसओ चाहिँदैन । शत्रु त तपाईंका अघिपछि हिँड्ने आसेपासेबाटै हुन्छ नि, हामी जनतासँग लिनु न दिनु के को डर ? हामी जनताले नयाँ राजा खोजेका होइनौं, हामीजस्तै जनताका छोराछोरीले देश चलाएको हेर्न चाहेका हौँ । यसरी हामी जनतालाई तड्पाएर जनताको नाममा काम नगरौँ न सरकार !
टिप्पणीहरू