एमालेको अवस्था र गाग्रीको पानी

एमालेको अवस्था र गाग्रीको पानी

जतिसुकै राम्रो गाग्रीमा राखे पनि प्रयोग भएन वा बेला बेलामा फेरिएन भने त्यो गाग्रीको पानी पिउन नमिल्ने हुन्छ, पिउन सकिन्न । राजनीतिक दलले बोकेको विचार वा कार्यक्रममा पनि आवधिक छलफल र परिमार्जन समृद्ध गरिएन भने त्यो पनि काम नलाग्ने र भुत्ते हुन जान्छ । त्यस्तो विचार वर्ग संघर्षको, क्रान्तिको नेतृत्व गर्न नसक्ने हुन्छ । नेकपा (एमाले) ले आसन्न महाधिवेशनमा वैचारिक र सैद्धान्तिक बहसलाई आफूमाथि चौतर्फी हमला भइरहेकाले त्यसको मुकाबिला गर्न पार्टी एक ढिक्का हुनुपर्छ भन्ने नाममा निषेध गर्ने काम गरेको छ । यसले अन्ततः राम्रो गाग्रीमा प्रयोग नगरि वा नफेरी राखिएको पिउन नमिल्ने पानी जस्तै बनाउने छ पार्टीलाई ।

यस्तो कामले तलदेखि माथिसम्मै, प्रस्तुत गरिने दस्तावेज तथा प्रतिवेदनहरूमाथि बहस गर्ने, दृष्टिकोण बनाउने र पार्टीलाई वैचारिक एवम् सैद्धान्तिक हिसाबले थप प्रष्ट र एकताबद्ध गर्ने कामलाई अवरुद्ध गर्दछ । यस्तो लक्षण देखा परिसकेको छ ।

महाधिवेशनको प्रतिनिधि किन र को बन्नुपर्छ भन्नको लागि दस्तावेजमा छलफल नै भएन, गरिएन । कसको दस्तावेजका कुन कुरा सहि छन् भनेर छलफल हुन पाएन । इशारामै छानिए लगभग सबै प्रतिनिधिहरू ! यस्तो परम्परा कायम रहन गयो भने नयाँ सिद्धान्तको, विचारको, नयाँ कार्यक्रमको विकास कसरी होला ? आजको समयको नेतृत्व गर्न कसरी सकिएला ?

तर, आज यस्तो मार्गमा पार्टी जाने वातावरण बन्नुमा एमालेको विभाजन मात्रै होइन कि एमालेमै रहेका १० बुँदे कमरेडहरूको भूमिका पनि धेरै हदसम्म जिम्मेवार छ । यी १० बुँदाकारहरूले पदको लोभ नगरेर वा नदेखाई पार्टी विभाजन किन भयो, हामीले किन विभाजन रोजेनौं र पार्टीभित्रै रह्यौं ? भन्ने कुरालाई ठोस तवरले उठाउने काम गरेको भए कुम्भमेला जस्तो रमझम र चहलपहल हुनुपर्ने महाधिवेशनको पूर्वसन्ध्या यस्तो निरस र सुनसान हुन सम्भव नै थिएन ।

अध्यक्ष कमरेडका मान्छेहरूलाई जबजको ‘ज’ पनि अध्ययन नगरेको बताउने योगेश भट्टराई आफू स्वयम् नै ती अध्ययन नगरेकाकै कित्तामा सामेल भएर बहस र छलफल, प्रतिस्पर्धा नभए पनि हुन्छ भन्ने अवस्थामा पुगेपछि यस्तो वातावरण बन्न सजिलो हुने नै भयो । अहिले यी १० बुँदाकारहरूमध्ये धेरैजसो केगर्दा अध्यक्ष खुशी हुन्छन् र उनको नजरमा पर्न सकिन्छ भनेर अनेक जुक्ति अपनाइरहेका छन् । छेपारालेभन्दा छिटो रंग बदल्ने यस्तो प्रवृत्तिले नेतृत्वलाई असहमत सफाया गर्ने स्टालिनको बाटोमा जान बल प्रदान गर्छ ।

एमालेले आजको नेपाली समाज दलाल पुँजीवादी हो भनेर विश्लेषण गरेको छ र यस्तो विश्लेषण गर्ने कामको नेतृत्व घनश्याम भुसालले गरेका हुन् । तथापि त्यसमा अन्य कमरेडहरूको पनि योगदान रहेको छ । यदि बहस र छलफललाई खुला गरिएको हुन्थ्यो भने सम्भवतः हामीले आजको समाज वित्तीय पुँजीवाद हो कि भनेर घनश्यामलाई प्रश्न राख्न सक्ने थियौं । अथवा वित्तीय पुँजीले पनि समाजलाई प्रभाव पारिरहेको छ है भन्ने कुरामा ध्यान आकृष्ट गर्न सक्ने थियौं ।

तर अब यो अवस्था रहेन र कसैले प्रश्न गरे पनि त्यसको जवाफ दिन घनश्याम उपस्थित हुने छैनन् । विचार निर्माण हुन नपाउने वा नयाँ कुरा उठाउन नमिल्ने यो अवस्थाले पार्टीलाई जडवत् अवस्थामा राखिरहन्छ, विचारको विकास हुन दिँदैन ।

नेतृत्वले जे भन्छ त्यो ठीक हो भनी तालि पिट्नुपर्ने यस्तो अभ्यास भनेको जनवाद बिनाको केन्द्रीयता हो अर्थात् निरंकुशता हो । लोकतान्त्रिक तरिका भनेको त सबै खाले विचारलाई आउन दिने, आउने विचारलाई दस्तावेजीकरण गर्ने, ती सबै विचारहरूमाथि सार्थक बहस र छलफल गरि एउटा निश्कर्षमा पुग्ने र निश्कर्षलाई अंगाल्ने र अन्यलाई पार्टीको सम्पत्तिको रुपमा अभिलेख गर्ने ।

यस्तो हुनलाई प्रतिनिधि छनौटमा प्रतिस्पर्धा, कमिटी सदस्यमा प्रतिस्पर्धा, पदाधिकारीमा प्रतिस्पर्धा र अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउने अवस्था हुनुपर्छ । यो अहिले गरिएको अभ्यासले सारमा लोकतान्त्रिक विधिलाई निषेध गरेको छ । मलाई त के लाग्छ भने यो महाधिवेशनमा पनि बोर भएर विधान अधिवेशनमा जस्तै प्रतिनिधिहरू पारित प्रतिवेदन सुन्न मन नलागेर सभाहलबाट बाहिरिन खोज्नेछन् र आयोजक कमिटीका भोलिन्टियरहरूले ढोका लाउनुपर्ने अवस्था आउने छ । किनभने के हुनेछ, कसरी हुनेछ र को को के के हुनेछन् भनेर अहिले नै भन्न सकिने अवस्था छ ।

टिप्पणीहरू