​तातोपानीमा स्नान

कांग्रेसका प्रतिद्वन्द्वी नेताद्वय शेरबहादुर देउवा र रामचन्द्र पौडेल भिड्ने त बाहिर बाहिर मात्रै, भित्रभित्र त नुहाउनेसमेत एउटै कुण्डमा । हालै मात्र उहाँहरू काठमाडौंदेखि म्याग्दीसम्म पुगेर तातोपानीमा नुहाएको देखेपछि यो कुरा प्रष्ट भयो । एउटै कुण्डमा उहाँहरू दुवैलाई अर्धनग्न अवस्थामा स्नान गरिरहेको देखेपछि कांग्रेसका कार्यकर्ताहरू छक्क परेका छन् । अब उहाँहरू नुहाउने कामसमेत एकै ठाउँमा बसेर गर्नुहुन्छ भने अरू के के काम एक्लै एक्लै बसेर गर्नुहुन्छ होला, अनुमान मात्रै लगाउनुस् ।

नुहाउनुको एउटा फाइदा छ । नुहाएपछि मैले सफा हुन्छ । तर तनको मात्र । उहाँहरूले सफा गर्नुपर्ने त मनको मैले हो । तातोपानीमा नुहाउँदा एक आपसको जिउबाट मयल पनि माड्नुभयो होला । तर जिउको मयल माड्दैमा मन सफा हुँदैन । मनको मैलो पनि माड्नु पर्छ । 

वास्तवमा सानेपाको कार्यालयमा भन्दा पनि तातोपानीको पोखरीमा बस्दा उहाँहरूको कुरा मिल्ने रहेछ । तस्बिर देखेपछि त्यही भान हुन्छ । त्यसैले हाम्रो सुझाव छ, अबदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पनि सानेपाको सट्टा यही म्याग्दीको तातोपानी कुण्डमा बसेरै गर्ने हो कि ? सबैजना तातोपानी भित्र पस्ने, अनि बैठक चलाउने । यसो गर्दा नमिलेका कुराहरू मिल्ने झिनो सम्भावना देखिन्छ ?

टिप्पणीहरू