जो दशैं मनाउन आए

जो दशैं मनाउन आए

दशैंको समय थियो । घरमा बूढी आमै एक्लै । दशैंको बेला सधैँ भीडभाड हुने यो घर यो साल भने सुनसान छ । बूढी आमा एक्लै खोले पकाइरहेकी थिइन् । चुपचाप । तर चुलोमा खोले पाकिरहे पनि मनमा भने बेग्लै कुरा पाकिरहेको थियो । 

त्यही बेला बाहिर कसैले ढोका ढक्ढकाएको आवाज सुनियो । 

‘को हो ?’ आमाले भित्रैबाट सोधिन् ।

‘हामी !’ बाहिरबाट ठूलै स्वर आयो । 

अरे, छोराछोरी आए कि क्या हो ? बूढी आमा हतार हतार ढोका खोल्न गइन् । तर अहँ, छोराछोरी होइन रहेछन् । बाहिर एक हुल नचिनेका अनुहारहरू थिए । 

आमैले सोधिन्, ‘को हौ तिमीहरू ?’

एकले भन्यो, ‘म बाढी, आमा । यसपाली दशैँ मनाउन आएको ।’

‘बाढी ?!’ आमा झस्किन् । 

अर्कोले भन्यो, ‘हो आमा । मचाहिँ पहिरो । म पनि दशैं मनाउन आएको ।’

‘म भारी वर्षा !’

‘म चट्याङ !’

‘म हुरी बतास !’

सबले एक एक गर्दै आफ्नो परिचय दिए । 

बूढी आमाले खुइøय सास फेरिन् । हरे ! यसपाली दशैं मनाउन छोराछोरी,, नातिनातिना कोही आएनन् । बाढी–पहिरो र हुरीबतासचाहिँ बग्रेल्तै आए । तिमीहरूलाई पनि दशैँको शुभकामना !
 

टिप्पणीहरू