बाढीको जिम्मा

बाढीको जिम्मा

प्रधानमन्त्री कमरेड केपी शर्मा ओली अमेरिका गइरहेकै बेला नेपालमा बाढी आयो । बाढी आएको बेला राम्ररी उद्धार भएन, राम्ररी राहत दिएन, राम्ररी सतर्क भएन भनेर अनेक आलोचना हुन थालेको छ । ठूलो वर्षा हुन्छ भनेर मौसम विभागले पूर्व जानकारी दिएको थियो । जानकारी दिँदादिँदै पनि किन यति हेलचेक्रयाइँ ?

तर यसमा सरकारलाई दोष दिन मिल्दैन । केपी ओलीलाई दोष दिन त झनै मिल्दैन । किनभने बाढी आएको बेला उहाँ नेपालमै हुनुहुन्थेन । आफ्नो अनुपस्थितिमा आएको बाढीको जिम्मा उहाँले किन लिने ? उहाँ नेपालमा भएकै बेला बाढी आएको थियो र उहाँले केही गर्न सक्नुभएको थिएन भनेपो त्यसमा उहाँलाई भन्न सकिन्थ्यो । तर उहाँ त नेपालमा हुनुहुन्नथ्यो । आफू नभएको बेला आएको बाढीको जिम्मा किन लिने ? 

बरु दोष त मौसम पूर्वानुमान शाखा हो कि महाशाखा हो, त्यसको हो । भारी वर्षा हुन्छ भन्यो । तर यहाँ यहाँ बाढी आउँछ, यहाँ यहाँ पहिरो आउँछ भनेरचाहिँ भनेन । त्योचाहिँ किन नभनेको ? भनेको भए सरकार त्यहीं गएर खडा हुन्थ्यो नि ! कहाँ बाढी आउँछ, कहाँ पहिरो जान्छ भन्ने त सरकारलाई थाहा हुने कुरा भएन । आफ्नैविरुद्ध कुन बेला कसरी अविश्वासको प्रस्ताव आउँछ भन्ने त थाहा हुँदैन भने यो बाढी कहाँ कहिले आउँछ भन्ने कुरा कसरी थाहा हुन्छ ?
 

टिप्पणीहरू