दुई नम्बरीमा दुई नम्बर

दुई नम्बरीमा दुई नम्बर

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलाई फेरि पनि बधाई दिनुपर्ने भा’छ । विकास निर्माणमा मात्र होइन, काठमाडौं महानगरपालिका भ्रष्टाचारमा पनि निक्कै अगाडि रहेछ । अख्तियारले हालै गरेको सर्वेक्षणअनुसार काठमाडौं महानगरपालिका भ्रष्टाचारको दोस्रो नम्बरमा परेको छ । दोस्रो भएकोमा मन खिन्न नपार्नोस् । अलि मेहनत गर्नोस्, अर्को साल अवश्य पहिलोमा आउनेछ । 

काठमाडौं महानगरपालिकाले खुब काम गरिरहेको छ । युट्युबेहरू यही भन्थे । तर काम कहाँनिर गरीरहेको रहेछ, अहिले रिजल्ट आएपछि थाहा भयो नि । मेयर बालेन त भन्नुहुन्थ्यो– मलाई भ्रष्टाचार गर्नु छैन, महिनाको तीन लाख खाने मान्छे हुँ म । (उहाँले महानगरपालिकामा पनि महिनाको तीन लाखै खान थाल्नुभयो कि क्या हो ?)

यो कुरा सही पनि हो । उहाँ भ्रष्टाचार गर्नुहुन्न । भ्रष्टाचार गर्नका लागि अरु  गर्न उहाँले अरु मान्छे ल्याएर राख्नुभएको छ । महानगरपालिकामा अहिले सयभन्दा बढी त उहाँका सल्लाहकारै छन् । कोही तलब खाने, कोही नखाने । मेयर सा’बलाई जसरी भए पनि भ्रष्टाचारबाट बचाउन उनीहरू दिनरात खटिरहेका छन् । मेयर साबले गर्नुपर्ने भ्रष्टाचार बरु आफैंले गरिदिन्छन्, तर मेयरलाईचाहिँ भ्रष्टाचार गर्न दिँदैनन् । यति मेहनत गर्दा पनि काठमाडौं महानगरपालिका दुई नम्बरमा आयो । दुई नम्बरी काममा दुई नम्बरमै आउनु नराम्रो त होइन । तै पनि बालेनको महानगर हो, एक नम्बरभन्दा पछाडि फर्कन सकिन्न । कोही बात छैन, अर्को साल देखा जाएगा । 

टिप्पणीहरू