​कालो सूचीवाला झण्डै कुलेलम

भएको जम्मा एउटा अन्तर्राष्ट्रिय विमानस्थल, त्यसमाथि त्यहीं हदैसम्मका लापरवाही दोहोरिने । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) ले दिँदै आएको पटक–पटकको चेतावनीबीच फेरि विमानस्थलमा एक घण्टासम्म नेट डाउन भएर पूरै सिष्टम कोल्याप्स भइदियो । धन्न, ठूलो दुर्घटना भएन । गम्भीर विषय र संदिग्ध गतिविधिका मान्छे छिर्न वा निस्कन पाएनन् ।

वैशाख १६ गते सोमबार अन्तर्राष्ट्रिय विमानस्थलमा यस्तो हुँदा एकजना विदेशी छिर्न र एकजना नेपाली बाहिरिनबाट रोकिए । तर, सिष्टम राम्रो भएर हैन, संयोगले मात्र । त्यसदिन दुई बजेर ५० मीनेटदेखि ३ बजेर ५५ मीनेट जाँदासम्म विमानस्थलभित्रका सबै आन्तरिक कम्प्युटर प्रणाली अवरुद्ध भयो । कुन जहाज आउँदैछ देखि कुन यात्रु छिर्न दिने÷नदिने, बाहिरिन दिने÷नदिनेजस्ता विवरण अध्यावधिक हुने प्रणाली हो त्यो । त्यहीँभित्र प्रस्थान र आगमन अनुमति पनि हुन्छन् । तर, एक घण्टा प्रणाली अवरुद्ध हुँदा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल ३० वर्षअघि नै विस्थापित हस्तलिखित प्रणालीमा चल्यो । अर्थात्, पूरै कम्प्युटराइज्ड भइसकेको प्रस्थान अनुमतिका लागि एउटा टिप्पणी उठाएर स्ट्याम्प हान्ने बनाइयो । एक घण्टाबीच आगमनतर्फ स्वदेशी–विदेशी गरेर पाँच सय मान्छे खचाखच भरिए । अर्काको देश आएका विदेशी त चूप लागे । तर, नेपालीले नाराबाजी गर्न थाले । यसपछि उनीहरुको पासपोर्ट हेर्दै, नम्बर कागजमा टिप्दै बाहिर निकालियो । यहीबीच लेनदेन मुद्दामा काठमाडांै जिल्ला अदालतले वैशाख २५ गते उपस्थित हुन आदेश दिएका एक नेपाली बाहिरिन खोज्दै थिए । उनी रोकिए । त्यही बेला ०५४२८५६९२ नम्बरको पासपोर्ट भएका रोमानियाली नागरिक अट्टिला लुहोस प्रस्थान अनुमतिका लागि अध्यागमन प्रक्रिया पूरा गराउन लाइनमा थिए । धन्न यी ब्ल्याकलिष्टेडले आ–आफ्नो प्रक्रिया पूरा नगराउँदै कम्प्युटर प्रणाली सूचारु हुन पुग्यो र आउन–जान पाएनन् । रोमानियाली नागरिक अट्टिलालाई अध्यागमनमा बुझाइयो र अध्यागमनले जहाँबाट नेपाल आएको हो, त्यहीँ (टर्की) फिर्ता ग¥यो ।

यसरी विमानस्थलमा हुनै नहुने गम्भीर त्रुटी कसरी भयो भनेर खोजी हुने नै भयो । विमानस्थल व्यवस्थापन कार्यालयले सुन्दा पनि हाँसउठ्दो कारण बताएको छ, ‘मुसाले फाइबर खाइदियो †’ कम्प्युटर प्रणाली, त्यो पनि एउटा सार्वभौम देशको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलको । त्यो मुसाले खाएर अवरुद्ध हुन्छ भन्ने कुरा आइकाओले सुने के भन्ला ? वा, विदेशी ह्याकरले नेपाली विमानस्थलको सम्पूर्ण विवरण चोरी गर्ने क्रममा त्यसमाथि कब्जा जमाएको भए के हुन्थ्यो ? 

अहिले काठमाडौंमा अफ्रिकी मुलुक सेनेगलका नागरिक पटक पटक भित्रिने प्रयास बढेको छ । उनीहरु आफ्नै देशको पासपोर्टमा आउँछन् । युरोप, टर्की, बेलायत, स्वीट्जरल्याण्ड पुगेका हुन्छन् । नेपाली विमानस्थलमा विभिन्न कमजोरी छन्, अध्यागमनमा नै सेटिङ चल्छ । र, उनीहरु त्यसैको फाइदा उठाउँदै मौका परे छिरी पनि हाल्छन् । प्रायः टर्की हुँदै आउने गर्दछन् । कहिलेकाँही अध्यागमनमा बसेका कर्मचारीले भिसा हानिदिन्छन् पनि । नेपाल छिरेपछि यहाँबाट विभिन्न देश जाने प्रयोजनका लागि पासपोर्ट वैधानिक हुन्छ । त्यसपछि जहाँबाट आएको हो, त्यो देशमा फर्किएर असाइलम (आत्मसमर्पण) गर्ने र शरणार्थी सुविधा उपभोग गर्ने चलन छ । 

त्यस्तै, विमानस्थलस्थित विशिष्ट कक्ष (भिआइपी लाउञ्ज) को ढोकामा एउटा ब्यागेज स्क्यान राखिने भएको छ । सँगै, वाकथ्रु गेट पनि राख्ने तयारी छ, जहाँ पास छिराएपछि गेट खुल्छ । यसो गरिनुको कारण हो, आइकाओले भिआइपी लाउञ्ज असुरक्षित भनेर पटक–पटक कैफियत देखाउनु । उसले प्रस्थान कक्ष (डिपार्चर) तिरको सुरक्षालाई राम्रो र आगमन (अराइभल) तर्फ पनि भन्सार (कष्टम) क्षेत्रमा हदैसम्मको लापरवाही भनी इंगित गर्ने गरेको छ । हुन पनि २० देशका मान्छे एकैचोटि त्यहाँ पुग्छन् । भ¥याङमा जथाभावी आवातजावत रोक्न पास होल्डरले पास छिराउने गरे हुन्थ्यो, तर प्रहरीले मान्दैन । यात्रुहरु उहिल्यै–उहिल्यै सिनेमाको टिकट काट्न तँछाड–मछाड गरेजस्तो आ–आफ्नो ब्यागेजका लागि आपसमा तानातान गरिरहेका देखिन्छन् । 

उता, विमानस्थल व्यवस्थापनले अन्तिम प्रस्थान कक्ष (स्टेरलाइज जोन) मा कुनै पनि पसल नराख्ने निर्णय गरेको छ । त्यहाँ भत्काएर नयाँ किसिमले व्यवस्थित स्थल बनाइँदैछ । अध्यागमनलगत्तै सुरक्षा जाँचस्थल राख्ने तयारी छ । प्रस्थान कक्ष (डिपार्चर लाउञ्ज) मा १०–१२ वटा पसल राख्ने तयारी छ ।

टिप्पणीहरू