​पद गएपछि पूरै पराइ

पदमा छँदा हाई–हाई, अवकास पाएपछि बाई–बाई र पूरै पराइ । यस्तै भएको छ, संवैधानिक पदमा रहेर अघिल्लो महिना मात्र अवकाश पाएका एकजनाको हकमा । उनलाई पदमा छँदा ‘भइहाल्छ नि हजुर, चिन्तै छैन’ भनिन्थ्यो । अहिले उपसचिव, लेखा अधिकृतदेखि जसलाई गुहारे पनि कसैको कानमा बतास लाग्दैन । 

प्रसंग हो, १२ वर्षसम्म निर्वाचन आयोगमा बसेर लोकतान्त्रिक देशका जनतालाई आवधिक निर्वाचनमा सहभागिताको वातावरण बनाइदिने पूर्वप्राध्यापक, पत्रकार अयोधीप्रसाद यादवको । ०६३ सालमा आयुक्त भएर बहादुरभवन पुगेका उनले चैत ११ गते अवकाश पाए । पदमा बहाल हुँदै पाउनुपर्ने औषधी, बिरामी र घरबिदाबापतको सुविधा अहिलेसम्म पाएका छैनन् । रकम जम्मा आठ लाख हो । तर, त्यति पैसाका लागि उनलाई कर्मचारी सञ्जालले ¥याईं¥याईं रेटिरहेको छ । भनिएको छ, अघिल्लोपटकै सुविधा लिइसक्नुभयो, अब पाइँदैन ।

नजिरै छ, ०६३ पुस २७ मा निर्वाचन आयोगको सचिवबाट राजीनामा दिएर त्यहीँको आयुक्त बनेका थिए, पूर्वप्रजिअ दोलखबहादुर गुरुङ । अहिलेका आयुक्त नरेन्द्र दाहाल पनि त्यस्तै हुन् । अयोधी यादव दोलखसँगै नियुक्त भएका । त्यो कार्यकाल सकिएपछि ०६९ चैत ११ देखि प्रमुख आयुक्तमा नीलकण्ठ उप्रेतीसहित दोलखबहादुर, अयोधीहरुको पुनः नियुक्ति भयो । पुरानो नियुक्तिको म्याद सकिनु र नयाँ नियुक्ति हुनुबीच दुई महिना १३ दिनको रिक्तता थियो । निलकण्ठले उमेर हद लागेर अवकास पाएपछि अयोधी प्रमुख तोकिए । दोस्रो नियुक्ति पाएपछि दोलखबहादुर ०७२ भदौ १० मा उमेरहद लागेर घर गए । औषधी, घरबिदा सबै सुविधा लिए । अहिले अयोधीले सुविधा नपाउनुमा दोस्रो नियुक्तिलाई नमानेर ०६३ कै नियुक्तिको निरन्तरता कारक ठानिनु हो । 

स्मरणीय छ, ०७४ वैशाख १० को स्थानीय निर्वाचन हुनु अघिल्लो दिन उनको घरमा विप्लव नेतृत्वको नेकपाले तीनवटा प्रेसर कुकर बम बिष्फोट गराएको थियो । उनी भर्खरै भारतमा उपचार गराएर फर्किएका छन् ।
 

टिप्पणीहरू