​अन्तिमसम्म यता पनि अवरोध

ढिलै सही, डा.बाबुराम भट्टराई र उपेन्द्र यादवहरुको मिल्ती भएको छ । तर, त्यसलाई रोकेर तेस्रो शक्ति बनाउने एउटा कोशिश भने अन्तिम घडीसम्म चलेर पनि तुहिएको खबर छ ।

बेलामा बुद्धि पु¥याएर चुनावको मुखमा एकता गरेको भए आज हालत यस्तो हुने थिएन । नयाँशक्तिका २ नं. प्रदेश संयोजक सरोज यादव चुनावको मुखैमा फोरममा प्रवेश गरे । अहिले उपेन्द्रपछि स्वास्थ्य मन्त्रालयका राज्यमन्त्री हुन् र अस्ति सोमबारको एकतापछि समाजवादी पार्टीको केन्द्रीय कोषाध्यक्ष बनेका छन् । बाबुरामको अन्यौलताकै कारण रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानजस्ता जल्दाबल्दा नेताले पहिल्यै साथ छोडे । अहिले रामरिझन यादवबाहेक मधेसीमूलका खासै नेता उनीसँग छैनन् । पहाडतिर पनि देवेन्द्र पौडेलले साथ छाडेर बाग्लुङबाट नेकपाका सांसद छन् । पूर्वमाओवादी पृष्ठभूमिका गंगा श्रेष्ठ, देवेन्द्र पराजुली, कल्पना धमला, पूर्वप्रहरी पृष्ठभूमिका नारायण पाण्डे, ऋषभदेव भट्टराईहरुमात्र बाबुरामसँग छन् । गणेश राईले त प्रहरी जीवनप्रति गौरव गर्दै पत्रकार सम्मेलन गरेरै बाबुरामको पार्टी छाडे । कल्पना धमलाको गुनासो जारी छ । उपेन्द्रसँग एकता भए पनि नयाँ शक्ति अझै डेढ करोड ऋणमा छ ।

यसबीच दक्षिणले राजेन्द्र महतो र बाबुरामलाई एकतामा जानबाट रोक्न अधिकतम प्रयास ग¥यो । कारण थियो, तेस्रो शक्ति बनाउने योजना । ‘तिम्रो ब्राण्डनेम पनि छ । संविधान संशोधन गर्नुपर्छ । मधेसको मुद्दामात्र हैन, कार्यकारी राष्ट्रपतिलाई मुख्य एजेण्डा बनाएर जानुपर्छ’ भन्ने मन्त्रणा थियो । चुनावको मुखसम्म पुग्दा थ्रेसहोल्ड बढाएर पाँच प्रतिशत पु¥याइने र बढीमा तीन पार्टीमात्र संसदभित्र अस्तित्वमा रहने हुँदा उपेन्द्रसँग मात्रै हतारमा नमिल्न भनिएको थियो । एक्लैदुक्लै होइन, सबै मिल भन्ने पारीको कोशिस अन्तिममा उपेन्द्र र बाबुरामकै आनाकानीका कारण असफल भयो । शुरुमा त बाबुरामले केही दिन राजेन्द्रको प्रस्तावलाई तुहिन दिएनन् । तर, कार्यकारी राष्ट्रपतिको प्रणालीमा जाने धेरै परको कुरा, चुनावसम्म पार्टी जोगाउन नसकिने, छिन्नभिन्न हुने डरले अन्ततः उपेन्द्रसँगै एकतामा गए । एमाले र माओवादी केन्द्रबीच एकता हुँदा नै बाबुराम सामेल हुन तयार थिए । राष्ट्रियसभागृहको एकता घोषणामै पुगेका पनि हुन् । 

अघिल्लो मंगलबार बिहान राजेन्द्र महतोले बाबुरामलाई फोन गरे । ‘उपेन्द्रसँग एकताको हतार नगरौँ, बरु हामी सबै मिलेर थारु, मधेशी र जनजातिको बृहत् मोर्चा बनाऔँ’ भने तर बाबुरामले वास्ता गरेनन् । बिहीबार बिहान तीनचोटि फोन गर्दा पनि उठाएनन् । अन्ततः महन्थ ठाकुरलाई फोन गर्न लगाउँदा फोन उठ्यो । त्यही कुराकानीअनुसार दिउँसो भेट भयो । उपेन्द्रलाई पनि बोलाइयो । राजेन्द्रले भने, ‘यो एकता अपुरो हुन्छ । यो प्रक्रियालाई रोकेर सबैको बृहत् मोर्चा बनाऔँ ।’ उपेन्द्रले भने, ‘राजपासँग एकताका निम्ति हामीबीच चिठी आदानप्रदान पनि भएकै हो तर कुरा मात्र धेरै भयो, सरकार छाड्नुपर्नेलगायत शर्तमाथि शर्त राख्दै जानुभयो । यसरी हुँदैन ।’ बाबुराम ‘उपेन्द्रजीले नै नमानेपछि के कुरा गर्नु’ भन्दै उठे । यस्तो व्यवहारबाट महन्थले अपमानित महसुस गरे ।

यो एकतापछि उपेन्द्रको जनाधार मधेस, पहाड दुवैतिर बढ्ने भयो । तर, मधेसको मुद्दा उठाउन अब सिके राउत पनि तम्सिएका छन् । विस्तारै विस्तारै राजपा कर्नरमा पर्दैछ । 

सँगसँगै अर्को प्रश्न उठ्न थालेको छ, के प्रदेश २ मा सरकार परिवर्तन हुन्छ त ? मुख्यमन्त्री लालबाबु राउतले फोरमको प्रदेश अध्यक्ष हुन चाहेका थिए । एकताअघि रेणु यादव अध्यक्ष थिइन् । तर, उपेन्द्रले यी दुवैलाई भाउ नदिएर प्रदेश सरकारका अर्थ, योजना मन्त्री विजय यादवलाई पार्टी जिम्मा लगाए । पहिला उनले यादव र मुस्लिमको एकतामा आधारित भएर लालबाबुलाई मुख्यमन्त्री बनाएका थिए । त्यहाँ राजपारहित नेकपा र उपेन्द्रहरुको सरकार बन्ने सम्भावना बलियो बन्दै छ ।

टिप्पणीहरू