नयाँ नयाँ कुरा निस्कँदै

कुरामाथि कुरा थपिएपछि प्रधानमन्त्रीले भन्नुभयो, ‘अहिले म त्यो क्याबिनेट बैठकमै थिइनँ भनेर सुख पाइन्छ ? यसो गर्न पाइँदैन !’

प्रसंग हो, नेकपा महासचिव विष्णु पौडेलको नाम मुछेर अनेकन टिकाटिप्पणी चलाइएको बालुवाटारस्थित ललिता निवासको जमीन प्रकरण । ०६६ सालमा माधव नेपाल सरकारका गृहमन्त्री थिए, भीम रावल । उनकै संयोजकत्वमा तत्कालीन संस्कृतिमन्त्री मीनेन्द्र रिजाल, भूमिसुधार मन्त्री डम्बर श्रेष्ठसहितको तीन सदस्यीय कार्यदलले गरेको सिफारिसबमोजिम भिआईपी क्षेत्र विस्तारका निम्ति थप जमिन अधिग्रहण गरिएको र त्यसैमध्येबाट पछि गैरआवासीय (एनआरएन), मीनबहादुर गुरुङहरुले केही कित्ता फुत्काएको तथ्यांक छ । अहिले भीम रावल ‘म त्यो क्याबिनेट बैठकमै थिइनँ’ भनेर पन्छिन खोजेपछि प्रधानमन्त्रीले टिप्पा खुवाउनुभएको बताइन्छ ।  

त्यसबेलाको एमालेमा आन्तरिक समीकरण कस्तो थियो भने, केपी–माधव एकै ठाउँ । आठौँ महाधिवेशनमा माधवको समर्थनमा केपी अध्यक्षका उम्मेदवार, भीम रावल त्यही प्यानलबाट उपाध्यक्षमा पराजित । वामदेव गौतम, अशोक राईहरु झलनाथ पक्षबाट उपाध्यक्ष भए । उपाध्यक्षमा सबैभन्दा बढी मत अशोक राईले पाएका । विद्या तेस्रो र वामदेव दोस्रो बढी मतका साथ विजयी । झलनाथले निर्णयमा कठोरता नअपनाउँदा सहाना प्रधान र भरतमोहन अधिकारीहरुले मत बाँडिएर उपाध्यक्षमा हार्नुपरेको थियो । कट्वाल प्रकरणमा प्रचण्डले राजीनामा दिएपछि माधव नेपालको नेतृत्वमा कांग्रेससँग मिलेर सरकार बनेको बेला त्यस्तो निर्णय भएको भनेर केपीले कुरा निकाली त्राहिमाम पार्न थालेको बताइन्छ । त्यसबेला माधव नेपाललाई गुमराहमा पार्नेमा मुख्यसचिव माधव घिमिरे र भौतिक योजना सचिव दीपकुमार बस्न्यातको नाम आउँछ । 

टिप्पणीहरू