​कोर्टमार्शलमा कर्णेल

नाम छ, राष्ट्रपतिसँग जोडिएको । काम छ, प्रकृति संरक्षणको अति महŒवपूर्ण । त्यसैमा सैनिक हाकिमहरुले मनपरी गर्दा कोर्टमार्शलको शिकार हुनुपरेको छ । 

हिमाल उत्पत्तिको क्रममा करिव चार करोड वर्ष पहिले नदीजन्य पदार्थ थुप्रिएर बनेको चुरे सबैभन्दा कान्छो पहाड मानिन्छ । नेपालमा कूल भूभागको करिव १३ प्रतिशत क्षेत्र ओगट्ने चुरे संरक्षणका लागि डा.रामवरण यादवकै पालामा राष्ट्रपति चुरे–तराई मधेश संरक्षण विकास समिति गठन भयो । यसमा राज्यको करोडौँ बजेट परिचालित हुन्छ । अहिले नेपाली सेना यही मामिलामा विवादमा तानिएको छ । उदयपुरको कटारीमा सेनाको कालिसिद्ध गण छ । त्यसले पर्यावरण संरक्षणको काम गर्ने हो । तर, लोभले लाभ– लाभले बिलाप भनेझैँ उक्त पल्टनका प्रमुख केशव कार्की कोर्ट अफ इन्क्वायरीको घेरा हुँदै कोर्टमार्शलमा पुग्दैछन् । १८ बाहिनी गाइघाटका जर्नेल हिमांशु खड्काले प्रधानसेनापतिको लिखित निर्देशनबमोजिम उनलाई यही साता जागिरबाट बर्खास्त गरिएको कठोर फैसला सुनाउने तयारी छ ।

त्यसअनुसार, दुई वर्षे कार्यकाल सम्हाल्न गएका केशवले सिपाहीको गाँस काटेर कमाएको ४७ लाख रुपैयाँको दण्डसमेत भराइने छ । कटारीस्थित यो पल्टन अब बर्दिबासभित्र डिभिजन हेडक्वार्टरसँगै सर्दैछ । अहिले नेपाली सेनाले इञ्जिनियरिङ, सिंग्नल र आर्टिलरी गरी ११ वटा नयाँ गण थपेको छ । इञ्जिनियरिङ पल्टनले कम्ब्याट सपोर्ट, पुल निर्माणसहित विकास निर्माणका विभिन्न काममा सहभागिता जनाउने गर्दछ । बारामा हावा–हुरीले भत्किएको बस्ती यस्तै फौजले बनाइरहेको छ । पानी सप्लाई, हेलिप्याड, बम डिस्पोज, ताल सफा गर्ने पनि यसैले हो । पहिला पनि ताल सफाईको नाममा यस्तै भोजन भएको थियो । गणपति केशवलाई तीन महिना छानबिनमा राखेर कोर्टमार्शलको चरणमा पु¥याइएको हो । आधुनिक हतियारसहित बन्दूक, खुकुरी भिरेका सिपाही दोषीको दायाँबायाँ बसेर फैसला सुनाउने प्रचलन छ । त्यसका लागि उनलाई छिट्टै गाइघाट लगिँदैछ । 

यस्तो अनियमितताको कुरा सेनाभित्रैबाट खुलेको हो । उनले सुवेदार मेजरलाई भागै नदिई सिपाहीको राशनमा आँखा लगाएका थिए । ती सुवेदार मेजर मानार्थ लप्टनमा बढुवा भई घर जाने बेला प्रधानसेनापतिले खडा गरेको नयाँ अड्डा ‘शिकायत जाँच निर्देशनालय’ मा उजुर हाले । त्यसैको फलोअपका क्रममा कर्णेल क¥यापझ्याप भएका हुन् ।

टिप्पणीहरू