छायाँ सरकार र वास्तविक सरकार ?
प्रतिपक्षको भूमिका कमजोर भएको आरोप लागेका बेला कांग्रेसले बनाएको छायाँ सरकारले निकै महत्व राख्छ । दुईतिहाइ बहुमतको सरकारले सम्पादन गरेका कामको सूक्ष्म निगरानी गर्दै जनहित निम्ति दबाब सिर्जना गर्न यस्तो सरकारको निकै महत्व हुन्छ । तर, सरकारको आकार हेर्दा अनेकौं प्रश्न खडा भएका छन् । पटक–पटक वास्तविक सत्तामा पुगेका कांग्रेसजन किन छायाँ सरकारमा खुम्चिन पुगे ? कारण धेरै छन् ।
सत्ताको चमक कस्तो हुन्छ भनेर जानेबुझेका कांग्रेसी नेताहरूले निमुखा कार्यकर्ताको भावनामाथि खेलवाड गर्दै गुटबन्दीलाई संस्थागत गरे । घातअन्र्तघात गरे पनि नेपाल कम्युनिष्ट पार्टीको तर्फबाट सरकारमा गएका केही नेताको चाला पनि भोलिका दिनमा अहिलेको कांग्रेसी छायाँ सरकारकै रूपमा नपुग्ला भन्न सकिएन । किनभने सरकारका राम्रा कामको प्रचार प्रसार गर्ने कार्यकर्ताको हौसला परास्त हुँदै गएको छ । पार्टीभित्र गुटउपगुट व्यापक छन् । फरक मत राख्नेहरूको समूह हुनु आवश्यक छ, यसले पार्टीलाई चलायमान बनाउने मात्र होइन, देश र जनताको पक्षमा सकारात्मक काम गर्न ऊर्जा दिन्छ । तर, अहिले नेकपाभित्र वैचारिक संघर्ष होइन, व्यक्तिगत स्वार्थसिद्धिका लागि गुटउपगुट खडा हुँदै गएका छन् । म कम्युनिष्ट पार्टीको सदस्य भन्नेको संख्या पातलिँदै गएको छ ।
लाग्छ, नेतालाई चाकरीवाजको झुन्ड चाहिएको छ, कार्यकर्ताहरूलाई आफ्नो कुरा मात्रै सुन्ने नेता चाहिएको छ । र, चुनाव हराउनेसम्मका हर्कतहरू कम्युनिष्ट पार्टीमा हुने गरेका छन् । सरकारका केही मन्त्रीको हर्कत हेर्दा सत्ताको मात चढेको छनक पाइन्छ । यो सबै कुरा कांग्रेसजनकै सिको हो भन्दा फरक पर्दैन । हिजो कृष्णप्रसाद भट्टराईमाथि गिरिजाप्रसाद कोइरालाले जुन व्यवहार गरे, कोइरालासँग देउवाले जुन व्यवहार गरे आज त्यस्तै व्यवहार देखिँदै छन् ।
झलनाथ खनाल, माधव नेपाल र वामदेव गौतमहरूको अभिव्यक्तिले बेलाबेला त्यस्तै छनक दिन्छ । अनि कार्य सम्पादनको हिसाबले कमजोर, सरकारलाई बदनाम गराउने मन्त्रीहरू देख्दा लाग्छ, सत्ताको मात लाग्न थालेछ । जुन पटक्कै शुभ संकेत होइन, आफ्ना गल्ती कमजोरी स्विकार्न नसक्नु, आत्माआलोचित हुनै नमान्नु द्वन्द्ववादी विचारका पक्षपोषक कम्युनिष्टका लागि लाजमर्दो विषय हो । यसले आगामी दिनमा कम्युनिष्ट पार्टीलाई सत्तारोहण होइन, ओरालोतर्फ लैजाने निश्चित छ । जसरी कांग्रेसलाई जनताले अहिलेको हालतमा पु¥याए त्यस्तै कम्युनिष्ट पार्टीलाई पनि नपु¥याउने ग्यारेन्टी छैन । आगामी दिनमा कम्युनिष्ट पार्टीले पनि छायाँ सरकार गठन गर्ने अवस्था नआउला कसले भन्न सक्छ ? जनता बडो निर्दयी पो हुन्छ ।
कांग्रेसलाई जतिखेर जनताले पत्याएका थिए । त्यतिखेर जनतालाई भेंडाबाख्रा देख्ने हस्तीहरू निस्के । तिनले विधि र प्रक्रिया मिचे अनि सत्ता भनेको कांग्रेस र कांग्रेस भनेको सत्ता हो भन्ने मात्रै बुझे । त्यसैले भ्रष्टाचार मौलायो, चिरञ्जीवीकुमार वाग्ले, गोविन्दराज जोशी, खुमबहादुर खड्का निस्के । सुशासनलाई होइन भ्रष्टाचारलाई संस्थागत गर्ने प्रयास भए । गुट र उपगुट मौलायो, काम होइन कमाउतिर नेता तथा कार्यकर्ता कुदे । नतिजा सबैको सामु छ, सधैँजसो सत्तामा टाक्सिएको कांग्रेस मिल्किएको छ, निम्छरो बन्न पुगेको छ । हो, यस्तै ट्रेण्ड नेपाल कम्युनिष्ट पार्टीभित्र पनि देखिएको छ ।
यदि, बेलैमा शीर्षस्थ नेताहरूले यस्तो कुराको पहिचान गरेर समाधान नदिने हो भने आत्मरति र स्तुतिमा मात्रै रमाउने हो भने समृद्धिको सपना देख्न पाइन्छ तर टेक्न पाइन्न भन्ने कुरा बेलैमा बुझ्दा राम्रो होला । अनि कांग्रेसले बनाएको अहिलेको छायाँ सरकारलाई खिसिट्युरी गर्नेहरूले भोलि आफैं छायाँ सरकार बनाउन बाध्य हुनुपर्ला । यो चक्र घुम्न नदिने हो भने नारा र भाषण अनुरूपका काम भएको छ÷छैन खोजीनीति गर्ने बेला भइसकेको छ ।
टिप्पणीहरू