समय क्रममा यस्तो पनि देख्न सकिन्छ
मिडियाको एक्जिट पोल र जनमत सर्वेक्षणमा विश्वास गर्नेहरुलाई आश्चर्यमा पार्दै भारतीय निर्वाचन परिणाम आएको छ ।
जसरी अमेरिकामा डोनाल्ड ट्रम्पले जित्ने अनुमान गरिएको थिएन, यसपटक मोदीनेतृत्वको भाजपा पहिलाभन्दा शक्तिशाली बनेर आउने आंकलनसमेत भएको थिएन । भाजपाले बढी जितेको भन्दा कंग्रेस आई ओरालो लागेको पाटोतर्फ बढी चासो देखिएको छ । सन् २००४ देखि कंग्रेस आईलाई दशा लाग्न थालेको हो । अध्यक्ष सोनिया गान्धीको पुत्रमोह यसमा मूल कारक मानिन्छ । उनी आफू पनि विदेशी बुहारी भनिनेमा पर्छिन् । पछि छोराको निम्ति ठाउँ बनाउन विस्तारै–विस्तारै गैरराजनीतिक, प्राविधिक र टेक्नोक्र्याटलाई सरकार र पार्टीको जिम्मेवारी दिँदा जनता र पार्टीबीच दूरी बढ्दै गयो ।
जस्तो कि, प्रधानमन्त्री हुने मौका आउँदा मनमोहन सिंहजस्ता गैरराजनीतिक व्यक्तिलाई अघि सारियो । प्रणव मुखर्जी, जसले मनमोहन सिंहलाई योजना आयोगको अध्यक्ष, केन्द्रीय बैंकको गभर्नर बनाएका थिए, उनैलाई मनमोहनको मातहत अर्थमन्त्री बनाएर अपमानित गरियो । अहमद पटेलजस्ता चार्टर्ड एकाउण्टेण्ट, राजिव शुक्लाजस्ता पत्रकार, सत्यवत् चतुर्वेदीजस्ता वकिलहरुलाई ल्याएर पार्टी महासचिवसहित विभिन्न किसिमका सांगठानिक जिम्मेवारी दिइयो । त्यसबाहेक अभिषेक मनुसिंहवीजस्ता वकिललाई सांसद र मनिष तिवारीहरुलाई पनि त्यस्तै जिम्मेवारीमा पठाइयो ।
अनि आनन्द शर्मा जस्ता पत्रकारले एक्कासी पार्टीको विदेश विभाग प्रमुख बन्ने अवसर पाए । नेताले जनाधारमा टेस्टेड भइनसकेका गैरराजनीतिक व्यक्तिहरुलाई टुप्पी समातेर तान्न थालेपछि जनता र दलबीचको सम्बन्ध टुट्ने नै भयो । विषय विज्ञको रुपमा यस्तै गरेका थिए, राजा ज्ञानेन्द्रले आफ्नो शासनकालमा । उपेन्द्र देवकोटा, याङकिला शेर्पा, ई.दीपक ज्ञवाली, मधुकरसमशेर राणा, श्रीषसमशेर राणा, रमेशनाथ पाँडे, डा.रुपज्योतिजस्ता गैरराजनीतिक मानिसहरुलाई विभिन्न मन्त्रालय जिम्मा लगाए । उनीहरु जनतासँग जोडिने र जनताप्रति उत्तरदायी हुने कुरै भएन । फलतः ज्ञानेन्द्रले साढे तीन वर्ष पनि आफ्नो सत्ता चलाउन सकेनन् । त्यही कार्यशैलीका कारण आफूमात्र हैन, राजसंस्था नै जनताबाट अपदस्थ भयो ।
भारतमा सरकार चलाउने पार्टीको धरातल बिग्रँदाको परिणती हो यो । विरासत हेर्ने हो भने, महात्मा गान्धी, लालबहादुर शास्त्री, जवाहरलाल नेहरुले बनाएको पार्टी । इन्दिरा गान्धीले पारिवारिक तन्त्र चलाउँदा उनीसहित दुवै छोरा राजीव र सञ्जयले छिट्टै जीवन गुमाउनुप¥यो । फेरि सोनियाले त्यस्तै शैली अपनाइन् र छोरीलाई समेत पार्टी महासचिव बनाइन् । फलतः आफूलाई बाइपास गरेका कारण थुप्रै नेता–कार्यकर्ता मन कुँडाएर बसे, कतिले अलग्गै पार्टी बनाए ।
सन् १९३६ मा बनेको राष्ट्रिय स्वयंसेवक दल, आरएसएस अर्थात् विजेपीको मातृपार्टीले विस्तारै विस्तारै प्रभाव बढाउँदै अहिले अप्रत्यासित रुपमा भारतीय संसदमा बलियो उपस्थिति जनाएको छ । नेपालमा पनि देउवाले आरजुलाई अगाडि बढाए । स्वर्णीम वाग्ले, मीनेन्द्र, गोविन्द पोखरेलजस्ता गैरराजनीतिक मानिस अगाडि सार्दा निर्वाचन परिणाम निराशाजनक भएको उदाहरण छ । नेकपामा पनि अहिले कोमल वली, अञ्जान शाक्य, समीम अन्सारीजस्ताको चलन शुरु भएको छ । यसप्रति समयमै सचेत नहुँदा ढिलो–चाँडो हुने त कंग्रेस आई र नेपाली कांग्रेसजस्तै हो । त्यसैले भारतीय निर्वाचनले दीर्घकालमा लाक्षणिक प्रभाव राख्ने विश्लेषकहरुको टिप्पणी छ ।
टिप्पणीहरू