​सयौंमा एक्ला मोदी, मूलचन्द्रको भरिलो गोदी

  • नारायण पौडेल

नरेन्द्रभाइ मोदीको नाम भारतीय राजनीतिमा विभिन्न रेकर्डसहित स्थापित छ । हालै सम्पन्न निर्वाचनपछि थप रेकर्ड कायम भएको छ । भारत स्वतन्त्र भएपछि जन्मिएको पुस्ताबाट प्रधानमन्त्री बन्ने उनी एक मात्र हुन् । लगातार दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बन्ने पहिलो गैरकांग्रेस पनि हुन् । आमा ज्युँदै हुँदा प्रधानमन्त्री बन्ने तथा सबैभन्दा धेरै मतान्तरले लोकसभामा विजयी हुने व्यक्तिको रूपमा समेत चिनिन्छन् । सन् १९८४ पछि एकै दलले बहुमत ल्याएर प्रधानमन्त्री बन्न सफल इतिहास रचेका थिए मोदीले सन् २०१४ मा । मोदीको नाममा अर्को इतिहास थपिएको छ–फेरिपनि बहुमत !

भारतीय राजनीतिलाई नजिकबाट हेर्नेहरूको अनुमान थियो – मोदी फेरिपनि प्रधानमन्त्री बन्न सक्छन् । तर, थप शक्तिशाली बन्नेछन् भन्ने सायदै कसैको अनुमान थियो । उनको शक्ति क्षयका लागि मुख्य तीन कारण मानिएको थियो– सन् २०१४ मा गरेका अधिकांश वाचा पूरा नहुनु, आम जनताका लागि अच्छे दिन नआउनु । लोकसभा निर्वाचनभन्दा केही पहिले सम्पन्न विधानसभा निर्वाचनमा प्रतिपक्षी कांग्रेस गठबन्धन बिजेपीभन्दा बलियो देखिनु । मोदीलाई परास्त गर्न कांग्रेसको नेतृत्वमा विपक्षीको कसली चुनावी एकता, अमेरिकालगायत विश्वशक्ति मोदीप्रति भित्रीरूपमा असन्तुष्टि । 

यी सबै प्रतिकूलताका बाबजुद पनि मोदीका लागि राजनीति थप अनुकूल सावित भइदियो । खहरे ठानिएको मोदीको उदय अकाट्य दरियो । आखिर मोदी शक्तिको राज के हो ?

निःसन्देह मुख्य कारक मोदी र भाजपा हुन् । तर, अर्को एउटा पाटो लुकेको छ जसले उनलाई थप शक्तिशाली बनायो । त्यो हो –प्रधानमन्त्री मोदीको शक्तिप्रति कुनै आशक्ति नदेखाउने परिवार । 

नरेन्द्र मोदी विशाल परिवारका सदस्य हुन् । गुजरातको उत्तरी भागमा रहेको बडनगरमा उनको परिवारका दर्जनौँ घर छन् । त्यसैले मोदीको जन्मथलो मोदी चर्चित बन्नुभन्दा पहिले नै मोदी टोलले चिनिन्थ्यो । मूलचन्द मोदीका ६ भाइ छोरा मध्ये जेठा दामोदरदास मोदीका साँइला छोरा हुन् नरेन्द्र । मूलचन्दका ६ भाइ छोराको सन्तान जोड्दा मोदीका कम्तिमा २४ जना दाजुभाइ, दिदीबहिनी छन् ।

ती २४ जनाका छोराछोरी, नातिनातिना जोड्दा संख्या सयौँ पुग्छ । सयौँ परिवारका सदस्य भए पनि दिल्लीको शक्ति राजनीतिमा देखिने नरेन्द्र एक्ला मोदी हुन् । 

मोदीमाथि सन् २०१९ को निर्वाचनमा प्रतिपक्षीबाट लगाइएको जोडतोडको आरोप थियो – भ्रष्टाचार । राफेल नामक सैन्य विमान खरिदमा अर्बांै रूपैयाँ हिनामिना गरेको बात लगाइएको थियो । मोदीले आफूलाई देशको चौकीदारका रूपमा चिनाइरहेका थिए । प्रतिपक्षी दलका नेता राहुल गान्धीले चौकीदार शब्दमाथि नै आक्रामक नारा बनाइदिए –चौकीदार चोर है । यो नारालाई खण्डित गर्न मोदीलाई पारिवारिक साथ मिल्यो । उनले खुलेर भन्न पाए–मेरो अघि न कोही छ, न पछि कोही छ । म के का लागि भ्रष्टाचार गरुँ ? उनले आफ्नो परिवारबारे एक कदम अघि बढ्दै भने– मेरो परिवारका सदस्यप्रति नमन गर्दछु, जसले सामान्य जीबन व्यथित गरेर मेरो शीर उँचो बनाएका छन् । दाजुभाइ दिदीबहिनी, भतिजाभतिजीले मबाट प्राप्त गर्ने आशा राखेको भए सायद म निष्कलंक रहन सक्दैनथँे ।

मोदीले प्रधानमन्त्रीको रूपमा पहिलो पटक शपथग्रहण गर्दा दक्षिण एशियाका कार्यकारी प्रमुखलाई निमन्त्रणा गरेका थिए । सबै क्षेत्रका प्रतिष्ठित र अनुकरणीय जनहरूलाई डाकेका थिए । तर, उनले आफ्नै परिवारका सदस्यलाई समारोहमा वञ्चित गरे र प्रष्ट सन्देश दिए– शक्तिबाट परिवारका सदस्यलाई टाढा राखिने छ । पहिलोपटक गुजरातको मुख्यमन्त्री हुँदा सरकारी निवासमा एकपटक पारिवारिक मिलन र फोटो सेसन गरेका उनले देशको प्रधानमन्त्री भएपछि त्यो पनि गरेनन् । प्रधानमन्त्रीका रूपमा मोदीले गरेको पारिवारिक बेवास्तालाई लिएर उनको परिवारले रत्तिभर गुनासो गरेन । बरु गर्व गर्न लायक सन्देश प्रवाह गरिरह्यो । उदाहरण शुरु गरौँ आमाबाट । 

सन् २०१४ को चुनावी नतिजा सार्वजनिक भएसँगै आमाको आशीर्वाद लिन मोदी गुजरात पुगे । कान्छो छोरा पंकजको तीनकोठे घरमा बस्ने हिराबेनले प्रधानमन्त्री छोरासँग केही अपेक्षा गरिनन् । बरु, उसैलाई नपुगेको होला भन्ठानेर केही पैसा हातमा राखिदिइन् । सो दृश्यले मातृप्रेमको उदाहरण मात्र प्रस्तुत गरेन, मोदी परिवारप्रति सम्मान जगायो । मोदीले आमालाई प्रधानमन्त्री निवासमै राख्न सक्थे । मोदी र हिराबेन दुबैको रुची त्यसमा देखिएन । पहिलो कार्यकालमा एक पटक आमालाई दिल्ली डाकेछन् । हप्ता दिन जति प्रधानमन्त्री निवासमा बसेकी हिराबेनले भनिछन्–मलाई मेरै गाउँ रमाइलो, कम्तिमा साथीभाइसँग मन बहलाउन पाउँछु । बयोवृद्ध आमाप्रति मोदीको मोह नभएको होइन । हरेक सफलता र विशेष दिनमा आमाको आशीर्वाद लिन मोदी गुजरात पुगेकै हुन्छन् । आमाले छिमेकीको घरमा काम गरेर आफूहरूको रेखदेख गरेको इतिहासभन्दा उनी प्रत्येक पटक रोएकै हुन्छन् ।

नरेन्द्र मोदीकी श्रीमती हुन् जशोधावेन । किशोरवयमै वैवाहिक जीवनमा बाँधिएका थिए नरेन्द्र र जशोधा । भारतीय सञ्चारमाध्यमसँगको कुराकानीमा जशोधाले बताएअनुसार विवाह भएको ३ वर्षमा उनीहरू मुस्किलले ३ महिना सँगै बसेका थिए । विवाहपछि पनि जशोधा प्रायः माइतीमै बसिन्, मोदीले घर छाडेर हिँडेपछि उनीहरूको भेटघाट नै भएन । मोदी प्रधानमन्त्री भएपछि पेशाले शिक्षक रहेकी जशोधाका लागि गुजरात सरकारले भीभीआईपी सुरक्षा टोली खटायो । उनले आफू कसरी भीभीआईपी भएको भन्ने जानकारी दिन सरकारसँग मागमात्रै गरिनन्, आफूलाई कुनै असुरक्षा नरहेको भन्दै फर्काइदिइन् । मोदीकै नाममा सिंगो जीवन समर्पित गरेकी जशोधा पतिले दिएको बिछोडप्रति गुनासो पनि गर्दिनन्–मेरो भाग्यमा यस्तै रहेछ, मलाई साथ नदिएपनि देश र देशवासीलाई साथ दिने उसको लक्ष्य पूरा होस् । बिछोड उपहार दिने पतिप्रति जशोधाको बेजोड प्रार्थना !

नरेन्द्रका जेठा दाजु हुन्–सोमभाइ । झण्डै असी पुग्न लागेका उनी सामाजिक सेवामा सक्रिय छन् । वृद्ध आश्रम चलाउँछन् । भाइ प्रधानमन्त्री भएपछि उनीप्रतिको आकर्षण झन् बढेको छ । तर, सोमभाइ आफूलाई प्रधानमन्त्रीको दाइको रूपमा चिनाउन चाहन्नन् । केही पहिले सोमभाइ गुजरातकै गाजीपुरस्थित सिद्धपीठ हथियाराम मठस्थित बुढियाँ मन्दिर गएका थिए । श्रीमतीसहित पूजाआजाका लागि पुगेका उनलाई त्यहाँ धेरैले चिन्दैनथे । सयौँ भक्तजनका सामू मठाधीशले सोमभाइको परिचय गराइदिए–प्रधानमन्त्रीका जेठा दाजु । तर, श्रद्धेय मठाधीशले गराएको परिचयलाई खण्डित गरेर सोमभाइले सबैलाई आश्चर्यचकित पारिदिए । उनले तत्काल जवाफ फर्काए– म नरेन्द्र मोदीको जेठो दाजु हुँ, तर प्रधानमन्त्री नरेन्द्रका लागि म एक भारतीय दाजुभाइमात्र हुँ । मेरो र नरेन्द्रका बीचमा एउटा यस्तो पर्दा छ जसकारण प्रधानमन्त्रीका रूपमा उसले नत मलाई दाइका रूपमा हेर्छ नत म उसलाई भाइका रूपमा हेर्छ । 

अर्का दाजु हुन् अमृतभाइ मोदी । छोरा सञ्जयसँगै मिलेर अमृतले पार्टपुर्जाको व्यवसाय गर्छन् । सञ्जयको लगाव प्रविधिमा छ । तर, उनी प्रविधिमैत्री काकाको आडमा कुनै तरक्की गर्ने आशामा छैनन् । उनी भन्छन्–मलाई ठीकै छ, काकाले आम भारतीयका लागि गरुन् । 
प्रल्हाद प्रधानमन्त्री मोदीका भाइ हुन् । गल्ला व्यवसायी उनी गुजरात गल्ला व्यवसायी संघका अध्यक्ष पनि । साना व्यवसायीका लागि मोदी सरकार मैत्रीपूर्ण नरहेको भन्दै सडकमा धर्नासमेत बसे । तर, मोदीको देश प्रेमबारे प्रल्हाद प्रवक्तासरह प्रस्तुत हुन्छन् । उनी गुजरातभर डुलिरहन्छन् । साथीभाइ र सञ्चारकर्मीले सुरक्षा चुनौतिबारे प्रश्न गर्छन् । प्रल्हाद जवाफ फर्काउँछन्– मेरो दाइले गल्ति नगरेसम्म हामीलाई कुनै असुरक्षा छैन । दाइ देश र जनताका लागि समर्पित रहुन्जेल हामीलाई सुरक्षाको के चिन्ता ? उनको प्रतिप्रश्न मोदीका लागि कम्ता भ्रातृ–उपहार होइन ।

मोदीकी एकमात्र बहिनी हुन्–बसन्तबेन । दिदीबहिनीको जातै आशे भनिन्छ । माइतीको बुझाइ यस्तै हुन्छ । तर बसन्तबेन देशकै सर्वशक्तिमान माइतीसँग केही अपेक्षा राख्दिनन् । सामान्य जीवनशैलीकै वसन्तबेन नरेन्द्र मोदीसँग कहिल्यै सहयोगको याचना नगरेको बताउँछिन् । 

परिवारका कान्छाभाइ पंकज प्रधानमन्त्री नरेन्द्र मोदीसँग सबैभन्दा बढी भेटघाट गर्न पाउने भाग्यमानी सदस्य हुन् । कारण उनी आमासँग बस्छन्, नरेन्द्र मोदी आमालाई भेट्न आउँदा पंकजले पनि भेट्न पाउँछन् । यसकारण मोदीसँगै टेलिभिजनका पर्दामा यदाकदा देखिने पात्र हुन् । त्यसैले उनलाई धेरैले चिन्छन् पनि । एउटा कार्यक्रममा पंकजलाई निम्ता गरियो । प्रमुख अतिथिका रूपमा आसन ग्रहण गर्न र बोल्न लगाइयो । प्रधानमन्त्रीको भाइ भएकै कारण प्रमुख अतिथि बनाइनु आफ्नो र दाजुको नीति विपरित रहेको भन्दै पंकजले दुःख व्यक्त गरे । उनले प्रमुख अतिथिको आसन फिर्ता गरेको जनाए । र, आफूलाई प्रधानमन्त्रीको भाइको रूपमा नभई आफूले गरेका कामको आधारमा मात्र मूल्याँकन गर्न अनुरोध गरे ।

मोदीको परिवार शक्तिबाट टाढा छ । शक्तिकेन्द्र हैदरावाद हाउसबाट हजार किलोमिटर पर रहका मोदीहरू शक्तिबाट टाढा रहेर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाइरहेका छन् । शक्तिप्रति आशक्ती नदेखाएर नरेन्द्र मोदीलाई थप शक्तिशाली बनाउने मोदी परिवारको शक्ति कति ? लोकसभा निर्वाचनले उत्तर दिइसकेको छ ।

 मोदी राजनीतिसँग असहमत हुनलाई हजार तर्क पेश गर्न सकिन्छ । तर, मोदी परिवारको सादगीका विपक्षमा तथ्य पेश गर्न सायदै सहज छ । मोदी परिवार राजनीति गर्नेहरूका लागि आफैँमा पाठशाला बनेर खडा भएको छ । महात्मा गान्धी र जवाहरलाल नेहरू परिवारको विरासत रहेको गान्धी परिवारलाई बिना बिरासतका मोदीले त्यसै ढलाएका होइनन् । मोदीको परिवार मोदीका लागि टाढै बसेर ढाल बनिदियो । भारतमा चरम दक्षिणपन्थी राजनीतिका नायक मोदी परिवारबादबाट मुक्त भए पनि नेपालमा क्रान्तिनायकहरू परिवारबादकै कारण बदनाम भएका छन् । ग्रिसेली दार्शनिक प्लेटोले २४०० बर्ष पहिले भनेको कुरा आज पनि सान्दर्भिक छ –आदर्श नेता हुनका लागि पारिवारिक मोह र बन्धनबाट मुक्त हुनैपर्छ ।

प्रधानमन्त्री ओलीबाट परिवारवादको क्रमभंग अपेक्षा गरिएको हो । छोराछोरीलाई स्थापित गर्न आफ्नै विरासत बन्दकी राख्नुपर्ने पितृ–बाध्यताबाट उनी मुक्त रहन सक्छन् । सात पुस्ताका लागि सोच्नुपर्ने सुर्ता पनि ओलीका लागि नहुनुपर्ने हो । पार्टी पनि कमरेड्ली अर्थात् सबै नेता–कार्यकर्ता साथी भन्ने खालको हो । तर, कमरेड्ली राजनीति गर्ने भनिएको उनको पार्टीभित्रै उनलाई एकथरीले बाउ भन्न थाले । जसले बाउ भन्न थाले उनै नजिक भए, सत्ता, शक्ति र स्रोतमा उनीहरूको ताउ लागेकै छ । ओलीको राजनीतिलाई आफ्नो बपौती ठान्नेहरू ओलीका लागि मुख्य खतराको घण्टी सावित हुँदै छन् । नक्कली सन्तानदेखि सावधान रहन सके प्रधानमन्त्री ओलीले सक्कली रूपमै परिवारवादलाई विसर्जन गर्न सक्नेछन् । यसो गर्दा ओली नेपाली राजनीतिमा नयाँ अध्याय आरम्भ गर्ने राजनेता ठहरिनेछन् ।

टिप्पणीहरू