​लफडा एनआइसीमा, रोइलो राष्ट्र बैंकमा

आक्रामक बजार विस्तारमा होमिएको एनआइसी एसिया बैंकको चुरीफुरीले सबै बैंकलाई अचम्भित तुल्याएको छ । सबैको बजार यही हो, ऋणी र निक्षेपकर्ता पनि नेपाली नै हुन् तर एनआइसी एसियाको पारा अलिक अविश्वसनीय देखिन्थ्यो । जे गरे पनि राष्ट्र बैंकका उच्च अधिकारीले आँखा चिम्लिदिएपछि उक्त बैंकका हर्ताकर्ताको पनि महादेवको तीन नेत्रले फरक काम गर्न थाल्यो ।

स्रोतका अनुसार बैंकले वर्षौंदेखि केन्द्रीय बैंकले निर्देशित गरेको कृषिलगायत विपन्न क्षेत्रमा लगानी गर्नुपर्ने करोडौं रकमलाई आफ्नो दुनो सोझ्याउने गरी अपचलन गरेको पुष्टि भएको छ । केही प्रभावशाली सञ्चालकको मिलेमतोमा सीईओदेखि कर्जा विभाग प्रमुख, जोखिम विभाग प्रमुख तथा प्रायोरिटी ऋण विभाग प्रमुखले करोडौं रकम फरक प्रयोजनको लागि अलग्गै क्षेत्रमा ऋण प्रवाह गरेको पाइएपछि केन्द्रीय बैंकका उच्च अधिकृत र अधिकारीहरू हस्याङफस्याङ गर्न थालेका छन् । 

उच्च स्रोतका अनुसार एनआइसी एसियाको उक्त बदमासीका कारण खराब कर्जाको नोक्सानी व्यवस्था गर्न चालु वर्षको चैत मसान्तसम्म उसले कमाएको भनिएको झण्डै सवा दुई अर्ब रुपैयाँले पनि नपुग्ने भएको छ । अब उक्त बैंकले तत्काल झण्डै पौने तीन अर्ब रूपैयाँ बराबरको खराब कर्जा नोक्सानी व्यवस्था गर्नुपर्ने छ । कर्जा अपचलनको समाचार सार्वजनिक नहुँदै सोमबार र मंगलबारको सेयर बजारमा बैंकको सेयर मूल्यमा पनि निकै गिरावट आएको छ । 

टिप्पणीहरू