​थरीथरी दल, पानी पर्नासाथ खलबल

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको नयाँ शक्ति पार्टी र उपप्रधानमन्त्री उपेन्द्र यादवको संघीय समाजवादी फोरमबीच एकतासँगै नयाँ शक्तिका नेताले असन्तुष्टि व्यक्त गरेका छन् । 

केन्द्रीय नेता देवेन्द्र पराजुली, कल्पना धमला, मदन राई, दानबहादुर शाही, अक्कलबहादुर थिङलगायतले ज्ञापनपत्र बुझाएका हुन् । अक्कलबहादुर काभ्रेपलाञ्चोक जिल्लाबाट ०६४ सालमा निर्वाचित सभासद हुन् । अक्कलबहादुर अर्थात ‘महेश’ लगायत जिल्लाको नयाँ शक्तिमा १ सय ५५ नेता सक्रिय छन् । अधिकांश सदस्यले नयाँ शक्तिलाई संघीय समाजवादी पार्टीमा नभई नेकपामा एकीकरण गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । जिल्ला अध्यक्ष होमकुमारी तामाङ ‘अस्मिता’को अध्यक्षतामा बनेपाको कायश्थ ब्याँक्वेटमा सम्पन्न बैठकमा उपस्थित अधिकांश नेताले भट्टराईको आलोचना गरेका थिए । 

नयाँ शक्ति काभ्रेका नेताहरू भरत दाहाल, कुमार खनाल, रामहरि खनाल र कुमार दाहाल वैशाख २३ गते राष्ट्रिय सभा गृहबाट अब बाबुरामलाई साथ दिन सक्ने यति हो भन्दै सेल्फी खिचेर फर्र्किएका थिए । 

दलितमा गैरदलित

काभ्रेमा कांग्रेसको वितण्डा छ । अभियान क्रममा गाउँ पुगेका सभापति मधु आचार्यले कांग्रेसको कार्यक्रम भएलगत्तै पानी परेको भन्दै स्टाटस राखेका थिए । स्टाटस १२ घण्टा पनि टिकेन । सभापतिजस्तो व्यक्तिले सामाजिक सञ्जालमा लेख्ने शब्द र स्टाटस कस्ता हुनुपर्छ ? त्यसले कस्तो सन्देश दिन्छ ? भन्दै कार्यकर्ताले नै प्रशिक्षण दिन थालेका छन् । सन्दर्भ थियो खानीखोला तालढुंगामा कांग्रेसको अभियान । हेलिकप्टरमा बद्रि पाण्डेलगायत नेता ओर्लिंदै थिए । पानीका थोप्ला झरे । १० मिनेट भाषण गर्दा पानी ओइरिएर कार्यक्रम बिथोलियो । नेताका छोराछोरीको नाम पढेर सुनाइयो तर पार्टी प्रवेशमा कोही लाइन लागेनन् । हेलिकप्टर उड्यो । बिहानदेखि मासुभात पकाएर ल्याइएका कार्यकर्ताको पानीकै कारण बिजोग भयो । नेता फर्किएलगत्तै पार्टी सभापतिले स्टाटस राखे । दुई दिनपछि धुलिखेलको एक होटलमा उनै सहभागी हुँदा फेरि पानी ओइरियो । कार्यकर्ताले व्यंग्य कसे– जहाँ कांग्रेस सभापति त्यहाँ पानी । सुख्खा क्षेत्रमा पार्टी सभापतिलाई पु¥याउन सके किसानलाई राहत हुन्थ्यो कि ? केही वर्षअघि नमोबुद्धको भकुण्डेमा पानी नपरेकै कारण खेत बाँझो भयो, पार्टी सभापति कहाँ थिए ? 

पूर्वसभापति हालका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईंले सबैतिरबाट सकिएका मधु आचार्यलाई पार्टी एकताकै निम्ति जुरुक्क ल्याएर सर्वसम्मत सभापति बनाए । तर, उनले कहिल्यै शिव हुमागाईंलाई साथ लिएर संगठन निर्माण गरेनन् । महिलाको अधिवेशन हुन लाग्यो हस्तक्षेप गर्ने, पत्रकारको अधिवेशन हुन लाग्यो हस्तक्षेप गर्ने, दलितको हुन लाग्यो हस्तक्षेप पर्ने । पत्रकारको अधिवेशन उद्घाटन भएको छ तर बन्द सत्र शुरु भएको छैन । लाजमर्दाे रूपले रोकिएको अधिवेशन फेरि गराउने सुरसार नै छैन । दलितहरूको अधिवेशन एकलौटी रूपले २०७५ चैत १४ गते तोकेका सभापति आचार्यलाई उल्टाउँदै दलित संघले २०७६ जेठ ३ गते सम्पन्न ग¥यो । २३ जना हलबाट चुनिएका जिल्ला समितिमा आचार्यले ९ जना थपेर ३२ पु¥याए, विधानतः २७ जनाभन्दा धेरै कार्य समितिमा रहन पाउने व्यवस्था छैन । सामाजिक सञ्जालमै उक्त कार्यको विरोध गरेका पूर्वअध्यक्ष रामचन्द्र रम्तेलले विधानविपरीत संगठन चलाउन खोजे राम्रो नहुने चेतावनी दिएका छन् ।

अनिर्णयको बन्दी

पार्टी एकीकरणपछि जिल्ला अध्यक्ष र सचिवको टुंगो लागेको लामो समयसम्म जिल्ला सदस्यहरू नछानिँदा नेकपामा शपथ रोकिएको छ । प्रदेशका अन्य जिल्लामा सकिएको शपथ कार्य काभ्रेमा हुन सकेको छैन । केन्द्रीय सदस्यसमेत रहेका मन्त्री गोकुल बाँस्कोटासहितको भेलाद्वारा यसअघि सिफारिस गरिएका नाममा प्रस्तुत असहमति र पूर्वअध्यक्ष टोकबहादुर वाइबाबीच सहमति हुन नसक्दा एकता प्रक्रिया लम्बिएको हो । नेताहरूले तत्काल सहमति गरी जिल्ला कमिटीको बैठक बोलाउन माग गरेका छन् ।

– मोतीराम तिमल्सिना

टिप्पणीहरू