बोटबिरुवा बेस्कन बटुलिँदै

उडाउनेलाई त के भयो र ? ‘हाहाहुहु’ गरे पुग्यो, तर हाम्रा प्रधानमन्त्री वातावरणप्रति कति चिन्तित र सचेत छन् भन्ने एउटा सानो उदाहरण यस्तो छ । 

दुई साताअघि प्रधानमन्त्री कार्यालयबाट डाकिए राष्ट्रिय फलफूल विकास केन्द्र, कीर्तिपुरका कर्मचारी । ‘केही बिगार पो भयो कि ?’ भनेर डराइ–डराइ सिंहदरबार पुगेका कर्मचारीसमक्ष प्रधानमन्त्रीले प्रस्ताव राखे, ‘शीतल निवास, प्रधानमन्त्री निवास, पुल्चोकस्थित मन्त्रीक्वार्टर, सिंहदरबारका सार्वजनिक र खाली ठाउँमा एभोकाडो, अनारजस्ता उपयोगी बिरुवा रोप्न पाए कस्तो होला ?’ लगत्तै  राष्ट्रिय फलफूल विकास केन्द्र (बागवानी)का कार्यालय प्रमुख डा. रमिता मानन्धर, बागबानी विकास अधिकृत धनबहादुर थापाहरूको टोली प्रधानमन्त्री निवास बालुवाटार पुग्यो वृक्षरोपण गर्ने ठाउँ हेर्न । बालुवाटारमा सिड हाउस नै स्थापना गरिएको भेटियो । 

प्रधानमन्त्रीको निर्देशनअनुसार उक्त कार्यालयले सय वटा एभोकाडोका बेर्ना विभिन्न निजी नर्सरी तथा फार्म हाउसबाट मगाइसकेको छ । र, योजना छ ५० बिरुवा  बालुवाटारमै रोप्ने । ‘पmल जनतालाई, फूल देशलाई’ नारा नै छ, प्रधानमन्त्रीको । यही नारालाई साकार पार्न सार्वजनिक  तथा निजी क्षेत्रमा फलफूल खेती विस्तार गर्न निर्देशन दिइएको छ । यसैअनुसार यसअघि नै सिंहदरबार आसपासका खाली ठाउँमा २ हजार बिरुवा रोप्ने प्रक्रिया अगाडि बढेको हो । तर, स्थान अभावका कारण मुस्किलले ४५० बेर्ना मात्र रोप्न सकियो । सिंहदरबार बाहिर ४५० बिरुवा रोपिए । सार्वजनिक तथा निजी क्षेत्रमा गरी १२ लाख बिरुवा रोप्ने योजना छ । जसमा हिउँदे बिरुवा, हलुवावेद, सुन्तला, अनार, एभोकाडोलगायत रोजिएका छन् । यता, प्रम कार्यालयकै निर्देशनअनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका ७ सय ५३ स्थानीय तहलाई खाली जमिनमा फलफूलको बिरुवा रोप्न र एक व्यक्ति एक वृक्षरोपण कार्यक्रमलाई अभियानकै रूपमा बढाउन सर्कुलर गरेको छ । 

यस्तै, टोलीले सम्माननीय प्रधानमन्त्रीको झापा, दमकस्थित जग्गामा पनि फलफूलको बीउ रोप्ने जिम्मेवारी पाएको छ । आँप, लिची, कागती, अनार, एभोकाडोलगायत फलफूलका सयवटा बोट खोजेर राष्ट्रपति भवनमा रोप्ने योजना छ । एक महिनाभित्र यो काम सकिने छ । प्रधानमन्त्रीले ‘ल, आएर हेर्नु’ भनेपछि फलफूल विकास केन्द्रका कर्मचारीले ‘बोट ल्याएर त हामी रोपिन्दिछौं तर त्यसको रेखदेखचाहिँ यहीँका मालीले गर्नुपर्छ’ भनेका छन् । 

प्रम कार्यालयले रक्षा र गृहलाई पत्राचार गरी सेना, प्रहरीतर्फ देशभरका कार्यालय परिसरमा फलफूलका बिरूवा रोप्न निर्देश गरिसकेको छ ।  उक्त कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरका अनुसार यो अभियानअन्तर्गत अहिले  २३ लाख १६ हजार ७ सय ३९ वटा फलफूल र ५ लाख ७४ हजार एक सय ८० अन्य बिरूवा रोपिसकिएको छ । प्रधानमन्त्रीले पूर्वमाओवादी र पूर्वएमाले एकीकरण भएकै  दिन बालुवाटारमा ‘जिन्को वाइलोवा’ नामक डायनोसरकालीन वृक्षरोपण गरेका थिए । वनस्पतिविद्का अनुसार यो ‘अजम्बरी’ र विश्वकै पुरानो बिरुवा हो । यस्तो बिरुवा अध्यक्षद्वयले बालुवाटारमा रोपेर ‘मजबुत’ एकताको सन्देश दिन खोजेको नेकपाका नेता सुनाउँछन् ।

टिप्पणीहरू