​अनि अचम्म मान्दै अर्थमन्त्री

नयाँ बानेश्वरस्थित संघीय संसदको क्यान्टिनमा अस्ति सोमबार दिउँसो १ः३० बजे बजेटमाथिको छलफलमा भाग लिन पुगेका सांसदहरु प्रेम आले, अमनलाल मोदी, गणेश पहाडी, नरबहादुर धामीलगायत ५७ जना बसेर चियाको चुस्की लिइरहेको बेला अर्थमन्त्री डा. युवराज खतिवडा पुगेर लेखा समितिका सदस्य अमनलाल मोदीलाई तीन खर्ब रुपैयाँ उठाइदिनुप¥यो भने । उनको आशय महालेखा परीक्षकको प्रतिवेदनले देखाएको बेरुजुमाथि थियो । 

जवाफमा मोदीले भने– मैले नौ अर्ब बक्यौता राज्यले पाउनुपर्छ भन्ने आवाज उठाउँदा कुलमानबाट त्यस्तो लाञ्छना र आरोप खेप्नुप¥यो । सही थाप्दै खतिवडाले भने, ‘म तपाईंको अस्तिको कुरामा खुशी छु । ठीक गर्नुभयो । केही व्यक्तिलाई रातारात सेलिब्रिटी बन्ने रहर जागेको हुन्छ । जे कुरामा पनि छूट खोज्ने प्रवृत्ति हावी भएको छ । यो ठीक भएन । म यसको पक्षमा छैन । नौ सय मेगावाट परियोजनाको कन्सेप्ट मेरै पालामा शुरु भएको हो । खै त मैले त्यसको हल्ला पिटाएको ? म राष्ट्रबैंकमा हुँदा बैकिङ सिष्टमलाई च्यानलाइज गरें, अहिले कुनै पनि बैंकमा लाइन देख्नुभएको छ ? खै त मैले यी कामबारे हल्ला गर्दै हिँडेको ?

यस्ता कामको मूल्यांकन त समाजले गर्ने हो नि ! क्याबिनेटमा पनि कतिपय मन्त्रीले त्यसो भयो भने त म बर्बाद भइहाल्छु नि भन्नुहुन्छ । तर ममा नजाऔं, हामीमा जाऔं, यो व्यक्तिको विषय होइन, जस–अपजस सबैले लिनुपर्छ ।’ पुरानो नौ महिने सरकारको प्रसंग कोट्याउँदै खतिवडाले थपे, ‘झापाली कमरेडहरु त्यो अल्पमतको सरकारमा सीपी कमरेड जानु हुँदैनथ्यो । छोटो समयमा केही गर्न सकिँदैन । त्यसले जनतामा नकारात्मक सन्देश जान्छ भन्नुहुन्थ्यो तर अहिले त बहुमतको सरकार छ, काम गर्ने अवसर पनि छ ।’ अर्थमन्त्रीले सांसदलाई दिइएको ६ करोडमाथि सर्वोच्चमा परेको मुद्दालाई इंगित गर्दै भने, यो छ करोड नभई पूरै १५ खर्ब ३२ अर्ब बजेटमाथिकै मुद्दा हो । यो मुद्दामा अदालतले दिने आदेशले पूरै बजेट प्रभावित हुनसक्छ ।

टिप्पणीहरू