ठूलै हेरफेरको तयारी
निकट भविष्यमै नेपालको नोकर शाह संयन्त्रमा ठूलो परिवर्तनको सम्भावना, चर्चा र तयारी शुरु भएको छ । ‘आगो नबली धुँवा आउँदैन’ भनेजस्तो अहिलेका मुख्यसचिव लोकदर्शन रेग्मीलाई लक्की शेर्पालाई फर्काएदेखि रिक्त रहँदै आएको अष्ट्रेलियास्थित दूतावासमा पठाउने तयारी भइरहेको बताइन्छ । त्यसो भएमा निजामतीतर्फको सर्वाेच्च पद केदार अधिकारी, अर्जुन कार्की, दीपेन्द्र शर्मा र प्रेम राईमध्ये एकले सम्हाल्न पाउनेछन् । यीमध्ये सबभन्दा ठूलो सम्भावना प्रेम राईको देखिन्छ । त्यतिञ्जेलसम्म अख्तियारमा खालि रहेको एक आयुक्त पदपूर्ति नगर्ने सल्लाह भएको बुझिन्छ । प्रधानमन्त्री कार्यालयका सचिव विष्णु लम्साल साउनपछि स्टाफ कलेजको निर्देशकमा जाँदै छन् ।
माघमा कार्यकाल सकिन लागेका अर्थसचिव राजन खनाललाई बित्त आयोगको सदस्य, अख्तियारका सचिव महेश्वर न्यौपानेलाई गृह, सञ्चार सचिव महेन्द्र गुरुङलाई अख्तियार लैजाने सम्भावना छ । अर्थ सचिवमा शिशिरकुमार ढुंगाना वा लक्ष्मण अर्यालमध्ये एक, दिल्ली दूतावासबाट हालै फिर्ता बोलाइएका कृष्णहरि कर्ण पुष्करको ठाउँमा अर्थ मन्त्रालयको बजेट महाशाखाका हरिशरण पुडासैनीलाई इकोनोमिक काउन्सिलर बनाएर पठाइने चर्चा छ । यसबीच, जुलाईभित्र भारतीय राष्ट्रपति रामनाथ कोविदको नेपाल भ्रमण गराउने तयारी शुरु भएको छ । प्रम केपी ओली भारत जाँदा राष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो दिइएको छ ।
त्यस्तै, नेपालमा भारतले लगाएको नाकाबन्दीका छुच्चा खेलाडी मानिएका र अहिलेको नयाँ सरकारमा विदेशमन्त्री भएका एस.जयशंकर अर्को महिना मन्त्रिस्तरीय बैठकमा भाग लिन आउँदै छन् ।
प्रधानमन्त्री तहमा दुई देशबीच कुनै समस्या नरहेको दुई प्रधानमन्त्रीको हैदरावाद हाउसस्थित बिहानी भेटघाटमा प्रस्तुत बडिल्याङ्वेजबाट बुझ्न सकिन्छ । प्रधानमन्त्रीले यसचोटिको भ्रमणका क्रममा विजेपीका महामन्त्री राम माधवसँग ४० मिनेट भेटघाट र हालै गृहमन्त्री नियुक्त बिजेपी अध्यक्ष अमित साहसँग लामै फोन वार्ता गर्नुभएको बुझिन आएको छ ।
प्रधानमन्त्रीको युरोप भ्रमणका दौरान अर्को विषय पनि उठ्ने भएको छ । त्यो हो, युरोपेली आकाशमा नेपाली जहाजको उडान अनुमतिबारे । फ्रान्समा एयरबस बन्ने, त्यो नेपालले किन्ने, एसियाका अरु देशमा उड्न पाउने । तर, युरोपमा बनेको एयरबस युरोपमै उड्न नमिल्ने ? भनी हाम्रा प्रमले फ्रान्सेली समकक्षीसँग कडिकडाउ कुरा राख्नुहुने भएको छ ।
टिप्पणीहरू