​‘मनका कुरा’ भाँडिँदा हिरासतको म्याद

पहिले ‘मनका कुरा’ थियो, पछि ‘यौनका कुरा’ भइदियो । यसरी ‘मन’ एकाएक बरालिँदा युवकको बास हिरासतमा, महिलाचाहिँ पीडा बोक्दै अदालततिर धाइरहेकी छन् ।

कलाकार तथा कार्यक्रम सञ्चालिका भीमा मैनालीले मध्यराति टिभी टुडेमा पहिला कार्यक्रम चलाउने गरेकी थिइन्, ‘मनका कुरा ।’ महाराजगञ्जस्ति होटल शाम्बाला नजिकै अफिस खोलेको फ्लेक्सन क्लारियन मिडियाका रामकृष्ण तिमिल्सिना कार्यक्रम उत्पादक । कतिपय व्यक्तिले (बढीजसो महिला) यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी समस्याबारे चिकित्सकसँग परामर्श लिन सकेका हुँदैनन् । त्यस्तालाई लक्ष्य गरी भीमाले चिकित्सकीय परामर्शमा आधारित स्वास्थ्यसम्बन्धी कार्यक्रम चलाउने गरेकी थिइन् । उद्देश्य राम्रो थियो, स्वास्थ्य समस्यालाई लिएर कुण्ठामा बसेका व्यक्तिले आफ्नो कुरा राख्न र सोध्न पाउने । रामकृष्णको नियत खराब हुँदा भीमालाई सामाजिक र मानसिक रूपमा पनि समस्या उत्पन्न भयो । रामकृष्णले दिएको पीडाका कारण उनले कार्यक्रम बनाउन छाडिन् । तर, रामकृष्णले भीमाको सहमतिबिना युट्युबमार्फत बिभिन्न अश्लिल र अपाच्य शब्दमा शीर्षक राख्दै पुराना क्लिप्सहरू हाल्दै रहे ।

‘मनको कुरा’ लाई ‘यौनको कुरा’ बनाइदिए । अनि, शीर्षक राखिदिए, ‘म सधैँ वीर्यपान गर्छु…!’ जब कि, कार्यक्रममा शीर्षकअनुसारका कुनै प्रसंग थिएनन् । त्यसमाथि काम छोडेर हिँडिसकेको मान्छेको अनुहार देखाएर अश्लील शैलीमा प्रस्तुत गरिँदा कस्तो हुन्छ होला उनीप्रतिको सामाजिक दृष्टिकोण ? धन्वन्तरी आयुर्वेद हस्पिटल र माता मनकामना आरोग्य क्लिनिकद्वारा प्रायोजित थियो कार्यक्रम । र, परामर्श दिने बढीजसो सेक्सोलोजिस्ट डा.सुवोधकुमार पोखरेल नै हुन्थे ।

भीमाले ०७४ भदौदेखि कार्यक्रम चलाउन थालिन् । केही समयमै असहमति भएपछि काम गर्न छाडिन् । तर, उनले छाडेपछि पनि रामकृष्णले पुराना क्लिप्सलाई तोडमोड गर्दै अगाडि महिलाको नग्न तस्वीर, अश्लील शीर्षकसहित देखाउने र क्लिक गर्नासाथ भीमाको फोटो आउने बनाइदिए । यो कुराले पारिवारिक विखण्डनदेखि बालबच्चामा मानसिक समस्यासम्म आउने स्थिति भयो । तर, रामकृष्णले जेठको ८ गतेसम्म पनि भीमाबारे भ्रम फैलिने गरी त्यस्ता सामग्री अपलोड गर्न छाडेनन् । भीमाले त्यही दिन प्रहरीमा जाहेरी दिइन् । तर, रामकृष्ण छल्दै हिँडे । भेटेर छलफल गराउन खोज्दा कार्यक्रम उत्पादन क्रममा आफ्नो खर्च भएको भन्दै युट्युवबाट नहटाउने दाबी गरे । अन्ततः अस्ति सोमबार दिउँसोे प्रहरीले उनलाई विद्युतीय कारोबार मुद्दामा म्याद थपेको छ ।

टिप्पणीहरू