​प्लेनबाट ओर्लनासाथ पक्राउ

अनुमान गरौँ त, धेरै वर्ष विदेश बसेर फर्कंदै गरेको मान्छेमा कति धेरै उत्साह र उमंग हुँदो हो ! तर, त्यो जोशमाथि जहाजबाट ओर्लिंदा ओर्लिंदै आफ्नै देशका कर्मचारीबाट चिसोपानी खन्याइँदा के सोच्दा हुन्, त्यस्ता देशप्रेमीले ?

अमेरिकाबाट नेपाल फर्किंदै गरेका ३० वर्षीय डिभिज शाहले शनिबार (२५ गते) साँझ ७ बजे भोगेको पीडा हो यो । उनी कतार एयरको क्युआर ६५० उडानबाट दोहा ट्रान्जिट हुँदै काठमाडौं ओर्लिए । साथमा खरानी रंगको सुटकेश ल्याएका थिए । भित्र ‘१९११ आइएजी एलिट फोर्स फ्रन्टलाइन रिजोलुसन’ लेखेको, पेस्तोलजस्तै देखिने खेलौना थियो । त्यसमा ‘५००० प्रिमियम ६ एमएम बिबि, लेखिएको थियो । त्यो प्लाष्टिकको चिज थियो छाम्दैमा थाहा हुने । तर, कर्मचारी पेस्तोल नै ल्याए कि भनेर आत्तिए । प्रहरीलाई जिम्मा लगाए । दिनरात बन्दूक बोकेर हिँड्ने प्रहरीले ‘बन्दूक’ भनिएको कुनै चिज बन्दूक नै हो कि होइन भनेर यकिन गर्न सक्नुपर्ने । तर, उनीहरू पनि अलिक जान्ने भएर अनुसन्धानका लागि विदेशबाट ओर्लिंदा–ओर्लिंदै एक जना चर्चित चिकित्सकको छोरालाई गौशाला प्रहरी बृत्तको हिरासतमा पु¥याइदिए । त्यहाँ प्रहरीको विशेष टोलीले सामान ओल्टाई–पल्ट्याई हे¥यो । एउटा खेलौनाको निहुँमा थुनिएका उनी राति मात्रै छुटे । 

भोलिपल्ट, अर्थात् आइतबार साँझ ६ः५० देखि ७ः४५ सम्म अन्तर्राष्ट्रिय टर्मिनल भवनमा एक महिनापछि फेरि अर्को रमिता भयो । पूरै एकघण्टासम्म अध्यागमनले डिपार्चर र अराइभलको सफ्टवेयर डाउन भयो भनेर कुनै पासपोर्टमा छाप हानेन । यसरी सफ्टवेयर डाउन भएको नाममा जति पनि यात्रु विदेशबाट ओर्लिए, तिनलाई त्यत्तिकै पठाइयो । यदि त्यसक्रममा आतंककारी गतिविधि वा कुनै कारणले ब्ल्याकलिष्टेड व्यक्ति छिरेको भए जिम्मेवार को हुन्थ्यो ? त्यसमाथि नक्कली पासपोर्ट लिएका व्यक्तिहरू युरोप–अमेरिका छिर्ने दाउमा यस्तै समय मिलाउन तम्तयार हुन्छन् । देशको एक मात्र विमानस्थल, जहाँबाट जस्ता मान्छे पनि छिर्न र निस्कन सक्छन्, त्यति संवेदनशील ठाउँमा बेला–बखत डाउन भइरहने सफ्टवेयर किन राखिन्छ ? 

त्यस्तै, थाई एयरलाइन्सको उडान हुँदै अमेरिकाबाट आएका एक नेपालीको चारवटा लगेज फुटेपछि प्रहरीले नेपाल वायुसेवाका एकजना लोडरलाई पक्राउ गरेको छ । ती लोडर सोमबारसम्म प्रहरी हिरासतमै थिए । यसरी विदेशबाट आउने यात्रुको सामान चोर्ने, लुकाउने, लगेज फोडेर बहुमूल्य सामान गायव पार्नेसम्मको लाजमर्दो धन्दा नेपालकै एयरपोर्टमा चल्ने गरेको छ । 

टिप्पणीहरू