​प्रमको जिल्लामा यतिसम्म पेलाइ

स्वर्गवासी कांग्रेसका बौद्धिक नेता चक्रप्रसाद बाँस्तोलासँग झापामा चुनाव भिडेका युक्तप्रसाद भेटवाल अहिले कहाँ छन् धेरैलाई थाहा छैन । मात्र २५ भोटले हारेका भेटवालले पुनः मतगणना गर्न दिएको मुद्दाको आजसम्म छिनोफानो भएको छैन । 

मेचीनगरका विष्णु प्रसाईं जिल्ला विकास समितिका उपसभापति थिए । बीचैमा राजीनामा गराएर सांसदमा उठाइयो । विचराको दुवै पद गुम्यो । त्यसपछि कुनै राम्रो पद पाउन सकेनन् । स्थानीय तह चुनावमा मेचीनगरबाट मेयरको टिकट पाए पनि जित्न सकेनन् । 

त्यो ठाउँमा अहिले प्रदेश सांसद बनेका गोपाल बुढाथोकीलाई दिएको भए सजिलै जितिन्थ्यो भन्नेहरू हुँदाहुँदै पनि प्रसार्इंले केपी ओलीसामु पुगेर मेयर नपाए आत्महत्या गर्ने धम्की दिएका थिए भन्नेहरू प्रशस्त छन् । त्यस्तै पीडामा छन्, कुनै दिन गुठी संस्थानको जीएम रहेका पुराना नेता कुन्दन भट्टराई । ०५४ सालमै अर्जुनधारा गाविस अध्यक्ष चलाइसकेका उनलाई जिल्ला समन्वय समितिको सभापति बनाउने गरी वडा नं ५ को सदस्यमा जिताइयो । तर, रातारात सोमनाथ पोर्तेललाई सभापति बनाइयो । आज भट्टराई बेरोजगार छन् ।

गुटका कारण पुरानालाई धेरै पछाडि पार्नेदेखि कहिल्यै भेट्न नसक्ने गरी पछार्ने खेल पुरानै हो । र, नयाँलाई एकाएक पर्दा अगाडि ल्याएर बलियो भूमिका दिने प्रचलन पनि देखिएकै हो । प्रधानमन्त्रीको जिल्ला मात्र होइन, ०२८ सालमा वर्गशत्रु खत्तम संघर्ष थाल्ने ठाउँमा उहाँसँगै १७ वर्ष जेल बसेकाहरूको हालत हेर्दा हुन्छ । दुर्गा अधिकारीदेखि मानकुमार तामाङहरूको घरको अवस्था हेरे पुग्छ । 

नेकपा झापाको अध्यक्ष बनाइएका चिन्तन पाठकलाई सचिव बनाउने पूर्वसांसद रविन कोइरालालाई गत चुनावमा टिकट नदिने खेलले काम गरेरै छाड्यो । अन्ततः उनलाई उनै विष्णु प्रसाईंलाई असहयोग गरेको आरोप लाग्यो । त्यो ठाउँमा माओवादीबाट राम कार्कीले टिकट पाए र जितेर देखाइदिए । यता, संसदीय पोल्टिक्स मात्र होइन, पार्टी सञ्चालनको गति पनि उस्तै छ । तैपनि, कतिपय उस्तै मान्छेले तेह¥याएर ठाउँ पाइरहेका छन् । कतिपय शिक्षकले कार्यालयको जिम्मेवारी मात्र पाएका छैनन्, सचिवालयसम्म पड्काएका छन् । 

झापाबाट कम्युनिष्टको बीज जोगाउने दीपक कार्कीले पार्टी अध्यक्षता गर्ने चाहना राखेको धेरै वर्ष भइसक्यो । तल नमिले पनि माथि पुग्ने ठाउँ एउटै हुँदा चिन्तन र दीपकको लडाइँले धेरैलाई सास्ती दिइरहेको छ । त्यसभन्दा माथिको अवस्था पनि उस्तै छ । हाल नेकपाको प्रदेश १ का अध्यक्ष देवराज घिमिरे र कुनै बेला प्रधानमन्त्रीको सचिवालयमा रहेका देवेन्द्र दाहालदेखि प्रदेशमन्त्री हिक्मत कार्की र दीपकहरूको तानातानले पार्टीको काम कहाँनेर भइरहेको छ भनेर खोज्नुपर्ने हुन्छ । 

समस्या पार्टीभित्र मात्र देखिँदैन । जनप्रतिनिधिहरूको हालत पनि उस्तै छ । केहीबाहेक कोही पनि नरहने भए, सबै सकिने भए भन्ने चिन्ताले सताउन थालेको बजारिया हल्ला ब्यापक छ । जस्तो ः अर्जुनधारा नगरपालिका प्रमुख हरिकुमार रानाले टेण्डर नगरी खोला ठेक्का लगाएको कुरा पार्टीभित्रै प्रवेश भए पनि कुनै निक्र्याेल निस्किएको सुनिएको छैन । आज आएर ती खोला ठेकेदारले ठेक्कामा बुझाइएको रकम फिर्ता मागेर पत्रकार सम्मेलन नै गरेपछि यो प्रकरण सतहमा आएको छ । 

नेपालकै जनसंख्याको आधारमा सबैभन्दा ठूलो मेचीनगरको हालत थाहा पाउनेहरू मुख थुनेर हिँडिरहेका छन् । तिनै विष्णु प्रसाईंलाई हराएर मेयर बनेका कांग्रेसका विमल आचार्यले नेकपा नेतालाई दिने गरेको काम र त्यो काममा लोभिनेहरूको छानबिन गर्ने तयारी शुरु भएको सुनिन्छ । दलित विद्यार्थी नेताको हैसियतले नगर कार्यपालिका सदस्य बनेका टीकाराम मग्रातीलाई मेयरले दलितको विषयमा डकुमेन्ट्री बनाउन रकम दिए । तर, मंग्रातीले एउटा गीतमा मोडलिङ गरेर आपूmलाई हिरो बनाउन खोजे ।

पार्टीमा कसैको निकट हुनु र कसैका लागि विकट हुनु पनि गजबकै हुन्छ । यो रोग नेकपालाई मात्र लाग्छ र ? झापा हो, झापा । यहाँका रूख बुट्टाले पनि शीर्ष नेतालाई चिन्छन् । यो चिनजानको फाइदा लिनेमा मान्छे न हो, लागिहाल्छ । 

शेरबहादुर देउवाले प्रवक्ता बनाएपछि पार्टीको भूमिकामा रहे पनि विश्वप्रकाश शर्मालाई एउटा अवसर भने गुमेको छ । त्यो हो, उनले जित्न नसकेको झापा कांग्रेसका सभापति उद्धव थापाले भर्खरै विभाग गठन गर्नु । तर, सबैजसो सिटौला प्यानलका मात्र परे । जिल्ला सचिवले सीधै आपत्ति जनाए पनि केही फरक परेको छैन । शर्माकै नगरका सचिवले पार्टीमा उजुर गरे पनि उनले केही गर्न नसकेको कांग्रेसजनमा चर्चा छ ।

टिप्पणीहरू