विदेशीसँग खेलेर, बूढालाई पेलेर

एउटा संस्था बन्नु, भत्किनु टिम वर्क र सहकर्मीप्रति नेतृत्वको सहिष्णुतामा पनि भर पर्दछ । सानो उदाहरण हेरौँ, नेपाल वायुसेवा निगम किन आज टाट पल्टिने स्थितिमा पुग्यो  ?

कुनै जमानामा बोइङ क्याप्टेन र निगमको प्रबन्ध निर्देशक नै भएका केबी लिम्बूको कथा हो यो । वर्षौंअगाडि उनले जहाज उडाउन छोडेका हुन् । तर, एकदिन त्यसबेलाका सात जना क्याप्टेनसहित पुगेर नेतृत्वसमक्ष एउटा प्रस्ताव राखे– ‘हामीलाई पाँच वर्षसम्म नोकरीको ग्यारेण्टी देऊ । हामी बोइङका पाइलट हौँ । आफ्नै खर्चमा एयरबसको तालिम लिन्छौँ र त्यो जहाज उडाउँछौँ । विदेशीलाई हायर गर्नुपर्ने र १७ लाखसम्म तलब दिएर राख्नुपर्ने अवस्थाबाट यसरी हामी मुक्त हुनसक्छौँ ।’ तर, नेतृत्वलाई लाग्यो, ‘यिनीहरु आए भने हामीलाई विस्थापित गर्छन् । उनीहरु जान्ने–सुन्ने हुन्छन् ।’ 

यो उमेरमा विदेश गएर धेरै पैसा त कमाई होला तर मनको शान्ति भने मिल्दैन । त्यसैले केबी लिम्बू डेढ सय यात्रु बोक्ने ठूलो जहाजको ककपिट छाडेर चीनले दिएको १७ सीटे वाई १२ जहाज उडाउने तालिममा खुम्चिन बाध्य छन् । त्यसका एक मात्र इन्स्ट्रक्टर पाइलट आङनुरी शेर्पा हुन् । केबीलाई भनियो, ‘एयरबस उडायो भने डेढ लाख पाउँछौं, वाई १२ उडायौ भने सात लाख ।’ फिजियो नेपाली नामक पुराना अर्का पाइलट छन्, जसले सीता एयर चलाए र एक मात्र छोरालाई समेत गुमाए । उनी पनि यही तालिम लिँदैछन् । वाई १२ त्यो जहाज हो, जसलाई इण्डोनेशियाबाट आएका इन्स्ट्रक्टर पाइलटले ‘म भैरहवा जान्छु, विराटनगर जान्छु तर लुक्लालगायतका पहाडी भूभागमा उडाउनै सक्दिनँ’ भनेर टक्टकिएका थिए । १७ लाख तलब खान्थे । उनलाई पालिराखेको नेपाल वायुसेवा निगमले आफ्नै उत्पादनका पाइलटलाई सुख्खा तलबमा खुम्च्याउने, काम नदिने, चारवटा त्यस्ता जहाज ग्राउण्डेड गरेर राख्ने भएपछि केबी लिम्बूहरु त्यसलाई थन्क्याउनुको सट्टा उपयोग गर्नुपर्छ भन्दै मन मिचेर तालिममा खटिएका हुन् । 

देशमा थुप्रै प्राविधिक दक्षतायुक्त जनशक्ति छ । देश बनाउने कुरामा सबैको साझेदारी हुनुपर्ने हो । तर, हामी अहिले विदेशी पाइलट हायर गरेर आफ्ना पाइलटको उपेक्षा गरिरहेका छौँ । विदेशीलाई १७ र २० लाख तलबमा पल्काइरहेका छौँ । आङनुरी शेर्पालाई पनि बेलाबेला तर्साइन्छ, ‘तँ अमेरिकाको ग्रीनकार्ड होल्डर, चाइनिज जहाज उडाउँदैछस्, तेरो ग्रीनकार्ड उडाइदिऊँ !’ त्यसपछि एक सर्को सिगरेट तान्छन् र फर्किएर भन्छन्, ‘लौ, म छोड्छु…!’ उनले राजीनामा दिन्छु भन्दै विरक्ति पोखेको १७ पटक भइसक्यो । 

त्यस्तै, आइकाओले नेपालको जहाजलाई युरोपेली आकाशमा प्रतिबन्ध लगाउनुको पछाडि चीनसँगको हाम्रो सामीप्यताले पनि काम गरेको बताइन्छ । एम १६ देखि वाई १२ लगायतको जहाज ल्याएकोमा उनीहरुलाई रिस उठेको छ । फेरि चिनियाँ जहाजहरुको इन्स्योरेन्स गर्न एकदमै मुस्किल हुने । एउटा किन्दा अर्को सित्तैमा दिनेखालको अफर ल्याउँछन् । एकातिर ‘किनाउने हैन भिडाउने’ प्रवृत्ति, अर्कातिर पार्टस्हरु अत्यन्तै महँगा ! झण्डै–झण्डै तीन सय यात्रु बोक्ने एयरबसको एउटा अक्सिजन सिलिण्डरको १७ सय डलर पर्छ जबकि एम १६ को २८ हजार डलर । नत्र, फ्रान्समा बनेको एयरबस हामीसँग चारवटा छ । तर, तिनीहरु जहाँ बनेको हो, त्यहीँ जान पाउँदैनन् ।

नेपाल वायुसेवालाई उँभो लगाउने हो भने गर्नुपर्ने काम धेरै छन् । अहिले नेवानिले सरकारसँग २० अर्ब ऋण मागिरहेको छ । सँगै खुलेको थाई एयर कहाँ पुगिसक्यो, नेवानि झन् ओह्रालो लाग्दैछ । केही गरौँ भनी फर्किएर आएको बूढा पुस्तालाई चाहिँ नेवानिले निरुत्साहित गर्दै छ ।

टिप्पणीहरू