​अन्तबाट समेत आमन्त्रण

देशमा स्थिर सरकार हुनुको अर्को फाइदा हो, बाक्लो विदेश आवतजावत । भर्खरै प्रधानमन्त्रीले बेलायत, फ्रान्स र फेरि स्वीटजरल्याण्डको भ्रमण गर्नुभयो । नत्र, यसअघिका प्रधानमन्त्रीहरु भारत–चीनको तानातान चल्दाचल्दै पद सकिएर घर जान्थे । अहिले फेरि सम्माननीय राष्ट्रपतिले ३९ वर्षपछि अर्को देशमा पाइला हाल्दै हुनुहुन्छ । 

राष्ट्रपति विद्यादेवी भण्डारी चारदिने औपचारिक भ्रमणको सिलसिलामा दशैं आसपास अक्टोबर महिना लागेपछि म्यानमार प्रस्थान गर्ने तयारी छ । यसअघि सन् १९८० मा तत्कालिन राजा वीरेन्द्रले तत्कालिन बर्मा (हालःम्यानमार) को राजकीय भ्रमण गरेका थिए । त्यहाँ प्रथम र दोस्रो विश्वयुद्धमा अंग्रेजसँग मिलेर गोर्खाली फौजले जापानीविरुद्ध लडेका थिए । अहिले पनि म्यानमारमा अढाई लाख नेपालीको घरबास छ ।

केही वर्ष अगाडि नै राजधानी न्यापितो सरिसके पनि याँगुन शहरमा नेपालको र भैंसेपाटी उकालोमा म्यानमारको दूतावास छ । हिन्दू तथा बुद्ध धार्मिक मान्यतामा विश्वास राख्ने दुवै देशका मानिसको सामाजिक संरचना झण्डै उस्तै हो । तर, भारत र चीनको अलमलका कारण यताबाट उच्चस्तरीय भ्रमण भइरहेको थिएन । ०७२ वैशाखमा तत्कालिन प्रधानमन्त्री सुशील कोइराला म्यानमार पुग्नुभएको थियो, तर त्यो बिमस्टेक सम्मेलनका क्रममा नेपालले ग्रहण गरेको अध्यक्ष पद हस्तान्तरण गर्नका निम्ति थियो ।

यसचोटि राष्ट्रपति भण्डारी उताउतै जापानका १२६ औँ नयाँ सम्राट नारुहितोको राज्याभिषेकमा जाने हुनुभएको छ । वि.सं. २०४४ मा नेपाल भ्रमण गरिसकेका नारुहितोले अप्रिल ३०, अर्थात् वैशाख १७ गते राजगद्दी सम्हालेका थिए । दोस्रो विश्वयुद्धपछि जन्मिएका सम्राट नारुहितोलाई त्यसदिन ‘क्रिसेन्थिमम थ्रोन’ नाम दिइएको र विशिष्ट रुपमा सजाइएको राजगद्दीमा राखिएको थियो ।

टिप्पणीहरू