बाइसचोटि उहाँ विदेशतिर

आवत–जावतको शैली र राहदानीको स्थितिले आशंका जन्माउँछ कि अस्ति मात्रै फर्केकी श्रीमती प्रभासँग यदि अमेरिकी ग्रिनकार्ड छ भने यो नाताले पतिलाई समेत भिसा नलाग्ने पृष्ठभूमिबीच थाहा पाएर वा नपाएर हो, फेरि उनैलाई राजदूत बनाएर किन विदेश पठाइँदै छ ।

एउटा सार्वभौम राष्ट्रले कुनै व्यक्तिको नागरिकतामा प्रश्न उठेपछि छानबिन नगरी दूत बनाउला कि नबनाउला ? ट्र्याक रेकर्ड हेर्दा उनीसँग ६–६ महिनामा नेपाल छाड्नुपर्ने बाध्यता छ । महेशराज दाहाल  मन्त्रिपरिषद्को जेठ २३ गतेको निर्णयअनुसार अष्ट्रेलियाका लागि नेपाली राजदूतमा सिफारिस भएका छन् । जनआस्थाले फेला पारेको अध्यागमन विवरणमा उनी ६ महिना नगुजार्दैै विदेश उडेको र सन २०१५ देखि २२ चोटि बाहिरिएको प्रमाण भेटिन्छ । देखिने गरी अमेरिकामा कुनै व्यवसाय वा आफन्त छैनन्, जसका लागि ६–६ महिनामा  ‘इन्ट्री रेकर्ड’ राख्नु परोस् । बरु, प्रावधानअनुसार, कोही व्यक्ति ग्रीनकार्ड होल्डर छ भने, ऊ जहाँ भए पनि कम्तीमा ६ महिनाको एकचोटि अमेरिका प्रवेश गरेकै हुनुपर्छ ।    
अहिलेकै सरकारका संघीय मामिला, स्थानीय विकास तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित केपी ओली सरकारको अघिल्लो कार्यकालमा मन्त्री रहँदा अष्ट्रेलियाको आवासीय कार्ड (पिआर) लिएकै नाममा सहसचिव भरत सुवेदी सेकिनुसम्म सेकिए । सञ्चार मन्त्रालयका सहसचिव उमाकान्त पराजुलीबाट न्युजिल्याण्डको पिआरधारी भन्दै राजीनामा लिइयो । यसरी विदेशी पिआर वा ग्रीनकार्ड लिएका कर्मचारीलाई खोजी–खोजी कारवाही गरियो । त्यस्ता व्यक्तिलाई देशघाती भन्दै उछित्तो काढियो । तर, अहिले त्यही मामिलामा शंकाको घेरामा तानिएका व्यक्ति राजदूत भएर अर्को देशमा जाँदैछन् । आफ्नो देशको कानुनविपरीत चल्ने शंकास्पद व्यक्तिले मौका पाउँदा देशप्रति नै घात गर्दैनन् भन्ने के ग्यारेण्टी छ ? नेपाल टेलिभिजनको अध्यक्षका हैसियतले त चीन, फिजी, सिंगापुर गए होलान्, पत्नी भेट्न चारचोटि अमेरिका र बहिनीज्वाइँ भेट्न सन् २०१५ देखि यता दुईचोटि अष्ट्रेलिया पनि पसे होलान् । 

त्यसो त राजदूतको पद सिफारिस वा नियुक्त गर्ने देशले चाहेरमात्र अनुमोदित हुने होइन, सम्बन्धित देशले एग्रिमो (स्वीकारपत्र) पनि पठाउनुपर्छ । नेपाल सरकारले राजदूत सिफारिस र नियुक्ति दिएका कतिपय व्यक्ति सम्बन्धित देशबाट रिजेक्टेड भएका विभिन्न उदाहरण छन् । जस्तो कि, ०६५ सालमा गठित प्रचण्ड नेतृत्वको सरकारका परराष्ट्रमन्त्री उपेन्द्र यादवले अमेरिकाको वासिङ्गटन एरियाका बासिन्दा सुखदेव साहलाई राजदूत नियुक्त गर्न खोज्दा अमेरिकाले स्वीकारेन । लामो समय पद रिक्त भएपछि राष्ट्रिय योजना आयोगको उपाध्यक्ष रहिसकेका डा.शंकर शर्मा नेपाली कांग्रेसको कोटामा राजदूत नियुक्त भए । पूर्वसञ्चार मन्त्री राम कार्की (पार्थ) लाई पनि फ्रान्स र भारतका लागि राजदूत नियुक्त गरियो । तर, ती देशले एग्रिमो दिएनन् । त्यसपछि प्रचण्डले १२ कक्षासम्म पढाउने हेडसर चन्द्रकान्त पौडेललाई भारत पठाउन खोजे । तर, गुरुको पनि एग्रिमो आएन । नेकपा नेतृ पम्फा भुषाल फ्रान्सका लागि राजदूत सिफारिसमा परिन् । फेरि उताबाट एग्रिमो आएन । उपेन्द्र यादवले रामस्वार्थ रायलाई संयुक्त अधिराज्य (बेलायत) का लागि राजदूत सिफारिस गरे, अर्को सरकारले नियुक्ति दिएन ।

नेपाली कांग्रेसको सरकार छँदा कांग्रेसकै तर्फबाट नेपाल टेलिभिजनको अध्यक्ष बनेका महेशराज दाहाल नाटकीय पाराले नेकपा बनेलगत्तै अध्यक्ष प्रचण्डको कोटामा परेर अष्ट्रेलियाको लागि राजदूत सिफारिस भएका हुन् । 

यस्तै बहसका बीच उनले पत्नी प्रभालाई अस्ति अमेरिकाबाट स्वदेश फर्काएका छन् । भन्छन्, ‘उनी वर्किङ भिसाअन्तर्गत नर्सिङ पढ्दै थिइन् । अमेरिका मेरोनिम्ति नयाँ देश हैन । सन् २००१ देखि नै त्यता जान थालेको हुँ । फिजी जाँदा बहिनी र ज्वाइँ भेट्न अष्ट्रेलिया पनि दोस्रोपटक छिरेकै हुँ ।’ उता नुवाकोटकी नेकपा नेतृ उषाकिरण तिमल्सिनाका अनुसार यी दाहालजी केही समयअगाडि भेट हुँदा क्यानाडाको पिआर लिने प्रोसेसमा छु भन्दथे ।

टिप्पणीहरू