कम्युनिष्ट नेताका रोमाञ्चक प्रेमिल कथा
- राजेन्द्र स्थापित
नताली रिभुयल्टाको जन्म क्युबाको राजधानी हभानामा भयो । बाजे इञ्जिनियर । बेलायतका । पछि क्युबा पुगेका । नताली जन्मेको केही समयपछि आमाबाबुको सम्बन्ध बिच्छेद भयो । प्रारम्भिक शिक्षा आमा नातिकाबाट पाइन् । १० वर्षको हुँदानहुँदै आमा अर्कैसँग हिँडिन् । नतालीका सौतेला बाबु हभानास्थित अमेरिकी इलेक्ट्रिक कम्पनीमा हाकिम थिए । त्यसैले उनी अमेरिकी स्कुल सेन्ट जोसेफमा भर्ना भइन् । पछि अमेरिकाको पेन्सिलभानिया र वासिंगटनको कलेजमा पढिन् ।
स्वदेश फर्किंदा १९ वर्षको भइसकेकी थिइन् । शुरुमा अमेरिकी दूतावास र पछि तेल कम्पनीमा काम गरिन् । २२ वर्षको उमेरमा आफूभन्दा २० वर्ष जेठो हृदयचिकित्सक ओर्लान्डो फर्नान्डेजसित बिहे गरिन् । छोरी नीनाको जन्मपछि हभाना क्लब जान र बिलियार्ड, टेनिस खेल्न थालिन् । केही समयमै मन ओर्लान्डोबाट विरक्तियो । र, सनातन (अर्थडक्स) पार्टीको सदस्यता लिइन् । उक्त पार्टीले विशेषतः सामाजिक न्यायको कुरा उठाउँथ्यो । त्यसबेलासम्म फिडेल क्यास्त्रो पनि त्यही पार्टीमा थिए । उनी पार्टीभित्रै रहेर निरंकुश बाटिस्टा सरकार र अमेरिकाको विरोध गर्थे ।
पार्टी कामकै सिलसिलामा यी दुईको पहिलो भेट हभाना विश्वविद्यालयमा भयो । त्यहाँ सन् १८७१ मा स्पेनिस औपनिवेशिक सरकारले क्युबाली छात्रछात्राको आमहत्या गरेको घटनाको संस्मरण कार्यक्रम आयोजना गरिएको थियो । क्यास्त्रोको भाषण सुनेपछि नातालीले फुल्गेन्सियो बाटिस्टाविरोधी आन्दोलनमा सरिक हुने निधो गरिन् । कैलो–पहेंलो कपाल, ठूलो हरियो आँखा र बान्की मिलेको शरीर देखेर क्यास्त्रो मोहित बने । त्यसो त क्यास्त्रो विवाहित थिए, मिर्ता डियाज बार्ताको पति । क्यास्त्रो र नातालीको परिचय आदान–प्रदान उनीहरुका एकजना मित्रबाट भयो । केही दिनपछि पुनः भेट भयो । छुट्टिने बेलामा परिचय गराइदिने उनै मित्रले नातालीसमक्ष प्रस्ताव राखे, ‘तिमीलाई आपत्ति हुँदैन भने क्यास्त्रोले घरसम्म छोडिदिन्छन् ।’
नातालीले प्रस्तावलाई सहज रुपमा लिइन् र भनिन्, ‘अवश्य, मलाई कुनै अप्ठेरो हुने छैन ।’ साथै उनले आमन्त्रण गर्ने शैलीमा यो पनि भनिन्, ‘म प्रायः ५ बजेपछि घरमै हुन्छु ।’
यसपछिका दिनमा नातालीको घर सरकारविरोधी युवाको जमघट हुने अखडा बन्यो । त्यहाँ फिडेल र उनका भाइ राउललगायत युवा जम्मा हुन्थे र बाटिस्टा सरकारलाई उखेलेर फ्याँक्ने योजना बन्थ्यो । नाताली आफैं पनि फिडेलहरुको योजनामा सामेल भइसकेकी थिइन् । क्रान्ति हुन्छ भने आफ्नो सर्वश्व सुम्पन तयार हुने वचनसमेत दिइन् । नभन्दै भएभरका गहना र नगद (६ हजार) पेसो संगठनलाई सुम्पिइन् । दिनरात खटिएर क्रान्तिकारीको लागि पोशाक सिलाइन् । क्यास्त्रोको योजना सबै पत्रिकाको कार्यालयमा गई प्रचारप्रसार गरिदिन आग्रह गरिन् । यसबीच उनीहरु एकापसमा नजिकिइसकेका थिए । स्मरणीय छ, नाताली क्यास्त्रोभन्दा एक वर्षले जेठी थिइन् ।
योजनाअनुरुप क्यास्त्रोको नेतृत्वमा सन् १९५३ को जुलाई २६ मा मोन्काडो सैन्य छाउनीमा आक्रमण भयो । क्यास्त्रोले यो आक्रमणको लागि हतियार संकलन गर्नेदेखि सैन्य तालिमसमेतको व्यवस्था गरेका थिए । आक्रमणमा कूल १ सय ६५ जना संलग्न थिए । छाउनीमाथि आक्रमण गर्नुअघि नै खतराको साइरन बज्यो । तत्काल ४ जना क्रान्तिकारी मारिए । लगत्तै क्रान्तिकारी समूहले गोली र बम हान्न थाल्यो । दोहोरो भिडन्त भयो । क्रान्तिकारीतर्फ थप १९ जना मारिए । २७ जना घाइते भए । अन्य पक्राउ परे । २२ जनालाई मुद्दा नै नचलाइकन फाँसी दिइयो । ५५ जनामाथि अदालतमा मुद्दा चलाइयो । कसैले ७ महिना त कसैले १३ वर्षको कैद सजायँ पाए भने क्यास्त्रोलाई १५ वर्षे कैद तोकियो । जेलभित्र क्यास्त्रोले नयाँ संगठन बनाए, ‘२६ जुलाई अभियान ।’ उनले कार्ल माक्र्स, एंगेल्स, लेनिन, होजे मार्टीलगायतका जीवनी र दर्शन तथा रुसी साहित्यकारहरुको पुस्तक अध्ययन गर्न थाले ।
यसबीच क्यास्त्रोकी पत्नी मिर्ताले गृह मन्त्रालयमा जागिर खाइन् । यो सूचनाबाट जेलभित्र बसिरहेका क्यास्त्रो मर्माहत भए । उनले साथीहरुलाई भने, ‘म हजारपटक मर्न सक्छु तर यस्तो बदनामी सहन सक्दिनँ ।’
मिर्ताको उक्त कदमपछि क्यास्त्रो उनीदेखि टाढिँदै गए । र, नातालीसँग पहिलाभन्दा बढी नजिकिए । उनीहरुले घनिभूत रुपमा प्रेमपत्रहरु आदानप्रदान गर्न थाले । एउटा पत्रमा क्यास्त्रोले लेखे, ‘म आगोमा जलिरहेको छु, मलाई पत्र लेख्ने गर । तिम्रो पत्रबिना जिउन गाह्रो छ । म तिमीलाई धेरै माया गर्छु ।’ कुनैमा उनले ‘मेरी प्यारी नाती (नाताली)’ त कुनैमा ‘अरुसित तुलनै नहुने मेरी नाती’, कुनैमा ‘मेरी साहसी नाती’ भनेर संबोधन गर्थे । नतालीले पनि पत्रको जवाफ प्रेमवाचक शब्दमा दिन्थिन् । उनले एउटा पत्रमा लेखिन्, ‘जेलमा बस्न थालेदेखि तिमी कवि बन्यौ, शब्दमा खेल्न जान्यौ, मनोविज्ञ बन्यौ ।’ स्मरणीय छ, नतालीले प्रायः पत्रमा कविता लेख्थिन् र क्यास्त्रोले पनि विस्तारै–विस्तारै कवितामै प्रत्युत्तर दिन थालेका थिए ।
त्यसो त नताली जेलमा बसेका आफ्ना प्रेमीलाई मन पर्ने राजनीतिक दर्शन र साहित्यका पुस्तकहरु किनेर लगिदिन्थिन् र पुस्तक फर्काउने नाउँमा क्यास्त्रोले त्यसभित्र प्रेमपत्र लुकाएर दिन्थे । एकपटक एउटा पत्र जेल प्रशासनको हातमा प¥यो । जेलरले सो पत्र मिर्तालाई दिए । क्यास्त्रोले नतालीलाई लेखेको पत्र पढेपछि मिर्ता आगो बनिन् । जेलमै गएर लोग्नेसँग झगडा गरिन् । सोही पत्रको कारण लोग्ने–स्वास्नीबीच कटुता बढ्दै गयो र सन् १९५४ मा सम्बन्धविच्छेद भयो । त्यसबखत मिर्ता छोरा फिडेलिटोको आमा थिइन् ।
सन् १९५५ मा धेरै कैदीले आममाफी पाए । क्यास्त्रोलगायत थुप्रै कम्युनिष्ट रिहा भए । क्यास्त्रो र नतालीको सम्बन्ध प्रगाढ बन्दै गयो । नाताली गर्भवतीसमेत भइन् तर यो कुरा क्यास्त्रोलाई भनिनन् । यसबीच बाटिस्टा सरकारले विरोधीहरुमाथि चर्को दमन शुरु ग¥यो । क्यास्त्रोहरु भूमिगत भए र देशभित्रै बसेर क्रान्ति सम्पन्न गर्न सम्भव नदेखेपछि मेक्सिको भागे । त्यहीं क्यास्त्रो र चे ग्वेभाराको भेट भयो । उनीहरुले मिलेर संगठन सुदृढ पारे । सेना बनाए । हतियार संकलन गरे । क्यास्त्रोले उतै बसेर नतालीलाई बोलाए र बिहे गर्ने योजना सुनाए । तर नतालीले क्युबा छाड्न मानिनन् । यसबीच उनले क्यास्त्रो र आफ्नो प्रेमको निशानी छोरी (एलिना) लाई जन्म दिइन् ।
एलिना जन्मेको ६ महिनापछि क्यास्त्रो र उनका साथीहरु समुद्री मार्ग हुँदै गुप्तरुपमा स्वदेश फर्के । सियरा मायस्त्राको पहाडमा बसेर राजधानी हभानामाथि निर्णायक हमला गर्ने योजना र तयारीमा लागे । क्यास्त्रोले आफ्नी छोरी एलिनालाई चिन्न सकेनन् । कारण थियो, नतालीले एलिनाको नाउँको पछाडि लोग्नेको थर फर्नान्डेज झुन्ड्याइदिनु । क्यास्त्रोले एलिनालाई १२ वर्षको भएपछि मात्र चिनेका थिए । ‘२६ जुलाई अभियान’का क्रान्तिकारीहरुले सन् १९५९ मा निर्णायक आक्रमण गरे । हभानामाथि कब्जा जमाएपछि बाटिस्टा देशै छाडेर भागे । क्यास्त्रो क्रान्तिकारी सरकारको प्रमुख बने । नताली प्रथम महिला बन्ने तयारीमा लागिन् तर केही कुरामा मतभेद सिर्जना भएपछि क्यास्त्रोले उनलाई अलि टाढै राखे । मतभेदको बाबजुद नतालीले भने क्रान्ति र क्यास्त्रोको सरकारलाई समर्थन गर्न छाडिनन् । प्रतिबद्ध क्रान्तिकारीको भूमिका निभाउँदै गइन् । कहिल्यै क्यास्त्रो र उनको सरकारको आलोचना गरिनन् । यहाँसम्म कि नयाँ सरकारले उनको घर पनि राष्ट्रियरण ग¥यो तर विरोध गरिनन् ।
नताली फ्रान्स गई बसिन् तर दुई वर्षपछि पुनः स्वदेश फर्किइन् । विभिन्न सरकारी पदमा बसेर काम गरिन् । सन् १९८० मा सरकारी सेवाबाट निवृत्त भइन् । अनि कला प्रदर्शनी र नाट्य क्षेत्रमा लागिन्् । पतिसितको सम्बन्ध त सन् १९५९ मै अन्त्य गरिसकेकी थिइन् । उता, नतालीसितको सम्बन्धबाट टाढा हुँदै गएपछि क्यास्त्रो डालिया सोतो डेल भाल्लेसँग नजिक हुन पुगे । डालिया पेशाले शिक्षक हुन् । क्यास्त्रो र उनको भेट ६० को दशकमा पौडी खेल्ने क्रममा भएको थियो । डालियासँग क्यास्त्रोले सन् १९८० मा मात्र बिहे गरे । डालिया पाँच सन्तानको आमा बनिन् ।
क्यास्त्रो र नतालीको सम्बन्ध त्यतिखेर बिग्रियो, जब उनीहरुकी छोरी एलिना सन् १९९३ मा नक्कली पासपोर्ट र नक्कली कपाल लगाएर क्युबाबाट पलायन भइन् । उनी स्पेन गइन् र पछि अमेरिकाको मायामी गई बसिन् । उनले त्यतै बसेर त्यहाँ स्थापित प्रवासी क्युबालीहरुको रेडियोमार्फत क्युबाली सरकारको खोइरो खन्न थालिन् । एलिनालाई क्यास्त्रोले एलिना क्यास्त्रो बन्न सुझाएका थिए तर उनले ठाडै अस्वीकार गरेकी थिइन् । उनी २१ वर्षपछि स्वदेश फर्किइन्, जब नताली सख्त बिरामी भई अस्पताल भर्ना भइन्, नतालीको निधन ८९ वर्षको उमेरमा सन् २०१५ को फेबु्रअरीमा भयो, हभानामै । क्यास्त्रोको निधन पनि सन् २०१६ मा भइसकेको छ । नतालीकी छोरी एलिना यतिखेर मायामीमा छिन् भने अर्की छोरी (जेठी) नीना भर्जिनियामा । क्यास्त्रोकी दोस्री पत्नी डालिया हभानामै बस्छिन् । फिडेलका जेठा छोरा फिडेलिटोले सन् २०१८ मा आत्महत्या गरे । आणविक वैज्ञानिक उनी ६८ वर्षका थिए ।
स्मरणीय छ, क्यास्त्रो सन् १९५९ देखि १९७६ सम्म प्रधानमन्त्री र सन् १९७६ देखि २००८ सम्म राष्ट्रपतिको हैसियतमा थिए । अमेरिकाको कटु आलोचक उनको ज्यान लिन अमेरिकी गुप्तचर संस्था सीआईएले ६ सय ३० पटक प्रयास गरेको थियो ।
टिप्पणीहरू