रासायनिक मलको तुलनामा प्रांगारिक मल बढी प्रभावकारी

रासायनिक मलको तुलनामा प्रांगारिक मल बढी प्रभावकारी

कृषिबाली उत्पादनको निम्ति आवश्यक पर्ने मलमा प्रांगारिक मल, रासायनिक मल र जैविक मल मुख्य हुन् । नेपालमा रासायनिक मलको कारखाना नभएका कारण राज्यले अन्य मुलुकसँग रासायनिक मलको लागि सहकार्य गर्नु पर्ने बाध्यता छ । यति मात्रै होइन, करोडौं लगानी गरेर रासायनिक मल आयात गर्नुपरेको छ ।

यस्तै रासायनिक मलका लागि कृषकहरुले विभिन्न सिजनमा घण्टौं लाइन बस्नु पर्ने बाध्यता छ । नेपालमा नपाए जोखिम मोलेर भारतबाट खुल्ला नाकाको समेत प्रयोग गर्नु पर्ने बाध्यता छ । यस्ता विभिन्न कारणबाट रासायनिक मल कृषकहरुले समयमै पाउन नसकेको अवस्थामा प्रांगारिक मलको प्रयोग महत्वपूर्ण मानिन्छ । केही जिल्लामा किसानहरुले भकारो सुधार अभियान सञ्चालन गरी गुणस्तरीय प्रांगारिक मलखादको प्रयोेगबाट रासायनिक मलको प्रयोगलाई कम गरेका उदाहरणहरु पनि देखिएका छन् ।

के हो प्रांगारिक मल ?

प्रांगारिक मल पशुवस्तु र बाली विरुवाका झारपातबाट तयार पारिन्छ । हाम्रो देशमा तयार गरिने र प्रयोगमा ल्याइने प्रचलित प्रांगारिक मलहरुमा गोठेमल, कम्पोष्ट मल, हरियो मल आदि हुन् । विशेष गरी प्रांगारिक मलका स्रोतहरुमा गोबर, गहुँत, विरुवाको सढेगलेका अवशेष, कुखुराको सूली, घरको भान्साबाट फालिएका कुहिने वस्तु, खेतीपाती तथा वन्य वनस्पतिबाट प्रयोगमा आउने स्याउला, सोत्तर, हरियो मल, असुरो, खिर्रो, बास पात, तीतेपाती, दालको जरा, गौ र जौका फोहोर आदी हुन् ।

राम्रोसँग तयार पारिएको गोठेमलमा नाइट्रोजन १ देखि १.५ प्रतिशत, ०.५ प्रतिशत फस्फोरस र ०.५ देखि १ प्रतिशत पोटास पाइन्छ । राम्रोसँग तयार गरेको कम्पोष्ट मलमा १ प्रतिशत नाइट्रोजन, ०.५ प्रतिशत फस्फोरस र १ प्रतिशत पोटास पाइन्छ । माटोको नाइट्रोजनस्तर बढाउने अर्को सरल उपाय भनेको धान रोप्नुभन्दा अगाडि दालजन्य बालीको खेती गर्नु हो । यी बालीको जराबाट वातावरणमा पाइने नाइट्रोजनलाई भण्डारण गरी माटोको गुणस्तरमा सुधार ल्याउन सकिन्छ ।

रोपाईं घि दालजन्य बालीको प्रयोगले २० देखि ३० प्रतिशतसम्म नाइट्रोजन माटोमा भण्डारण हुन्छ । यस्तै प्राप्त गाईबस्तुको गहुँतमा १५ देखि २० प्रतिशत नाइट्रोजन पाइन्छ । नेपालमा प्रांगारिक मलको उत्पादन र प्रयोगमा सुधार ल्याउन सकेमा रासायनिक मलको प्रयोगमा कमी ल्याउन सकिन्छ ।

गोठेमल र कम्पोष्ट मलको भण्डारणलाई घाम र भलपानीबाट बचाउनु पर्दछ । यो घामको रापमा उड्ने र माटोबाट चुहिएर जाने हुन्छ । भकारो सुधारको प्रविधि नेपालका सबै जिल्लामा पु¥याउन क्षेत्रीय माटो परीक्षण प्रयोगशाला र जिल्ला कृषि विकास कार्यालयहरुले भकारो सुधारका प्रदर्शनहरु पनि गर्दै आएका छन् ।

प्रांगारिक मलका फाइदाहरु

यसले माटोको बनावट र बनोटमा सुधार ल्याउँछ । जसबाट माटो खुकुलो भई खनजोतमा सहज हुन्छ । त्यसैगरी माटोमा सूक्ष्म जीवाणुको क्रियाकलाप बढ्छ । माटोको पानी धारण गर्ने क्षमतामा पनि स्वतः वृद्धि ल्याउँछ । यसबाट बाली विरुवालाई आवश्यक पर्ने मुख्य, सहायक र सूक्ष्म तत्वहरु उपलब्ध हुन्छन् ।

महंगो रासायनिक मलको खपत घटाई आर्थिक बचत गर्न सकिन्छ । माटोको उर्वराशक्तिलाई दिगो राख्न सकिन्छ । माटोका अन्य भौतिक गुणमा सुधार ल्याउन सकिन्छ । फोहरमैलालाई व्यवस्थित गरेर कम्पोष्ट मल बनाउनसके वातावरण सफासुग्घर हुनुका साथै रासायनिक मलको नकारात्मक प्रभावलाई समेत न्यून गर्न सकिन्छ ।

प्रांगारिक मलबारे विज्ञहरुको भनाइ

प्रांगारिक मललाई उद्योग, कारखानाभन्दा घरमै बनाउँदा सस्तो र प्रभावकारी हुने माटोविज्ञ यम गैरेले जानकारी दिनुभयो । उहाँका अनुसार मलको गुणस्तरका आधारमा प्रतिकेजी २५ देखि ४० रुपौयाँसम्ममा बिक्री हुने गरेको छ । यसलाई सुलभ बनाउनसके प्रत्येक कृषकले आ–आफ्नो घरमा जैविक विधि जस्तैः फोहोर, गाईगोरूको मल, गहुँत र बाख्राको खोर आदि घरेलु उपायबाट प्रांगारिक मल बनाउँछन् । आर्थिक हिसाले समेत यो निकै महत्वपूर्ण हुन्छ ।

प्रांगारिक मलमा न्युट्रेनको मात्रा कम भए पनि माटोका लागि आवश्यक जीवाणु प्रशस्त हुन्छन् । उर्वराशक्ति बढाउने भएकाले यसको प्रयोग बढाउन आवश्यक भएको विज्ञ गैरेको सुझाव छ । एक प्रतिशतमात्रै नाइट्रोजन हुने भएकाले प्रांगारिक मल माटोका लागि गुणस्तरीय मानिन्छ ।

नेपालमा रासायनिक मलको प्रमुख निर्यातकर्ता राष्ट्र भारत र नेपालमा एकै पटक मनसुन शुरु हुने कारणले गर्दा भारतले प्रचुरमात्रामा मल आयात गर्न सक्दैन । यसले नेपालमा वर्षेनी रोपाईंको समयमा मलको अभाव हुने गर्दछ । यो समस्याबाट पार पाउने मुख्य उपाय प्रांगारिक मलको प्रयोग नै हो ।

नेपाल पहाडी भूभाग भएको मुलुक भएकाले सरकारले कृषकलाई प्रोत्सानमूलक अभियानमार्फत् प्रांगारिक मल बनाउने तरिकालाई बृहत रुपमा अघि बढाउन आवश्यक छ । यतिमात्रै होइन यो अभियानमार्फत् कृषि क्षेत्रलाई थप फराकिलो समेत पार्न सकिन्छ ।

नेपालमा पछिल्लो समय किसानहरुको पशुपालनप्रति आकर्षण बढेको छ । पशुपालनलाई महत्व दिँदा त्यसबाट प्राप्त हुने गोबर, गहुँत आदिलाई कसरी व्यवस्थापन गर्ने भन्ने सम्बन्धमा पनि सरकारले उपयुक्त नीति बनाउन जरुरी देखिएको छ । यसलाई पनि कृषिको विकासमा प्राङ्गारिक मलको प्रयोगसँग जोड्न सकिन्छ ।

टिप्पणीहरू