​बलात्कार नै नहुने बस्ती

  • राजेन्द्र स्थापित

जुआ मा र ला त्सुओ जुम्ल्याहा दिदीबहिनी । तिब्बत र सिचुवाँसँग जोडिएको युन्नानको गाउँ काओहाइ । नजिकै लुगु ताल । त्यस भेगमा मोसुओ जातिका करिब ४० हजार चिनियाँ बस्छन् । जुआ मा र ला त्सुओको परिवार ठूलो छ । आह मी (बज्यै) परिवारकी हर्ताकर्ता हुन् । जुआ र त्सुओलाई आफ्नो बाबुको पत्तो छैन । बज्यै, आमा, सानीआमा, फुपूहरुको संरक्षणमा हुर्किएका उनीहरू तलसम्म लत्रिएको लुगा लगाउँथे । उनीहरु १३ वर्षको हुँदा परिवारका सबै सदस्य खुशी भए । सदस्यहरुबीच एउटा समारोहको आयोजना गरियो । जसमा जुआ र त्सुओले पहिलोपटक स्कर्ट पाए । स्कर्ट पाउनुको अर्थ अब उनीहरु वयस्क भए भन्ने हो । जुआले रातो र त्सुआले फिका नीलो रंगको स्कर्ट पाएका थिए भने भित्र लगाउन सेतो कट्टु । 

त्यसदिन सबैले मीठो–मीठो खानेकुरा खाए । नाचे, गाए, मनोरञ्जन गरे । उनीहरुले गाएको गीतको भाव यस्तो छ,

‘यहाँ धेरैभन्दा धेरै कुशल मानिस छन् तर
मेरी आमासित तुलना हुने कोही छैनन् ।
यहाँ ज्ञान र सीप भएका हजारौं छन्
यहाँ गाउन र नाच्न जान्ने हजारौं छन् तर
मेरी आमालाई जित्न सक्ने कोही छैनन् ।’

अर्को गीत :
‘पुरुष हामीभन्दा फरक भाषा बोल्छन्
हामी उनीहरुलाई मन पराउँछौं
हामीलाई उनीहरु चाहिन्छ पनि तर
हामी आफ्नो स्वतन्त्रतालाई अधिक महत्व दिन्छौं ।’

गीतले नै भन्छ, उनीहरुको समाज मातृसत्तात्मक हो । यौनसम्बन्ध र परिवार त चाहन्छन् तर आफ्नो अस्तित्व गुमाउन चाहँदैनन् । परिवारका सदस्य, इष्टमित्र, गाउँले, प्रेमी तथा लोग्नेलाई भन्दा आमालाई सर्वश्रेष्ठ मान्छन् । चलनअनुसार १३ वर्ष पुगेपछि युवतीहरुले रंगीचंगी स्कर्ट र युवकहरुले पाइन्ट लगाउन थाल्छन् । यसपछि बल्ल युवतीहरुले पुरुष साथी बनाउन र उनीहरुसँग खेल्न पाउँछन् । जुआ र त्सुओ पनि पुरुष साथी बनाउन पाइने भएपछि दंग भए । नभन्दै एकदिन दिउँसो पुरुष साथीको खोजीमा हिँडे । बजार चहार्दै गर्दा जुआले सुओ ह्वालाई र त्सुओले हे सियाडोनलाई मन पराए । र, घर आउन निमन्त्रणा दिए । स्मरणीय छ, सुओ र हे पनि दाजुभाइ नै थिए । 

मुसोओ जातिको प्रचलनअनुसार युवतीको निमन्त्रणा पाएको केटो सिधै घरको ढोकाबाट पस्न पाउँदैन । यसर्थ राति परिवारका सदस्यहरु ठूलो (सामुहिक) कोठामा सुत्न गए । जुआ र त्सुओले भने त्यसदिन मात्र अलग्ग शयनकक्ष पाएका थिए । उनीहरु आ–आफ्नो कोठामा त्यस दिन मात्र साथी बनेका केटाको प्रतिक्षामा बसिरहे । सुओ र हे राति जुआ र त्सुओको घर पुगे । घरको छतमा चढे । छतबाट कोठामा छिर्नलाई लहरो झुन्ड्याइएको थियो । सुओ र हे त्यसको सहयोगले जुओ र त्सुओको कोठामा ओर्लिए । जुआले सुओसँग र त्सुओले हेसँग पूरै रात बिताए र बिहान झिसमिसेमै फर्किए । परिवारमा १३ जना सदस्य भए तापनि जुओ र त्सुओले कोसित शारीरिक सम्बन्ध राखे, कसैले पत्तो पाएनन् । 

मुसोओ जातिको रिवाज नै यस्तो छ कि आफूलाई मन परेको खण्डमा युवतीले सम्पर्क राखिसकेको पुरुषलाई जुनसुकै बखत घरमा बोलाएर यौन प्यास मेट्न सक्छन् । युवकले चाहँदैमा युवतीको घरमा जान सक्दैन । यसरी राखिने शारीरिक सम्बन्धबाट युवती गर्भवती भइन् भने पनि न युवक दोषी ठहरिन्छन् न उनले गर्भवती युवतीलाई पाल्नुपर्ने अभिभारा नै हुन्छ । गर्भवतीको रेखदेख, हेरचाहको सम्पूर्ण जिम्मेवारी परिवारको हुन्छ । प्रायः संयुक्त परिवारमा बस्ने यिनीहरुको घरको कमाण्ड सबैभन्दा ज्येष्ठ महिला सदस्यले गर्छिन् । उनैले गर्भवती छोरी, नातिनीको सम्पूर्ण जिम्मेवारी उठाउँछिन् र जन्मेका सन्तानको नामकरण गर्छिन् । यसमा बाबुको नाउँ र थरको कुनै स्थान हुँदैन । नामकरण पनि आमाकै नाउँबाट गरिन्छ ।

यो जातिमा बिहे गर्ने चलन छैन । चिनियाँले समेत ‘स्त्री राज्य’ मान्ने यो समाजमा परिवार पाल्ने, खेतीपातीलगायत सबै काम महिलाले नै गर्छन् । महिलाले चाहेमा एउटै पुरुषलाई ‘लोग्ने’ बनाइराख्न सक्छन्, नचाहेमा जुनसुकै बेला पार्टनर फेर्न सक्छन् । त्यसैले त्यहाँ एउटै लोग्ने हुने महिलाको संख्या छँदै छैन भन्दा पनि हुन्छ । धेरैका धेरै ‘लोग्ने’ छन् । यो जातिमा पुरुषको कुनै जिम्मेवारी र भूमिका हुँदैन, महिलालाई खेतीपातीको काममा सघाउने र शिकार खेल्नेबाहेक । तर राजनीति भने पुरुषले नै गरेका हुन्छन् । राजनीतिमा महिलाको संख्या नगण्य छ । 

तिब्बतनजिकको युन्नान र सिचुवाँमा बस्ने यिनीहरुको जनसंख्या ४७ हजारभन्दा बढी छैन । खुलेर यौनसम्बन्ध राख्ने र विवाहेत्तर सम्बन्धको झमेला नभएकाले होला, त्यहाँ अपराधका घटना एकदम न्यून छ । बलात्कार त झन् शून्य । यिनको बसोबास ८ हजार फुटभन्दा बढी उचाइको क्षेत्रमा छ । तिब्बती जस्तै देखिन्छन् । अत्यन्त दुर्गम स्थान भएका कारण लुगु ताल क्षेत्र सन्् १९५६ मा मात्र कम्युनिष्ट सत्ताको नियन्त्रणमा गएको हो । मुसोओहरु तिब्बती बौद्ध धर्म (बोन) मान्छन् । यिनीहरु लुगु तालमा प्रेमकी देवीको बास छ भन्ने विश्वास गर्छन् । पहाड र पानीको पूजा गर्छन् । मृत्युपछि मानिस प्रेत बन्छ भन्छन् । यो ब्रह्माण्डमा ८ सय देवी–देवता र ३ हजार दानव भएको विश्वास गर्छन् । देवी र देवताका थानमा बोका बलि दिने चलन छ । काठे घरमा बस्छन् । मकै, आलु, जौ उत्पादन गर्छन् । सुँगुर, खसी–बोका र कुखुरा पाल्छन् । यहाँ माछा खान प्रतिबन्ध छ । ग्रिन टी र जाँड पिउँछन् । यिनीहरु मांसाहारी हुन् । अन्य चिनियाँको तुलनामा गरिब छन् । खानेपानी र बिजुली सुविधा भर्खर भर्खर पुगेको छ । 

मुसोओ चीनको ५५ अल्पसंख्यक जातिमध्ये पर्छ । चीनमा हान जातिको प्रतिशत ९१.५१ छ भने बाँकी ८.४९ प्रतिशतमा ५५ वटा जाति छन् । माओत्सेतुङको नेतृत्वमा साँस्कृतिक क्रान्ति हुँदा उग्रवादी कम्युनिष्टहरुले मुसोओ जातिलाई ‘पशु’ र उनीहरुको संस्कृति, चलन, रीतिथितिलाई ‘अवनति’ को लाञ्छनासमेत लगाए । उनीहरुबीच जबर्जस्ती बिहे गराउने, धर्म त्यागी चिनियाँ मूल भाषा जबर्जस्ती बोल्न लगाउनेसमेत काम भयो । जसले सरकारको आज्ञाको उल्लंघन गरे, उनीहरु खाद्यान्नबाट वञ्चित भए । त्यसबेला धेरैले डराएर बिहे गरे । बिहेको प्रमाणपत्र लिए तर ती देखाउनका लागि मात्र थिए, उनीहरुले भित्रभित्रै आफ्नै प्रथा चलाएर । सन् १९७६ मा साँस्कृतिक क्रान्तिको अवसानपछि उनीहरुले पुनः खुला रुपमा आफ्नो जातीय संस्कार अंगीकार गरे । त्यसो त यतिखेर उनीहरु शिक्षित बनिसकेका छन्, धेरैले परम्परा त्यागिसकेका छन् । अन्य चिनियाँसरह बिहे गर्न थालेका छन् तर आफ्नो जातीय परम्परा मान्ने नै धेरै छन्, तसर्थ त्यो क्षेत्र पर्यटकीय नगर बनिसकेको छ । चिनियाँ सरकारले होमस्टे खोल्न र पर्यटकहरुलाई मुसोओ महिलाहरुसँग जिस्किन छुटसमेत दिएको छ ।

मुसोआ प्रायः ३ या ४ पुस्ता एउटै छतमुनि बसेका हुन्छन् । बज्यै, आमा, नातिनी सबै हुन्छन् तर त्यहाँ कसैको लोग्ने वा बाबु हुँदैनन् । पुरुष सदस्य त हुन्छन् तर कसैको दाजुभाइ, छोरा, भतिजहरु हुन्छन् । यौन स्वच्छन्दता भए पनि हाडनाता सम्बन्ध राख्दैनन् । यस्तो सम्बन्धलाई धर्मविरोधी मान्छन् । प्रायः यिनीहरुको घरको बीचमा खुला चोक हुन्छ । भुइँतला वस्तुभाउ, पहिलो तला भान्छा घर र खाने कोठा, दोस्रो तला बैठक, स्टोर र वयस्क युवतीका लागि गोप्य कोठा । अन्य सबै एउटै कोठामा सुत्छन् । वयस्कहरुको क्लब हुन्छ । जहाँ युवकयुवती नाचगान गर्छन् । युवतीलाई रिझाउन युवकले सुन, चाँदीका सामान उपहार दिन्छन् भने युवतीले मन पराएको केटालाई काठ र छालाबाट बनेका वस्तु दिन्छन् । 

बूढापाकाले पनि नवयौवनालाई नुनिलो मासु, ग्रिन टी, उखु र रक्सी दिन सक्छन् । पुरुष पहिलोपटक युवतीको घर जाँदा सुपारी र ह्याट (टोपी) लिएर जाने चलन छ । सुपारी युवतीको घरमा पालेको कुकुरलाई खुवाउँछन् भने टोपी युवतीलाई दिएर ‘प्रेम’ दर्शाउँछन् । महिलाले एकै समय एकभन्दा बढीलाई यौनसाथी राख्न सक्छन् । राख्ने–नराख्ने र यौनसाथी फेर्ने महिलाकै इच्छामा भर पर्छ ।
 

टिप्पणीहरू