​श्रष्टाले पनि कति सताए सताए

प्राज्ञहरूकै अप्राज्ञिक कार्यशैलीका कारण झण्डै–झण्डै खारेजीमा परेको नेपाल संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका नयाँ पदाधिकारीले पनि अपेक्षाकृत प्राज्ञिक कार्य गर्न सकेका छैनन् । गठन भएलगत्तै विजय बिस्फोटलगायतले सर्वोच्चमा मुद्दा हाले । अदालतले अन्तरिम आदेश जारी ग¥यो । करिब दुई महिनासम्म पदाधिकारीले काम गर्न पाएनन् । अदालतले हरियो बत्ती बालेपछि काम शुरु गरेको संगीत–नाट्यले यसबीच खासै गतिलो काम गर्न सकेको छैन । 

यो आरोप होइन । त्यहाँका प्राज्ञहरूले प्रमाणित गरिरहेको यथार्थ हो । असार सकिनै लाग्दा बजेट सक्न केही दिनअघि लगातार केही गोष्ठी गरिए । पहिलो गोष्ठी मारवाडी भवन, कमलपोखरीमा भयो । कवि तथा संस्कृतिविद् तुलसी दिवसलाई प्रमुख अतिथि बनाइएको गोष्ठीमा सदस्य–सचिव श्याम तमोट आफंैले कार्यपत्र सुनाए । उपकुलपति हरिहर शर्माले उद्घोषण गरे । परिषद्कै अरू प्राज्ञले टिप्पणी गरे । कार्यपत्र लेखेको पारिश्रमिक पनि तमोटले लिए, २५ हजार । कार्यपत्रमाथि चौतर्फी प्रहार भयो । सांसद विजय सुब्बाले त कालो मन भएको मान्छे नै भनिदिए । अरूले पनि तमोटको झाँको झारे । उनी अवाक भए । शर्माले छेकछाक गरे ।

अर्को रमाइलो भयो, असार २६ गते नेपाल प्रज्ञा–प्रतिष्ठानको लेखनाथ कक्षमा । गीतकार संघको सहकार्यमा भएको गोष्ठीको शीर्षक थियो, ‘गीतले समाजमा पारेको प्रभाव’ । कार्यपत्र लेखेका थिए, डा. विष्णु राईले । त्यसैमा उनले सम्भवतः जिन्दगीकै धेरै आलोचना खेप्नुप¥यो । उनको कार्यपत्र भनिएको लेखमाथि प्रा.डा. कृष्णहरि बराल, डा. नवराज लम्साल र डा. गीता त्रिपाठीले हुरुक्कै हुने गरी दनक दिए । डा. बरालले लघुकथा भने । अरूले त झन कडा प्रहार गरे । जनसाँस्कृतिक महासंघका अध्यक्ष तथा नेकपा नेता खेगेन्द्र राईले पनि झटारो हाने । कतिले डा. उपाधिमाथि नै शंका गरे । कालो, नीलो, हरियो, पहेँलो भए डा. राई । भने, ‘मेरो अज्ञानता रहेछ । म सुझाव मान्छु ।’ सुनिन्छ डा. राई बेलुकी ज्वरो आएर ओछ्यान परे ।

अर्को जात्रा भयो, असार २७ गते सीडब्ल्यु रेष्टुरेण्ट कमलादीमा । संगीतकार संघको सहकार्यमा संगीत–नाट्यले गरेको गोष्ठीमा टीका भण्डारीले कार्यपत्र प्रस्तुत गरे, दुई घण्टा बोले । करिब १५ जना सहभागी थिए । झरीका कारण पनि बिथोलिएको कार्यक्रम राति सकियो । सहभागीहरू भन्दै थिए, बेकारमा समयको बर्बादी मात्रै भयो । यति गोष्ठी गर्न करिब पाँच लाख खर्च गरेको प्रतिष्ठान स्रोतले जनाएको छ । 

शीतलनिवासमा छाएको सन्नाटा
एकातिर साँघुरो हल, त्यहीमाथि खचाखच कलाकार र सञ्चारकर्मी । तीन वर्षदेखि अल्झिएको राष्ट्रिय चलचित्र अवार्ड केशव भट्टराईले चलचित्र विकास बोर्डको नेतृत्व लिएको तीन महिनामै (गत शुक्रबार) साँझ शीतल निवासमा वितरण गरियो । अवार्ड पाउने खुशी भए, धेरैले तीतो पोखे । त्यही कार्यक्रममा पुगेका अभिनेता सरोज खनालले पोजपोजका फोटो खिचाए ।

सामाजिक सञ्जालमा सार्वजनिक गरे बस्ने ठाउँ नभएर राष्ट्रपति निवासको ट्वाइलेटको कमोडमा बसेको तस्बिर । यो भद्रगोलको विषयमा जनआस्थाले जिज्ञासा राख्दा केशव भट्टराईले ‘सरोज खनालको अमेरिकन मानसिकताले काम गरेको’ प्रतिक्रिया दिए । भने, ‘उनलाई चित्त बुझेको थिएन, बस्ने ठाउँ नै नभएको भए, म त्यहीँँ थिएँ, विकास बोर्डका कर्मचारी, राष्ट्रपति कार्यालयका कर्मचारी थिए । गुनासो राखेको भए तत्कालै समस्या समाधान हुनेमा उहाँ आफू हाइलाइट हुन र विकास बोर्डलाई बदनाम गराउनतर्फ लाग्नुभयो ।’ 

खासमा शीतलनिवासमा भएको हलको क्षमता २५० जनाको मात्र हो । तर, सहभागीको संख्या बढ्दा थपेर ३ सय पु¥याइयो । त्यसैमाथि बोर्डले यसैपटकदेखि नयाँ चिज थप्यो । अहिलेसम्मका चर्चित गीतमा नचाउने । त्यही सिलसिलामा ७० जना डान्सर थपिए । त्यही मेसोमा सरोज खनाल पनि परेका हुन् । बाहिर नन स्टप पानी परिरहेको थियो । भित्रबाट निस्कन मुश्किल ।

सरोजहरूले वेटिङ समय भित्र बस्नुप¥यो १५ मिनेटजति । यो बीचमा पोज पोजका तस्बिर खिच्न लगाए । र, पञ्चायत चलचित्रबाट अवार्ड नपाएको कुण्ठा पोखेको आरोप पाए । विकास बोर्डले यसै वर्षदेखि नगद २५ हजारसहित कलाकारलाई सम्मान गर्न थालेको छ । र, आगामी वर्ष बढाएर ५१ हजार पु¥याउने तयारी छ । जसका लागि नियमावली संशोधन हुँदै छ । यता रवीन्द्रसिंह बानियाँ, सरोज खनाल, नीता ढुंगाना, करिष्मा मानन्धरजस्ता वरिष्ठ कलाकर्मीको भने मन दुखाइँदै छ । 

टिप्पणीहरू