भिआइपीका भवन र भव्यतामा भ्याइ नभ्याइ

भिआइपीका भवन र भव्यतामा भ्याइ नभ्याइ

लामो समयदेखि अवरुद्ध राष्ट्रिय महत्वका सरकारी भवन निर्माणको काम तीव्रतर गतिमा अगाडि बढेको छ । सांसदको बैठकका लागि सिंहदरबारभित्रै र उपसभामुख, मन्त्री तथा प्रदेश प्रमुखहरूका लागि ललितपुरको भैँसेपाटीमा धमाधम भव्य बंगला तयार हुँदै छ ।

सिंहदरबारभित्रको पुतली बगैंचामा प्रतिनिधि सभाका २७५ र राष्ट्रिय सभाका ५९ गरी ३३४ सांसदका लागि झण्डै सात अर्ब लागतमा संसद् भवन निर्माणको काम धमाधम भइरहेको छ । उता सिंहदरबारबाट ६ किमि पर ललितपुरको सैँबु, भैँसेपाटीमा मन्त्री, राष्ट्रियसभा अध्यक्ष, उपसभामुख मुख्यमन्त्री र प्रदेश प्रमुखका कार्यालय बन्दै छ झण्डै १ अर्ब ३ करोड रुपैयाँको लागतमा ।

हाल नयाँ बानेश्वरमा अवस्थित (अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र) भाडामा लिइएको हो । जसको भाडा मात्र वार्षिक १५ करोड सम्मेलन केन्द्र विकास समितिले बुझ्ने गर्छ । संसद् भवनका लागि सांसदको एक कार्यकालमा भाडाबापत खर्च हुने रकमले आफ्नै भवन ठडिने भएसँगै बल्ल सरकारलाई तातो लागेको हो ।

अहिले पुतली बगैंचानजिक १ सय ७३ रोपनी ८ आना जग्गामा बन्न लागेको भवनको ठेक्का ठेकेदार ऋषिप्रसाद सुवेदीको टुन्डी कन्स्ट्रक्सन र शेक (चाइनिज) जेभीले पाएका हुन् । राष्ट्रिय सभाका ५९ सांसद अट्ने भवन र सोभन्दा साढे ४ गुणा बढी ( २७५) सांसद अट्ने भवन उत्रै आकारमा बन्न लागेको चर्चा छ । सो विषयमा जनआस्थाले विशेष भवन निर्माण आयोजना कार्यान्वयन इकाइका प्रमुख (सहसचिव) दिलिपशेखर श्रेष्ठसँग जिज्ञासा राख्दा ‘यो हल्ला गलत’ भएको प्रतिक्रिया दिनुभयो ।

उहाँका अनुसार प्रतिनिधिसभा र राष्ट्रिय सभाका अलावा ११ वटा भवन तथा पूर्वाधार रहनेछन् । प्रतिनिधि सभा भवन, राष्ट्रिय सभा भवन, अति विशिष्ट व्यक्तिको कार्यालय भवनका अलावा संसदीय दलको कार्यालय, संसदीय समितिको भवन, संसदीय सचिवालयको भवन हुनेछ । राष्ट्रिय सभाका लागि बन्ने भवनमा एक सयभन्दा बढी सांसद अट्ने ठूलो हल रहनेछ । सोभित्र अध्यक्षको कक्ष, भीआइपी, कमिटी हल, २ सय जना अट्ने बाल्कोनी छुट्टै र तीन सय मान्छे अट्ने एम हल बन्नेछ ।

यस्तै, संसदीय भवनको भुइँ तल्लामा ४ सय सांसद अट्ने हल, सभामुख कार्यकक्ष, भीआइपी रुम, तीन सय दर्शक अट्ने बाल्कोनी हल र दुई सय जना अट्ने हल/सेक्युरिटी/मार्सल रुम रहनेछ । यस्तै प्रेस कन्फ्रेन्स रुप त्यहीँभित्र हुनेछ जहाँ ७ सय हाराहारी सवारी साधन अट्नेछन् ।

भवनले २७ प्रतिशत ओगट्दा ४५ प्रतिशत क्षेत्र हरियाली बनाइनेछ भने बाँकी २८ प्रतिशत क्षेत्रफल सडक पूर्वाधार तथा वाटर बडीले ओगट्ने श्रेष्ठको कथन छ । उहाँका अनुसार भवनको मूल ढोका दक्षिणतर्फ हुनेछ, उत्तरको गेट माननीय र दक्षिण पूर्वी गेट सर्वसाधारणले प्रयोग गर्नेछन् ।

उता, भैँसेपाटीमा बन्दै गरेको मन्त्री आवास निर्माणको ठेक्का पाएको छ सिक्रो हनुमान जेभीले । हनुमान कन्स्ट्रक्सनका साहु हुन् शालिग्राम न्यौपाने । सिक्रोचाहिँ भारतीय कम्पनी हो । आगामी असार मसान्तसम्ममा पहिलो फेज सक्ने गरी काम तीव्रतर गतिमा बढिरहेको छ ।

अहिलेसम्म ६७ प्रतिशत भौतिक प्रगति भएको छ । ९६ रोपनी १० आना जग्गामा यो भवन झण्डै २ अर्बको लागतमा बन्न लागेको हो । जहाँभित्र २७ वटा भवन रहनेछ । मन्त्रीहरुका लागि २४ वटासहित राष्ट्रियसभा अध्यक्ष, उपाध्यक्ष र प्रतिनिधिसभाका उपसभामुखको लागि क्वार्टर त्यहाँ रहनेछ । ५० वर्षअघि (०२८ सालमा) निर्माण भएको मन्त्री क्वार्टर पुरानो र जीर्ण भएको, पटक–पटक मर्मत सम्भार गरी प्रयोगमा ल्याइने गरिएको कारण मन्त्री क्वार्टर सार्न लागिएको बताइन्छ ।

अहिले मन्त्री क्वार्टर रहेको पुल्चोकस्थित भवनचाहिँ विदेशी पाहुनाले भतेर खाने ठाउँ बनाउने तयारी छ । ९६ रोपनी १० आना क्षेत्रफलमा फैलने मन्त्री क्वार्टरका कूल १२ रोपनीमा मात्र भवन रहनेछ, बाँकी ३८ रोपनी ८ आनालाई हरियाली क्षेत्र बनाइनेछ । ११ रोपनीमा हेल्थ क्लब रहनेछ । त्यहीँ २७ रोपनी १२ आनामा प्रदेश प्रमुख र मुख्यमन्त्रीका लागि सवा अर्ब लागतका आवास र सम्पर्क कार्यालय बनाउने योजना छ ।

शहरी विकास मन्त्रालयले सिंहदरबारभित्रै संघीय दलको भवन बनाउँदै छ भने सानोठिमीमा ५ हजार सिट क्षमताको अन्तर्राष्ट्रिय हल बनाउने गृहकार्य चलिरहेको छ ।

टिप्पणीहरू