सत्ता र प्रतिपक्षका नेताहरु आ-आफ्नै छलफलमा, बैठक बस्न ढिलाइ
संसदमा हिजो मुठभेडको अवस्था निम्तिएपछि सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताहरु आ-आफ्नो रणनीति बनाउन जुटेका छन् ।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससहित विपक्षी दलका नेताहरु बानेश्वरमा छलफल गरिरहेका छन् । बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा भैरहेको छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपा अध्यक्ष उपेन्द्र यादव, राप्रपाका उपाध्यक्ष बुद्धिमान तामाङलगायत सहभागी छन् ।
यता, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापति एंव गृहमन्त्री रवि लामिछानेबीच सिंहदरबारमा छलफल भएको छ । प्रतिनिधि सभामा हिजोको घटना, विकसित राजनीतिक घटनाक्रम र आगामी रणनीतिबारे तीन नेताबीच छलफल भएको बताइएको छ ।
दुवै पक्षका नेताहरू आन्तरिक छलफलमा जुट्दा बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधि सभाको बैठक बस्न ढिलाइ भएको छ ।
नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेमाथि छानविन गर्न संसदीय समिति बनाउनुपर्ने माग गर्दै निरन्तर सदन अवरुद्ध गरिरहेको छ । सोही क्रममा हिजो कांग्रेस र एमालेका सांसदहरु भिडन्तमा उत्रिएका थिए ।
टिप्पणीहरू