चिसोबाट जोगिनुस्, नत्र जाडोयामका रोगले सताउला

चिसोबाट जोगिनुस्, नत्र जाडोयामका रोगले सताउला

गत साता मुलुकका विभिन्न भागमा तीन दिनसम्म परेको वर्षा र हिमपातले चिसो ह्वात्तै बढेको छ । हिमाल र उच्च पहाडी भेगमा सेताम्मे बाक्लो हिउँ थुप्रिएको छ । तराईमा शीतलहर चलेको छ । योसँगै केही दिनयता राजधानीमा समेत चिसोले सबैलाई हायलकायल बनाएको छ ।

चिसो मौसममा विभिन्न खालका रोगले सताउने भएकाले स्वास्थ्यमा विशेष ख्याल राख्नुपर्ने विज्ञहरुले बताएका छन् । विशेषगरी साना बालबालिका, वृद्धवृद्धा, कमजोर स्वास्थ्य भएकाले जाडोमा जोगिनुपर्ने सल्लाह दिइएको छ ।

चिकित्सकहरु जाडोमा वाह्य प्रदुषणसमेत बढ्ने भएकाले श्वासप्रश्वास, नाक, कान र घाँटी तथा छातिमा समस्याहरु देखिने बताउँछन् । हिउँदमा धेरैजसोको हातगोडा, अनुहार छालामा समेत समस्या बोकेर बिरामीहरु अस्पताल धाउने गरेको उनीहरुको अनुभव छ । गर्मीको तुलनामा हिउँदमा वातावरणमा समेत बढी धुवाँधुलो उड्ने र वायुप्रदुषण हुने भएकाले स्वासप्रश्वास सम्बन्धी रोगले सताउने सम्भावना बढी हुन्छ ।

वीर अस्पतालका उपनिर्देशक तथा छाती रोग विशेषज्ञ डा. प्रज्वल श्रेष्ठ चिसोबाट बच्न दैनिक शारिरिक व्यायाममा ध्यान दिन सुझाव दिनुहुन्छ । उहाँले यो समयमा खानपान र रहनसहनमा विशेष ख्याल राख्नुपर्ने सुझाव दिनुभएको छ । आफ्नो भान्छामा पाक्ने खानेकुरामा बढी जोड दिँदै उहाँले भन्नुभएको छ, ‘जाडोमा प्रशस्त तातो पानी पिउनुपर्छ । सँगसँगै झोलिलो पदार्थ, हरियो सागपात पनि त्यत्तिकै सेवन गर्नुपर्छ ।’

घरेलु औषधिको रुपमा प्रयोग गरिने तुलसी, अदुवा, महको नियमित प्रयोगले पनि चिसोमा रोग प्रतिरोधात्मक क्षमता बढ्ने डा. श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार जाडो मौसममा शारीरिक व्यायाम नगर्ने र धेरै खानेकुरा खाने खराब बानी परिर्वतन गर्नुपर्छ । हेर्दा सामान्य लाग्ने यस्ता विविध पक्षमा ध्यान नदिए जटिल किसिमका रोगले आक्रमण गर्नसक्ने डा. श्रेष्ठ बताउनुहुन्छ । ‘त्यसैले खानपान, रहनसहन र शारीरिक क्रियाकलापमा ध्यान दिन आवश्यक छ,’ उहाँले जोड दिनुभयो ।

जाडोमा देखिने संक्रमण

डा. श्रेष्ठका अनुसार चिसो समयमा फोक्सोमा समस्या आउने भएकाले दमका दीर्घरोगीलाई निकै असर पर्छ । अन्य स्वस्थ मानिसलाई पनि रुघाखोकी लाग्ने, घाँटी दुख्ने, नाकबाट पानी बग्ने र एलर्जी जस्ता समस्याहरु देखिन्छन् । कतिपयले छाला, अनुहार फुट्ने, फुस्रो हुने, कपालको समस्या लिएर आएको समेत उहाँको अनुभव छ ।

यस्ता रोग र लक्षणसँगै जाडो याममा मुटुरोग, हृदयाघात, बाथ तथा जोर्नी दुख्ने समस्या पनि धेरैमा देखिने भएकाले जाडोमा सावधानी अपनाउनु नै हितकर हुने बताइन्छ । चर्को जाडोमा मानसिक रोगका बिरामीको संख्या समेत बढ्ने गरेको छ ।

बालबालिका र वृद्धवृद्धा बढी जोखिममा

जाडोमा वृद्धवृद्धासँगै बालबालिका पनि धेरै बिरामी पर्छन् । उनीहरुमा रोगसँग लड्न सक्ने क्षमता कम हुने भएकाले त्यस्तो हुने गरेको हो । त्यसैले जाडोमा खानपान, रहनसहन र न्यानो कपडामा ध्यान दिनुपर्ने हुन्छ । बालबालिकामा निमोनिया, ज्वरो, रुघाखोकी, पखालालगायतका समस्याहरु देखा पर्छन् । वृद्धवृद्धामा दम र श्वासप्रश्वासका समस्या बढी देखिने गरेको छ ।

त्यसैले उनीहरुलाई चिसोबाट जोगाउन तातो खानेकुरा र शरीर ढाक्ने ऊनीका कपडा लगाइदिन डा. श्रेष्ठले सुझाव दिनुभएको छ ।

चिसोबाट बच्ने उपाय

चिकित्सकहरुका अनुसार चिसोबाट बच्न सबैभन्दा पहिले खानपान र रहनसहनमा विशेप ध्यान दिनुपर्छ । ताजा झोलपदार्थ, सागपात, तातो खानेकुरा र तातो पानी प्रशस्त मात्रामा सेवन गर्न उहाँहरुले सुझाव दिनुभएको छ ।

त्यसैगरी दैनिक रुपमा शारीरिक व्यायाम गर्ने । आगो र हिटरको प्रयोग गरेर जाडो कम गर्न सकिन्छ । तर, यसको प्रयोग गर्दा सजकता भने अपनाउनुपर्ने देखिएको छ । कोठाभित्र आगो तापेर सुत्दा धेरै जनाले अकालमा ज्यान फालेको घटनालाई विशेष रुपमा हेरिनुपर्ने उहाँहरुको सुझाव छ ।

त्यसैगरी अदुवा, तुलसी, महको नियमित सेवन गर्ने र शरीरलाई ढाक्ने बाक्ला ऊनीका लुगा लगाएर जाडोबाट बच्न सकिन्छ । त्यसैगरी छालालाई चिसोबाट जोगाउन तोरीको तेल, नरिवलको तेल प्रयोग गर्न सकिने चिकित्सकहरुको भनाइ छ ।

टिप्पणीहरू