​चेलाहरूले बिर्से गुरुलाई

  • श्याम रिमाल

राजा महेन्द्र २०१७ सालमा बेलायत जाँदा बोलाइएका लैनसिंह बाङ्देल तत्कालीन रोयल नेपाल एकेडेमीमा नियुक्त गरिए । उन्नाइस सालमा सरस्वती सदनमा एकल कला प्रदर्शनी पनि गरे । राणाहरूले रु. पाँच हजारमा कलाकृति खरीद गरिदिए । उनले सिकेको ज्ञान चेलाहरूलाई सिकाए । ती शिष्यशिष्या कोही चरामा लागे, कोही महिलाको मात्र चित्र बनाउन तिर लागे । कोही थांका, देवीदेवता, धर्मसंस्कृति, इतिहास, भूदृश्य, ग्राफिक, पदक डिजाइनमा । कोही रङ मात्र खेलाएर अमूर्तमै रमाउन थाले । चेलाहरूले आधुनिक कलाकार समाज (सोमा) गठन गरी कलापुञ्ज पाँचौँ प्रदर्शनी पनि गरे । सोमाले नेपाली आधुनिक चित्रकलाका विभिन्न पक्षलाई समेटेर ‘समसामयिक नेपाली चित्रकलाः एउटा छुट्टै समूह’ शीर्षक कृति प्रकाशनमा ल्याएको छ । डा. यामप्रसाद शर्माद्वारा लिखित पुस्तकमा चित्रकारहरूको जीवनी र आधुनिक चित्रकला क्षेत्रका विभिन्न आयामलाई उल्लेख गरिएको छ । 

प्रदर्शनी सकिन लागेपछि मात्र चेलाहरूले थाहा पाए यसै वर्ष गुरुको १०० औँ जन्मजयन्ती पो परेको रहेछ । अब बाङ्देलको सयौँ जन्मजयन्तीकै उपलक्ष्यमा नेपालका चित्रकारहरूबीच प्रतियोगिता गराउने योजना छ । प्रदर्शनीमा गोविन्द डङ्गोल, हरिबहादुर खड्का, कर्ण मास्के, शान्तकुमार राई, रमा मास्के, चिनीकाजी ताम्राकार, शंकरनाथ रिमाल, हिरालाल डंगोल, हेम पौडेल, श्यामलाल श्रेष्ठ, कान्ति न्यौपाने, नरेन्द्रसुन्दर सैंजु, टार्जन साङ्पाङ, रत्नकाजी शाक्यलगायत चित्रकारको चित्र राखिएको थियो । 

चित्रको मूल्य रु. १५ लाख 
सोमाले बबरमहलस्थित नेपाल कला परिषद्मा आयोजना गरेको चित्रकला प्रदर्शनीमा शङ्करराजसिंह सुवालले तयार पारेको एउटै चित्रको मूल्य रु. १५ लाख छ । गणेशको विभिन्न आकृति प्रदान गरेर निर्माण गरिएको चित्रले जो कोहीलाई आकर्षित गर्छ । क्यानभासमा अनेकथरी रङ प्रयोग गरी गणेशसँग जोडिएका विभिन्न पक्षलाई उतारिएको छ । एकै चित्रमा एक सय आठभन्दा बढी गणेशको आकृति पनि देखिन्छ । सुवालले २०३३ सालमा गोरखापत्रमा राजा वीरेन्द्रको रंगीन तस्बिर छाप्न मुख्य भूमिका खेलेका थिए । 

 ‘करिब डेढ महिनाको समय लगाएर चित्र तयार पारेको हुँ’, सुवालले भने, ‘मैले बनाएको चित्र अहिले नभए पनि ढिलोचाँडो बिक्री हुन्छ ।’ उनले यसअघि पनि गणेशको चित्र रु. १० लाखमा राम श्रेष्ठलाई बिक्री गरेका थिए । चित्रकलामा २०२१ सालमा भारतबाट स्नातक र जर्मनीबाट स्नातकोत्तर सुवाल काठमाडौँमै अध्यापनरत छन् । 

जंगबहादुर राणासँगै बेलायत भ्रमणमा गएका भाजुमान र दीर्घमान चित्रकारले त्यहाँको आधुनिक चित्रकलाबाट प्रभावित भएर यहाँ यसको विकासमा जोड दिएको पाइन्छ । विसं २०२० पछि मात्र नेपालले आधुनिक चित्रकलामा फड्को मारेको हो । 

युरोप भ्रमण गरेका भाजुमान– दीर्घमान चित्रकार, बेलायतका ब्रायन हडसनद्वारा दीक्षित राजमान चित्रकार, कोलकातामा अध्ययन गरेका चन्द्रमानसिंह मास्के र तेजबहादुर चित्रकार तथा युरोपमा कला शिक्षा लिएका लैनसिंह बाङ्देल कसलाई आधुनिक कला भित्र्याउने श्रेय दिने भन्नेमा मत बिभाजित छ । 

सोमाकै कलाकार पनौती पुख्र्याैली घर भएका सैँजुले दाप्चामा कलाग्राम बनाउन लागेको खबरले कलाप्रेमी खुशी भएका छन् । उनले त्यहाँ दुई तीन रोपनी जग्गा खरीद गरेका छन् । कास्की वेगनासमा बनाउन लागिएको होटेलमा पनि कला गतिविधि गर्ने भनेर सबैलाई जानकारी दिइसकेका छन् । बाङ्देलका पुराना चेला हरि खड्का भने आउँदो पुसमा एकल कला प्रदर्शनी गर्न सुरिएका छन् । सोमाको उद्घाटन गर्ने डा. उपेन्द्र महतोले ललितपुरको मेडिसिटी हस्पिटलका प्रत्येक कक्ष र करिडोरमा चित्र खरीद गरिदिएमा कलाकारहरूको दशैँ राम्रै हुन्थ्यो कि ? 

टिप्पणीहरू