विकराल बन्दै साइबर अपराध

विकराल बन्दै साइबर अपराध

अहिलेको आधुनिक युगमा सूचना तथा सञ्चारका नयाँ प्रविधिहरुको विकास हुने क्रम जारी छ । विश्वभर यसका प्रयोगकर्ताहरु दिन दुई गुणा र रात चौगुणाले बढ्दै गइरहेका छन् ।

नेपाल पनि इन्टरनेट पहुँचमा पहिलेको अवस्थाबाट धेरै अगाडि आइपुगेको छ । अहिले संसारका आधाभन्दा बढी मानिस इन्टरनेट सञ्जालमा जोडिएको अनुमान गरिन्छ । नेपालमा इन्टरनेटको पहुँचमा ८० प्रतिशतभन्दा बढी जनसंख्या पुगेको तथ्याङ्क छ । यति मात्रै होइन यो सँगै साइबर अपराध गर्नेहरुको सक्रियता पनि त्यतिकै मात्राले बढिरहेको पाइन्छ ।

समाजिक सञ्जालसँग जोडिएर हुने गरेका अपराधका घटनाले अहिले सिंगो समाजलाई नै तताउने गरेको छ । यसका सर्वसाधारण प्रयोगकर्ताहरु जुन संख्यामा बढेका छन् त्यति नै अपराध गर्न चाहनेहरु पनि सक्रिय हुँदै गइरहेका छन् ।

सामाजिक सञ्जालबाट अपराध

इन्टरनेटको प्रयोगमार्फत गरिने चरित्रहत्या, हिंसा फैलाउने कार्य र यौनजन्य हिंसा आदि जुनसुकै प्रकारका अपराध पनि योभित्र पर्छन् । नेपालमा पछिल्लो समय इन्टरनेटको प्रयोग गरेर ठगी गर्ने, हयाकिङ गर्ने, व्यक्तिगत सूचना खुलासा गर्ने जस्ता गतिविधि बढ्दो मात्रामा देखिन थालेका छन् ।

कम्प्युटर र इन्टरनेट प्रयोगकर्ताहरुले व्यक्तिगतदेखि संस्थागत गोप्य सूचनाहरु सार्वजनिक, लाखौंको ठगी, वेवसाइट ह्याक, एटिएम कार्डबाट गैरकानुनी तरिकाले रकम भिक्ने जस्ता विविध घटनाले आज समाजलाई थप चुनौती थपेको छ । २०७२ सालमा नेपालमा विभिन्न मन्त्रालयका वेवसाइट ह्याक गरिएको घटनाले निकै चर्चा पनि पाएको थियो ।

त्यस्तै एनआइसी बैंकको सिष्टम ह्याक प्रकरणमा ह्याकरले स्वीफ्ट प्रणालीको ह्याक गरी विश्वका विभिन्न ६ मुलुकका आठ वटा बैंकमा रकम सारेको घटनाले पनि खुबै चर्चा पाएको थियो । यहि पुसको १५ गते पनि कुमारी बैंकको प्रणाली ह्याकिङ गर्ने चेतावनी आएको बताइन्छ ।

विशेषगरी साइबर अपराधमा युवाहरू बढी संलग्न हुने गरेको पाइएको छ । यौनजन्य साइबर अपराधबाट महिलाहरू बढी पीडित हुने गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

ब्युरोले चालु आर्थिक वर्षको पछिल्लो साढे पाँच महिनामा मात्र विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गत ४६ जनाविरुद्ध मुद्दा दर्ता गरी कारबाही थालेको छ । यो संख्या गत आवमा ७६ र अघिल्लो आवमा ५० थियो ।

सामाजिक सञ्जालमा विभिन्न वहानामा ठगिनेको सूची झन् झन् लम्बिँदै गएको छ । तर, यस्ता घटना जिल्लामा बिरलै दर्ता हुने गरेको छ । यसको कारबाही प्रक्रिया पनि त्यति सजिलोे छैन । अहिले वैदेशिक रोजगारीको आश्वासन दिनेदेखि अनेकौं ब्ल्याकमेल गर्नेहरु पनि साइबरमा सक्रिय देखिन्छन् ।

साइबर अपराधसम्बन्धी कडा कानुनको अभाव, विद्युतीय कारोबार ऐनले साइबर अपराधका नयाँ कसुरलाई सम्बोधन गर्न नसक्नु, सजायको मात्रा तथा पीडितले पाउने क्षतिपूर्तिको मात्रा कम हुनु, विभिन्न खालका वेबसाइट तथा सामाजिक सञ्जालमा हुने गतिविधिमाथि सबै क्षेत्रले कडा निगरानी गर्न नसक्नु जस्ता कारणले गर्दा साइबर अपराधका घटना बढिरहेको प्रहरीको भनाइ छ ।

के छ कानुनी व्यवस्था ?

आजसम्म नेपालमा साइबर अपराधसम्बन्धी कडा कानुनको तर्जुमा भएको छैन । तर पनि नेपालका लागि विद्युतीय कारोबार ऐन २०६३ नै पहिलो र महत्वपूर्ण साइबर कानुन
मानिन्छ । कम्प्यूटर, इन्टरनेटलगायत विद्युतीय माध्यमबाट कसैको नैतिकतामा आँच आउने कुनै पनि गैरकानुनी विषय प्रकाशन गरेमा एक लाखसम्म जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुने सक्ने व्यवस्था छ । तर, जरिवानाको तुलनामा अपराधको क्षेत्र र संवेदनशीलता ठूलो देखिन्छ ।

साइबर सुरक्षा कसरी गर्ने ?

प्रविधिको तीब्र विकासँगै नयाँ चुनौती पनि भित्रिएका छन् । साइबर सुरक्षाका बारेमा सामान्य जानकारी नभएका कारण यस्ता घटना दिनहुँ बढिरहेका हुन् । इन्टरनेट र प्रविधिको विकाससँगै सावधानी अपनाउन सकेमा साइबर अपराधका घटनालाई केही मात्रामा भए पनि कम गर्न सकिनेमा दुईमत छैन ।

यस सम्बन्धमा प्रहरीको साइबर ब्युरोले साइबर सुरक्षाको निम्ति विभिन्न सुझाव समेत दिएको छ । ब्युरोका अनुसार आफूले प्रयोग गर्ने पासवर्ड गोप्य र अनुमान गर्न नसकिने खालको राख्ने, अनेक प्रलोभन देखाउँदै अपरिचित व्यक्तिबाट आउने म्यासेज वा इमेललाई खोल्दै नखोल्ने गर्नुपर्छ । त्यसैगरी आफ्ना व्यक्तिगत सूचनाहरू पासवर्ड, क्रेडिट कार्ड नम्बर र पिनकोड कसैलाई नदिने, सामाजिक सञ्जालमा भेटिएका अपरिचित साथीहरूसँग बोल्दा वा लेख्दा ख्याल गर्ने गर्नुपर्छ ।

टिप्पणीहरू