रक्सीले मातेर एक वृद्धद्वारा अर्का वृद्धको हत्या

रक्सीले मातेर एक वृद्धद्वारा अर्का वृद्धको हत्या

मोरङमा गएराति पाहुना लाग्न गएका एक वृद्धको हत्या भएको छ । ६० वर्षीय ति वृद्धको हत्याको आरोपमा ८१ वर्षीय अर्का वृद्ध पक्राउ परेका छन् ।

मोरङको लेटाङ नगरपालिका-२ फडानीका प्रेम बहादुर बुढाथोकीको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आरोपित वृद्ध डम्बरबहादुर भुजेलको घरमा पाहुना लाग्न गएका उनको गएराति हत्या भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता तथा नायब उपरीक्षक दिपक श्रेष्ठका अनुसार पाहुना लाग्न भुजेलको घरमा गएका बुढाथोकीको शव आज बिहान बाँसको झाडीमा फाल्न लागेको अवस्थामा स्थानीयले देखेका थिए । मृतक बुढाथोकीको टाउकोमा धारेलु हतियार बञ्चरो प्रहार गरि हत्या भएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जनआस्थासँगको कुराकानीमा बताउनुभयो ।

उहाँका अनुसार मृतक बुढाथोकी र भुजेलले गएराति सँगै बसेर मदिरा सेवन गरेको र आपसमा विवाद हुँदा भुजेलले बञ्चरो प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरीले घटनामा संलग्न रहेको भन्दै ८१ वर्षीय भुजेललाई समातेर अनुसन्धान प्रकृया बढाएको छ ।

घटनाबारे थप विवरण भने आउन बाँकी रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

टिप्पणीहरू