भाइरसले खायो भसक्कै

‘हाम्रो जोडीमा भाइरस लाग्यो त्यही भाइरसले हाम्रो दोस्ती खाइदियो ।’ हास्यकलाकार जितु नेपालसँग सम्बन्ध टुटेपछि दुःखी हुँदै दमन रूपाखेती भन्थे । त्यही भाइरसका कारण हो आज पनि दमन रूपाखेती र जितु नेपाल मन खोलेर बोल्दैनन् । त्यही भाइरसका कारण मन टुट्ने स्थितिमा पुगे चर्चित कलाकार सीताराम कट्टेल (धुर्मुस) र केदार घिमिरेबीच । यसरी कलाकार फुटाउने र राजनीति गर्ने ती भाइरस हुन् मिडिया हबका मालिक सोम धिताल । उनै धितालले फेरि पनि भद्रगोलका टिम फुटाउन खोजे । तर, यस पटक उनले खोजेजस्तो टिम फुटेन । सीताराम कट्टेलका भाइ कुमार (जिग्री) र अर्जुन घिमिरे (पाँडे) सहितका २१ जनाको टिम एकसाथ विद्रोह गरेर बाहिरिए । सोम धितालले नयाँ निर्देशकका रूपमा ज्योति काफ्ले (मंगल थारू) र अशोक धिताल (बाहुन डन) लाई भिœयाए । तर, ती अनुहार दर्शकले मन पराएनन् उनीहरूले पुरानै अनुहारको निरन्तरता खोजे ।  

६ साता रोकेर अस्ति शुक्रबार नयाँ टिमका साथ टेलिशृंखला त प्रसारण भयो तर सुपर डुपर फ्लप बनिदियो । २२० औं शृंखला युट्युबमा अहिलेसम्म अत्यधिक नरुचाइएको शृंखलामा परेको छ । यो समाचार तयार पार्दासम्म युट्युबको ५ औं नम्बर ट्रेन्डिङमा त परेको छ तर ९ लाख १८ हजार दर्शकले हेर्दा सो भिडियोमा ‘लाइक’ गर्नेको संख्या १८ हजार र ‘डिसलाइक’ गर्ने त्यसको दोब्बर अर्थात् ३९ हजार पुगेको छ । १४ हजारले कमेन्ट गर्दा ९५ प्रतिशतभन्दा बढी दर्शकले पुरानै कलाकार खोजी गरेका छन् ।

यता, सोम धितालका लागि चक्मा खुवाउने अर्काे खबर पनि छ । सोम धितालका ज्यादतीविरुद्ध कुमार र अर्जुनहरू अदालत जाने तयारीमा छन् । यो टेलिशृंखलाको नाम जुराउने, परिकल्पनाकार अर्कै हो । एउटा सर्जकको सिर्जना हडपेर सोम धितालले आ–आफ्नो ट्रेडमार्क बनाएको प्रति उनीहरूको आपत्ति छ । छाडेर गएका कलाकारको एक सय ७६ भागको पारिश्रामिक समेत सोम धितालले दिन बाँकी छ । एकातिर सिर्जना चोरी अर्काेतिर पारिश्रमिकताको विषयलाई बोकेर उनीहरू अदालत जाने तयारीमा छन् । कुनै समय नेपाल टेलिभिजनमा एकछत्र राज गर्दै आएका मिडिया टाइकुन सोम धितालको अबचाहिँ उल्टो यात्रा सुरु भएको छ । कुनै समय कर्जा सूचना केन्द्रको कालोसूचीमा परेका, नेपाल टेलिभिजनका केही भ्रष्ट कर्मचारीलाई भित्रभित्रै सेटिङ मिलाएर टेलिभिजनलाई तिर्नुपर्ने दसौं करोड रकम नतिरी उसले ४–४ वटा स्लट हात पारिरहेको धिताललाई छाडेका कलाकारले २ असोजदेखि नै टिम त्यही, थिम त्यही तर नयाँ नाममा नेपाल टेलिभिजनबाट नयाँ हास्य टेलिशृंखला हाल्ने भएका छन् । 

सिपीको शिल्पी

सोम धितालका कारण मन फाटिएका कलाकार जोडिने क्रम जारी छ । यही बीचमा कुनै समय भद्रगोल टेलिशृंखला जन्माउन मुख्य भूमिका खेलेका तर सोम धितालबाट उठाउनुपर्ने १२ लाख उठाउन नसकेर विद्रोह गरी हिँडेका सिपी पुडासैनी अर्थात् धतुरे नयाँ धन्दामा लागेका छन् । नेपालका उनी मात्र यस्ता कलाकार हुन् जसले सोम धितालसँग टसल लिएर नेपाल टेलिभिजनमै आफैं उत्पादक, आफैं निर्माता, आफैं कलाकारका रूपमा टेलिशृंखला क्या जमाना आ शुरु गरे । त्यहाँबाट डेरा सारेर क्याप्टेन रामेश्वर थापाहरूको लगानी रहेको एपिवानमा पुगे । त्यहाँ पनि पैसा उठाउन नसकेपछि आशीर्वाद पुनहरूको लगानी रहेको नाइस टिभीबाट क्या जमाना आ प्रसारण गर्न शुरु गरे ।

अब यो शृंखला नयाँ रूप र रंगमा प्रसारण हुँदै छ । विज्ञापन एजेन्सीहरूको उत्पादन रहेका र चर्चित भनिएका टेलिशृंखला केही बन्द हुने केहीको टिम नै ६६ महिना नपुग्दै परिवर्तन भइरहँदा उनको समूहले निर्माण गरेको क्या जमाना आले नेपाल पर्यटन वर्ष २०२० लाई ध्यानमा राख्दै र पर्यटन वर्षलाई सफल पार्ने अभियानमा होमिएको छ । यो टिम अहिले ७७ वटै जिल्लाका पर्यटकीय स्थलको प्रचारप्रसार गर्ने हेतुले देश दौडाहामा निस्कँदै छ । स्वर्णिम क्रियसनको ब्यानरमा प्रसारण हुँदै आएको क्या जमाना आले पर्यटन वर्षलाई ध्यानमा राख्दै देशैभरका विभिन्न पर्यटकीय स्थलमा पुगी त्यहाँ टेलिशृंखला सुटिङ गरी प्रसारण गर्ने योजना बनाएको क्या जमाना आ टेलिशृंखलाका निर्देशक सिपी पुडासैनी धतुरेले सुनाए ।

टिप्पणीहरू