भूगोल बलियो कि इतिहास ?

  • तीर्थ सिग्देल

प्रदेश प्रमुख नियुक्तिको विषयले बजार तातेको छ । नेताहरूले नोट अफ डिसेन्टसम्म लेखेको खबर छ । यस्ताखाले प्रसंगले प्रभाव र असर पर्दा कस्ता मानिस नेतृत्वमा जान चाहन्छन् र गइरहेका छन् भन्ने सवाल खडा गर्छ । अहिलेको राजनीति भूगोल र इतिहासको चपेटामा परेको देखिन्छ । एकथरी भूगोलको राजनीति गरेर पछि परिरहेका छन् भने अर्काथरीले इतिहास भजाएर खाइरहेका छन् । ००७ सालको क्रान्तिपछिका परिवर्तनको लेखाजोखा गर्ने हो भने यतिबेला ०२८÷२९ साल वरपरको समयले नेतृत्व गरिरहेको देखिन्छ– चाहे त्यो नेकपामा होस् या कांगे्रसमा । 
एउटा पुस्ता ०४६ सालको परिवर्तनले उदायो । अर्को पुस्तालाई ०५२ सालपछिको माओवादी जनयुद्धले जन्मायो । दुवैखाले परिवर्तन र संघर्षमा होमिएका युवा आज वडा कमिटी र नगर कमिटीतिर संगठित होलान् । कांग्रेसमै अवस्था यस्तो छ । ठूलो पार्टीका जिल्ला कमिटीतिर पुग्न त कपाल फुल्नुपर्छ । 

राजनीतिमा निरन्तर छाइरहन गाह्रो हुनुपर्ने हो । आजन्म नेतृत्वमा रहिरहने चाहनाले अहिलेको असन्तुष्टि जन्माएको छ । खासगरी सरकारी स्तरबाट गरिने नियुक्तिका सवालमा आमरूपमा प्रश्न उठ्ने गरेका छन् । कोही लामो समयसम्म भूगोलमा रमायो, घरखेत बेचेर राजनीतिमा होमियो । त्यसले आज कुन ठाउँ पायो ? बरु जसले नेता र नेतृत्वको सुमेरु पर्वत परिक्रमा ग¥यो, उसैले अवसर पायोको अवस्था छ । 

सरकारी नियुक्तिदेखि सबैखाले अवसरमा टपक्क टिपेर स्थापित गर्ने परिपाटीले घर गरिरहेकै छ । भूगोलमा स्थापित भएकाहरू जनताको मनमा छाएका हुन्छन् तर नेतृत्वले गुटगत हिसाबले हेरिदिँदा पछि परेका छन् । सवाल यो मात्र होइन, हामीले भनिएका जति सबैखाले परिवर्तन सम्पन्न गरेका हौं । अब ल्याउनुपर्ने कुनै तन्त्र रहेन । सबथोक हामै्र आँगनमा छ । तर, के ती सबै परिवर्तनमा जनताको अपेक्षा पूरा गर्नेतर्फ ध्यान केन्द्रित गरेका छौं ?

पछिल्ला सरकारी नियुक्तिमा भइरहने विवाद र असन्तुष्टि झोंक मात्र होइन । यो यक्ष प्रश्न पनि हो । हाम्रा सोचले निर्माण गरेका पद्धति के हाम्रोलागि फलदायी सावित भए ? चाहे त्यो झापाका विष्णु प्रसाईंको नाममा भएको विवाद होस्, चाहे दावाफुटी शेर्पा र धर्मकान्त बाँस्कोटाहरूको नियुक्ति प्रसंग । सबै विषयले आज पनि उही अवस्थालाई झल्काउँछ । के हामीले ल्याएको परिवर्तन यसैका लागि थियो ? 

हो, हरेक मानिसले अवसर खोज्छ । मानिस नै हो, जसले अवसरको सदुपयोग र दुरूपयोग दुवै गर्न सक्छ । त्यसका लागि गरिने समान वितरण र अवसर बाँडफाँडको कुनै वैज्ञानिक विधि के हुन सक्छ ! जतिबेला मानिसले आफूलाई प्रतिस्पर्धी तुल्याउँदैन, त्यतिबेला उसले अनुचित लाभ लिन खोज्छ । जब त्यो अवसर र बाँडफाँडमा भागबण्डा भइरहन्छ, त्यतिबेला एउटा क्षमता र योग्यता भएको मानिस पलायन हुन बाध्य हुन्छ । 

एउटा वर्ग, जसले आज पनि उही धन्धा र उही कर्म गरेर आफूलाई स्थापित गराइरह्यो । बुझे हुन्छ, त्यो सधँै सत्ताको वरपर छ । एउटा वर्ग, जो सधँै तलै छ । बुझे हुन्छ, त्यो कहिल्यै सदरमुकाम पुगेको छैन । बरु एउटै मान्छे पटक–पटक मन्त्री भयो, उही मान्छे फेरि सरकारकै सल्लाहकार छ । उही मान्छे, जसले लामो समय सत्ताको स्वाद चाख्यो, उही मान्छे फेरि राजदूत बन्न चाहन्छ । उही मान्छेले सरकारी जागिर खाएर पेन्सन पकायो, उसैलाई संवैधानिकदेखि अन्य नियुक्ति चाहिन्छ । 

त्यतिबेला फेरि उही गाउँखाने कथाको झल्को आउँछ, राजनीतिमा भूगोल कि इतिहासको मूल्यांकन हुन्छ ? वर्तमानले इतिहासको सम्मान गर्नुपर्छ तर भूगोलले ठाउँ पाउनुपर्छ । किनकि हरेक संघर्ष र इतिहासको मूल्यांकन समयले गर्नुपर्छ । इतिहास दोहोरिएर आउँदैन । बरु भूगोलले वर्तमानको प्रतिनिधित्व गर्छ, जसले हरेक दिन नयाँ सोच अघि सार्न सक्ने नेतृत्व जन्माइरहेको छ । 

 

टिप्पणीहरू