बाबाजीका खुट्टा ढोगेर कम्युनिज्मको बात
हामीले गोलमटोल र अस्पष्ट अथवा भनौं ‘नरो वा कुञ्जरो वा’ मार्काको रकमी कुरा गर्ने होइन । वामपन्थी समाजवादीले सधैंभरि सीधा र प्रष्ट कुरा गर्नुपर्छ । सत्यको जित हुन्छ भनिरहने, यो कुरालाई मान्नेहरू हुन् वामपन्थी, कम्युनिष्टहरू (यदि कम्युनिष्ट हुन् भने) भनेपछि त झन् पिपलपाते कुरा गर्नै हुन्न । समाजवादको बाटो हिँड्न चाहनेहरू सबैले कुरा मात्रै गर्ने, फुइँ लाउने, धाक लाउने होइन । हामीले समाजवादी बाटोमा हिँड्न कस्तो पोलिसी चाहिन्छ, कस्तो कार्यक्रम र कस्तो नेतृत्व चाहिन्छ भनेर सीधासीधा कुरा गर्नुपर्छ, जिब्रो चपाएर बोल्नै हुन्न । तर तलका कार्यकर्ता मात्रै होइन, दोस्रो तहका भनिने नेतृत्वले पनि सीधा र प्रष्ट भाषामा बोल्ने हिम्मत गरेको पाइन्न । सही के हो, सत्य के हो र विचारधारात्मक कुरा के हो भनेर बोल्न वा भन्न सक्ने साहसै देखिएन । दोस्रो तहका नेतादेखि तलका कार्यकर्ता सबैले ठूलाले दिएको मानो थाप्नेबाहेक अरू क्षमता देखाएको पाइएन । यस्तो तरिकाले पार्टीको आकार बढ्दैैैन, पार्टीको वैचारिकीलाई प्रखर पनि बनाउँदैन बरु थप भुत्ते बनाउन सघाउने काम गर्छ र त्यो भुत्ते बनेको कुरा पछि मात्रै थाहा हुनेछ तर त्यो थाहा हुनेबेलासम्म भने धेरै ढिलो भइसक्नेछ ।
अर्को पनि साह्रै दुःखलाग्दो के भने हामीले असाध्यै बुझेका छन्, धेरै अध्ययन गरेका छन्, दूरदर्शी छन् भनेर मानेको नेतृत्व वर्गमा पनि बौद्धिकताको स्तर असाध्यै र असाधारण किसिमले कम/न्युन भएको देखिन्छ । हाम्रो बौद्धिक इतिहास छोटो भएको हुनाले अध्ययन नपुग भएर देशलाई चाहिने किसिमको बौद्धिकताको विकास त्यो तहमा हुन नसकेको हो कि अथवा कारण अर्कै छन् यस्तो हुनुमा ? अन्तको त कुरै नगरौं देशको संसदजस्तो गरिमामय स्थानमा समेत भाषा प्रयोगको स्तर दयालाग्दो अवस्थामा छ ।
प्रस्तुति हेर्दा उहाँहरू झगडा गरेको हो कि अथवा चिया पसलमा सवालजवाफ गरिरहेको हो भनेर भेद गर्न मुश्किल पर्छ । संसद भनेको देशको निम्ति ऐन कानुन बनाउन लफल गर्ने, नीति नियम बनाउने मात्रै होइन गम्भीर छलफल गर्ने थलो हो । तर त्यहाँ अभिव्यक्त भनाइ उत्तेजना, आवेग, आरोप–प्रत्यारोप, धम्की, रिस, दम्भ र कुण्ठाले भरिएका पाइन्छन् । संसदीय गरिमालाई क्षतविक्षत नै पारिएको पाइन्छ । खसीको टाउको झुण्ड्याएर अर्थोकै बेच्ने थलो हो कि भन्ने भान दिलाउँछ । यो साह्रै ठूलो चिन्ताको विषय हो । देशको सबैभन्दा उच्च गरिमा रहेको संसदभित्र यसरी विचार र भाषाको खडेरी हुन्छ भने अन्यत्र कस्तो होला ?
आज हामीलाई किन जाने बुझेको, इमानदार, बौद्धिक नेताको खाँचो परेको छ भन्दा देशलाई कुन दिशामा लैजाने हो र त्यसको निम्ति कस्तो विचारधारा, कस्तो नीति आवश्यक पर्छ भनेर प्रष्टसँग भन्न सक्ने, नडराइकन भन्न सक्ने नेताको खाँचो छ । देशलाई सिंगापुर वा स्वीट्जरल्याण्ड बनाउँछुु अथवा स्याटेलाइटबाट बिजुली बेच्छु भनेर जनतालाई भ्रममा अल्झाउने नेताहरूको जरुरत छैन । मेलम्चीबाट पानी ल्याएर शहर पखाल्ने आश्वासन पनि चाहिएको हैन । तुइनसम्म नभएर फट्केबाट नदी पार गर्दा खसेर ज्यान गुमाउनुपर्ने अवस्थामा रहेका हामीलाई चुच्चे रेल र पानी जहाजको झुटा आश्वासन बाँड्नेहरू चाहिएको त हुँदै होइन ।
शिक्षा, स्वास्थ्य, खानेपानी तथा रोजगारीको जिम्मा निजीलाई दिएर न्याय, समानता, सुख र समृद्ध अनि समाजवादको कुरा गर्नेहरूको पनि देशलाई जरुरत होइन । हामीलाई चाहिएको समावेशितासहितको लोककल्याणकारी प्रणाली बनाउन लागिपर्ने नेतृत्वको हो । अझ बाबाजीहरूको शरणमा दक्षिणा चढाएर समाजवादको गफ हाँक्ने गेरुवावामपन्थी नेतृत्वको त झनै जरुरत छैन । तर, यो कुरा जनताले भनेर नहुने रहेछ । यस बारेमा बोल्ने, नेतृत्वलाई सुधार्ने र नसुध्रिएको अवस्थामा नेतृत्वलाई नै बदल्ने काम र जिम्मेवारी दलका मान्छेहरूकै हो । ओलीलाई वा प्रचण्डलाई अथवा देउवालाई अध्यक्ष ÷सभापति बनाउने काम जनताको हातमा हुँदैन । त्यसकारण जस्तो कार्यकर्ता, उस्तै नेता जस्तो अवस्था छ । अब केही हिम्मत त गर्नैपर्छ कार्यकर्ताले । आफू पनि सुध्रिने र नेतृत्वलाई पनि सुधार्ने । देशमा महँगी बढेको छ, कतै चर्चा छैन ।
बेरोजगारी उस्तै छ, कतै चर्चा छैन । भ्रष्टाचारको त कथा नै बन्छ, कतै चर्चा छैन । संसदमा उठ्नुपर्ने विषय त यिनीहरू हुन् नि ! तर संसदमा यी सवालमा चर्चा नै हुन्न बरु त्यहाँ के कुरामा बलमिच्याइँ हुन्छ भन्दा माओवादी सशस्त्र संघर्ष होइन त्यो हिंसा हो कि होइन भन्नेबारे पनि होइन । कार्यकर्ताले अब समाजवादको कुरागर्न थाल्नुपर्छ । समाजवादी विचारधाराको, यसको रणनीतिक तथा कार्यक्रमिक विषयवस्तुको अनि नीति र नियमबारे प्रष्ट बोल्न शुरु गर्नुपर्छ । नेतृत्वलाई देश र जनताको पक्षमा बोल्न र छलफल गर्न बाध्य पार्नुपर्छ । अन्यथा हामीले निर्माण गरेको समाजवादी आन्दोलन दिशाहीन हुन सक्छ । सही र स्पष्ट कुरा गर्नु कार्यकर्ताको कर्तब्य नै हो भन्ने ज्ञान अब राख्नै पर्छ ।
(साभार:जनआस्था साप्ताहिकबाट)
टिप्पणीहरू