​सुदूरपश्चिमका पहरेदारको सम्झना

  • मनऋषि धिताल

नेपालको पश्चिमी सिमानामा भारतीय विस्तारवाद हस्तक्षेपसम्बन्धी बहस हुँदा श्रद्धेय दिवंगत नेता प्रेमसिंह धामीको स्मरण गर्छु । पश्चिम–उत्तरको कालापानी लिम्पियाधुरामा भारतीय बल मिच्याइँका ऐतिहासिक ६० वर्ष पुराना तथ्यको निक्र्याेल नलाग्दै २५ वर्षअघि महाकाली सम्झौताको विरुद्ध उभिएको सुदूरपश्चिमको एक नक्षेत्र प्रेमसिंह धामीको सम्झना ताजा भयो । 

०५४ भदौ २६ गते बिहान वरिष्ठ पत्रकार रेशम विरही र मैले उनको अन्तर्वार्ता लिएका थियांै । पर्सिपल्ट भदौ २८ गते नुवाकोटको क्युरेनीमा जीप दुर्घटनामा उनी बितेको दुःखद खबर आयो । अन्तर्वार्ता भदौ २९ गते शनिबारको दिव्यदर्शन साप्ताहिकमा छापियो । 

०५२÷५३ सालतिर काठमाडौं विभिन्न पत्रिकाको भरिया र साइकलब्वायको रुपमा नियुक्ति पाए पनि लेख्ने अवसरको खोजीमा थिएँ । आफ्नो आस्था अनुकूल पत्रकारिताको स्थान ‘जनआह्वान’मा पाएको थिएँ । तर, काठमाडांैमा गुजारा चलाउन मेरा तत्कालीन सम्पादकहरूसहित सबै अन्यत्र पनि काम गथ्र्यौं । 

मलाई लेखनमा बामे सर्न सिकाउने गुरुमध्येका रेशम विरहीले एकाबिहानै टेपरेकर्ड बोकाएर कुपण्डोलतिर कुदाए ‘त्यहाँ एक गहं्रुगा मान्छेको अन्तर्वार्ता गर्नु छ, तिमी हिँड, अन्तर्वार्ता लिने तरिका पनि सिक, सार्ने जिम्मा तिम्रो हुन्छ ।’ भन्दै म पछि लागँे । डेराको बैठक कोठामा प्रश्न–उत्तर शुरु भयो । पत्रकार रेशम र उनी कुनैबेलाका सहपाठी र सहकर्मी रहेछन् । धामीले सजिला प्रश्न गर्नुस् है भनेको सम्झन्छु । प्रश्न सजिला वा अप्ठ्यारा के भए तर उनको जवाफ दिने निर्भिक र प्रष्ट शैली  हेरिरहँे । म भने अन्तर्वार्ता लिनभन्दा सार्न आतुर थिएँ । दिउँसो अन्तर्वार्ता उतार गर्दा राजनीतिक स्कुलिङ सुनेजस्तो लाग्यो, उनले भनेको खास कुरा के थियो त्यतिबेला मात्रै बुझेँ । अन्तर्वार्ता सारिसकेपछि विरहीले भने, ‘अब तिमी पास भयौ ।’ पास–फेल के भएँ थाहा भएन तर लेखनमा आत्मविश्वास भने बढ्यो । 

त्यो बेला डेरा र पढाइ खर्च जुटाउन हामी ३÷४ वटा पत्रिकामा एकैचोटि काम गथ्र्यौं । पत्रिका भूगोलपार्कबाट साइकलमा बोकेर पाटनढोका लगी वितरण गरिन्थ्यो । जनआह्वान, दिव्यदर्शन, घटनाचक्रमा भने मेरो लेखनलाई पनि माया गर्ने वातावरण थियो । स्कुले जीवनमा लेखेका मेरा धेरै निबन्ध त्यो बेला छापिइसकेका थिए । तीमध्ये घन लागेको एउटा लेख थियो–भर्खरै खुलेको कर्णाली चिसापानीको आधुनिक पुलबारे । 

दिव्यदर्शनमा प्रेमसिंह धामीको अन्तर्वार्ता प्रकाशन हुने अघिल्लो दिन उहाँको निधन भइसकेकाले रंगीन छापिने भए पनि श्यामश्वेत आयो । टँुडिखेलमा शव राखिएको थियो र त्यो दिन धेरैले श्रद्धाञ्जली अर्पण गर्दै त्यो अन्तर्वार्ता पढेका थिए । 

मैले उनको सम्झना भएपछि सुदूरपश्चिमको एक नेपाली राष्ट्रवादी नेताबारे के–कति डिजिटल सामग्री छन् भनी खोज्न थालें । हालको चर्चित डिजिटल रेकर्ड पुस्तक विकिपिडियामा एउटा सूचना छ त्यो पनि ‘नेपालका एक राजनीतिक नेता, सन् १९९४मा संसद्मा निर्वाचित, १९९७ मा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी समस्याबारे बनाएको आयोगका संयोजक, दार्चुलाको मालिकार्जुनमा जन्मिएका ।’ भन्ने मात्रै । नेपाली राजनीतिमा उनको योगदान र निधनबारे कुनै सूचना अध्यावधिक छैन  वा मेरो अल्पज्ञानले भेटिन कि ! 

सुदूरपश्चिमको सीमा मिचिएकोबारे सर्वदलीय धारणा साझा हुनु सकारात्मक हो । सोहीअनुसार सरकारले कूटनीतिक पहल गरेर समाधान खोज्नु  बुद्धिमानी हुन्छ । ६÷७ दशकदेखि बहसमा आएको यो मुद्दालाई किनारा लगाउने राष्ट्रिय बल अहिलेको सरकारले पाएको छ । दक्षिणतिरको मित्रले अहंकार वा अज्ञानताले मिचेको हाम्रो जमिनबाट आत्मलोचनासहित फिर्ता पठाउन सक्नुपर्छ । यही मौकामा प्रेमसिंह धामीजस्ता दिवंगत राष्ट्रवादी नेताले महाकाली सन्धिमा भएको राष्ट्रघातलगायत सुदूर सिमानामा भारतबाट भएको बलमिच्याइँबारे त्यो बेला गरेको खबरदारीको सुनुवाइ गर्ने बेला आएको छ । अहिलेका सरकार सञ्चालकको असली राष्ट्रवादी चरित्र त्यो बेला प्रमाणित हुनेछ जतिबेला–प्रेमसिंह धामीको त्यो बेलाका आवाज फेरि आर्काइभबाट झिकेर सुनुवाइ गर्ने र आफू पनि सच्चिन कोसिस गरिनेछ । 

हामी प्रवासमा रहेका करोडांै नेपाली पनि सल्लाह गर्दै छाँै, हाम्रो मातृभूमिको सीमा रक्षार्थ के–कस्तो नैतिक बल यहाँबाट दिन सक्छाँै । हाम्रो राष्ट्रियताको पक्षमा लाग्ने र नलाग्ने कुराको खतरा सीमाक्षेत्रका अमुक जनता वा सिमाना बाहिर कोशौं टाढा भएका जनताबाट छैन बरु काठमाडौंमा राज गर्नेहरूबाटै छ । बेलामौका दिल्लीले गलाउने र दिल्लीसँग गल्नेहरू दार्चुला वा ओलाङचुङगोलाको नेपाली होइन बरु सत्ताको बागडोर सम्हालिरहेकाहरू हुन् । 

हाल ब्रिसबेन निवासी नेपालको नापी विभागमा काम गरिसकेका देवराज पौडेलको यो तथ्यपूर्ण भनाइलाई पनि ध्यान दिने हो कि ? उनी भन्छन्, ‘नेपाल भारत सीमाको विवादित क्षेत्रमध्ये कालापानी विवादित क्षेत्र हो ! अरू क्षेत्रमा नेपाल–भारत संयुक्त सर्भे (प्राविधिक) टोलीले सीमा रेखांकन गरेर संयुक्त नक्सा बनाए  पनि विवादित केहीलगायत कालापानी क्षेत्रमा संयुक्त नक्सा तयार भएको छैन ! तर, कालापानी (काली नदीको वारि) र लिपुलेक नेपालको हो भन्नेसम्बन्धमा नेपाल सरकार सधैँ स्पष्ट छ ! प्रमाणका रूपमा पुराना नक्सा र दस्ताबेजलाई आधार मानिएको छ । सुगौली सन्धिले (सन् १८१६) पश्चिमको सिमाना काली नदी कायम गरेको छ ! अहिले (सन् २०१९) भारतले तयार गरेको राजनीतिक नक्सामा काली नदीलाई स्पष्टसँग लिपुलेकको पश्चिमतर्फ देखाइएको छ ! हामीले कागले कान लग्यो भनेर कागको पछि दगुर्नुभन्दा कान छाम्ने बेला आएको छ । 

उनी अगाडि भन्छन्, ‘नेपालका लागि यो नक्सा पनि गतिलो प्रमाण हुन्छ ! यस विषयमा कूटनीतिक पहलमा दुवै देशका प्राविधिक टोलीलाई समावेश गराएर परराष्ट्र सचिव स्तरबाट सीमा समस्या समाधान गर्ने जिम्मा दिएको हँुदा अलि चनाखो हुनुपर्छ ! स्मरणीय रहोस्, यो नयाँ समस्या होइन, भारतीय सैनिक कालापानी क्षेत्रमा १९६२ देखि बस्दै आएका छन् ! भारतले पहिले सन् १९७६ मा (प्रथम संस्करण) मा तयार गरेको राजनीतिक नक्सा पनि यस्तै थियो तर काली नदी कालापानी क्षेत्रमाथि देखाइएको थिएन !

आजका लागि बिसौनी गर्नुअघि मैले श्रद्धेय वरिष्ठ पत्रकार रेशम विरहीलाई यो स्मरण गर्दै टेलिफोन सम्पर्क गरँे । उहाँ बिरामी अवस्थामा अस्पतालको लाइनमा हुनुहँुदो रहेछ, प्रेमसिंह धामीको अन्तर्वार्ताको स्मरण गराउँदै गर्दा उहाँको स्वास्थ्य अवस्थाबारे थाहा पाएँ । सिद्धहस्त पत्रकार, लेखक, कवि मुख्यतया कलमजीवी रेशम विरहीज्यूको स्वास्थ्यलाभको कामना गर्दछु । 

टिप्पणीहरू