जति चाडबाड, उति गाह्रो मुखमा माड

जति चाडबाड, उति गाह्रो मुखमा माड

नेपालीहरूले सबभन्दा धेरै चाडबाड र बिदा मनाउँछन् । चाडबाडको मौसम र बजेट भाषण सुरु हुनेबित्तिकै सामानको मूल्य बढ्छ ।

कुनै पनि व्यवसायीले आफूलाई घाटा हुने गरी मूल्य निर्धारण गर्दैनन् । खानयोग्य नभएका सामानहरू पनि कतिपयले म्याद थपेर बजारमा पठाइरहेका हुन्छन् ।

स्वास्थ्यलाई असर पर्ने, गुणस्तरहीन सामानहरू पनि बजारमा बिक्रीका लागि राखिएका हुन्छन् । सामान किनेर उपभोग गर्नेलाई गुणस्तर छ कि छैन भनेर थाहा हुँदैन ।

गुणस्तरहीन सामानले हड्डी खिइने, क्यान्सर निम्त्याउने, सुगरजस्ता रोग लाग्ने हुन्छ । कुखुरादेखि लिएर हरियो सागसब्जीसम्ममा विषालु औषधी राखिएको छ । तौल बढाउन सुई हान्नु सामान्य भइसक्यो ।

आफूखुशी रेट राखेर राजश्व छल्दा र जनता ठग्दा सरकार कहाँ छ ? कतिपयले दर्ता नै नगरी पसल सञ्चालन गरिरहेका छन् । फुटपाथ र ठेलागाडा व्यापारी बढेका छन् । उपत्यकामा कोरोनाको जोखिम ह्वात्तै बढेको छ । बजारमा मेला लागेजस्तो छ ।

व्यापारीहरूले मास्क नलगाई सामान बेचिरहेका छन् । लापरबाहीले दोस्रोभन्दा तेस्रो लहरमा बढी मानिस मर्ने देखिन्छ । काठमाडौंको सरकारी र निजी अस्पताल कोरोनाका बिरामीले भरिँदै छन् ।

खोप लगाएकालाई कोरोना लाग्दैन भन्ने प्रचार झुठो सावित भएको छ । अस्पतालमा सबैभन्दा धेरै खोप लगाएका बिरामी छन् । हिजोआज खोप लगाउनका लागि बिहानैदेखि अस्पतालमा लाइन लागेको देखिन्छ ।

सरकारले २५ जनाभन्दा धेरै भेला नहुन निर्देशन दिएको छ । तर, खोप लगाउने ठाउँमा भीड छ । मैले खोप लगाएको छु भन्दै भीडभाड गर्नेहरूको संख्या पनि उस्तै छ । सर्वसाधारणलाई अहिले कोरोना र बजारको मँहगी दुवैले डाम्नुसम्न डामेको छ ।

महिनामा ८ देखि १० हजार कमाउनेहरूले कोठाभाडा तिर्नु कि खानु ! एउटा सानो निजी अफिसमा काम पाउनलाई समेत एक–दुई महिना सित्तैमा दलिनुपर्छ । महँगी बढ्छ, तलब बढ्दैन ।

नेपालमा फल्ने रायोको सागसमेत केही वर्षयता भारतबाट आयात हुन्छ । मुठामा बेचिने साग अहिले तौलिएर बेचिन्छ । उब्जनी हुने जग्गा सबै मासिँदो छ ।

रोजगारीको अभाव छ, क्षमताअनुसार जागिर पाइँदैन । जनसंख्या बढ्नु भनेको खाने मुख बढ्नु हो । तर, जमिन बढेको छैन, बरु घटिरहेको छ ।

टिप्पणीहरू