निर्माताद्वारा कलाकारलाई नमज्जा

चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीहरूले ‘तराई पहाड हिमाल मिलाउँछु’ भन्दै चलचित्र उत्पादनले ५३औँ वर्ष वीरगञ्जमा मनाएका छन् । महोत्सवका लागि १० लाख आइसी तिरेर भारतीय कलाकार गोविन्दालाई ल्याइएको थियो आफ्नै संस्थाले आयोजना गरेको सो कार्यक्रम महासचिवदेखि कार्यसमितिका अधिकांश सदस्यले बहिष्कार गरेका छन् । चलचित्र विकास बोर्डले १५ लाख, पर्यटन बोर्डले १५ लाख, वीरगञ्ज उद्योग वाणिज्य संघले १० लाख, प्रदेश सरकारले १० लाख, उद्योग वाणिज्य महासंघलगायतबाट गरी १ करोड उठेको थियो । महोत्सवमा नीर शाह, भुवन केसी, दीपाश्री निरौला, सरोज खनाल, बसुन्धरा भुसाल, भुवन चन्द, दीपकराज गिरी, निरुता सिंह, झरना थापा, वर्षा राउतलगायत सहभागी हँुदा रेखा थापाहरू नगएको बताइन्छ । तीन दिनसम्म चलेको कार्यक्रममा नेपाली कलाकार कसैलाई बोल्न दिइएन ।

खलनायकमा पनि २ नम्बर  
१२ वर्षको अन्तरालमा रोज राना खलनायकको सिक्वेल निर्माण गर्न कम्मर कसेर लागिपरेका छन् । ०६४ सालमा सुपरहिट चलचित्र खलनायक निर्माण गरेका उनी १२ वर्षपछि खलनायक २’  बनाउन तम्सिएका हुन् । रोजका अनुसार धमाधम कथा लेखन हुँदै छ । निर्देशनको जिम्मा गोविन्दसिंह भण्डारीले पाएका छन् । यस्तै द्वन्द्वको जिम्मा एनबी महर्जनले सम्हाल्नेछन् । संगीत अर्जुन पोखरेलको रहनेछ, चलचित्रको कथा मौनता श्रेष्ठले लेखिरहेका छन् । चलचित्रमा रोज आफैंले अभिनय गर्दै छन् । अन्य कलाकारको टुंगो लागेको छैन ।

घामड शेरे हेर्दाहेर्दै 
घामड शेरे चलचित्र हेर्न पुगेका हलमालिक सिनेमाघरबाटै प्रहरीको फन्दामा परेका छन् । क्युएफएक्सका मालिक नकिम उद्धिनहरू हलको शाखा विस्तारप्रति  आक्रामक बन्दै छन् । गत बिहीबार मात्र भक्तपुरमा नयाँ शाखा विस्तार हुँदै थियो । उनकै निमन्त्रणामा नयाँ शाखा उद्घाटन र घामड शेरे हेर्न पुगेका हलमालिक गोविन्द शाही समातिएका हुन् । लिलीबिली चलचित्रको एक करोड रकम हिनामिना गरेको आरोप खेप्दै आएका उनीविरुद्ध निर्माताद्वय मिलन चाम्स र सुदीप खड्काले उजुरी दिएका थिए । सोही आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी कालिमाटी वृत्तको जिम्मा लगाएको छ । यही अभियोगमा २ महिनाअघि नै पक्राउ परी १४ दिन हिरासतमा बिताएका उनलाई अदालतले उपस्थितिका लागि पटक–पटक आदेश दिँदासमेत अटेर गरेको बताइन्छ । 

टिप्पणीहरू