​प्रधानमन्त्रीकी बुहारी पनि पीडामा

सम्माननीय प्रधानमन्त्री १३ वर्षअघि भारतमा प्रत्यारोपित मृगौला फेर्न विदेश जाने तयारीमा हुनुहुन्छ । तर, उहाँलाई आफ्नो मृगौला दिने उपकारी बुहारीका बाबुको व्यथा बेग्लै छ ।

१३ वर्षअघि आफ्नो मृगौला दिने भाइबुहारीका पिताजी अहिले आफैँ सोही समस्याबाट ग्रस्त हुनुभएको छ । नाम हो, ध्रुव घिमिरे, चितवनका पुराना एमाले नेता । प्रधानमन्त्रीका भाइ ताराकी पत्नी अञ्जान घिमिरेले १३ वर्षअघि आफ्नो एउटा मृगौला जेठाजुलाई दिएकी थिइन् । उनका बुबालाई पनि यही बिमारीले सताएको खबर भर्खरै बाहिरिएको हो । आर्थिक सहयोगका निम्ति उहाँ सरकारकहाँ नजानेमा हुनुहुन्छ । सरकारको नीति पनि छ, मृगौला रोगीलाई सहयोग गर्ने । तर, नीति भएरमात्रै के गर्नु, अस्ति सोमबारमात्रै मृगौला पीडित सरोकार समाजका नाममा बालुवाटार घेराउ भयो । आफूहरूलाई उपलब्ध गराइँदै आएको सम्पूर्ण सहयोग पूर्ववत उपलब्ध गराउनुपर्ने पीडितको माग थियो ।

उनीहरूले सरकारले घोषणा गरेको जीविकोपार्जनवापतको मासिक भत्ता र डायलासिसमा दिइँदै आएको सुविधा यथावत राख्न माग गर्दै १४ बुँदे ज्ञापनपत्र लिएर गएका थिए । तर, उनीहरूलाई प्रहरी लगाएर धपाइयो । ध्रुव त्यसमा सरिक हुनुहुन्थेन । तर, आफ्नै रगत–पसिनाले बनेको पार्टीको सरकार भएको बेला जुलुस, धर्नाको झण्झट गर्नुभन्दा आफ्नै बुताले सकेको गर्ने पक्षमा हुनुहुन्छ । उमेर ६७ वर्ष पुग्यो । दैनिकजसो औषधी खाइरहनु परेको छ । त्यसले कहिले राम्रो गर्छ, कहिले समस्या पार्छ । अर्कातिर, पार्टी काममा सक्रिय भइरहेकै समयमा यस्तो रोगले सताएपछि कम्युनिष्ट गतिविधिमा पनि सक्रिय हुन सक्नुभएको छैन । 

टिप्पणीहरू