समय यस्तै यस्तै कुरामा सिद्धिँदै
सिंगो देश प्रधानमन्त्रीको स्वास्थ्यमा मात्रै रुमल्लिएको छ । प्रश्न उठ्छ– यो कति आवश्यक, चर्चा गरिरहनुपर्ने, समय व्यतित गरिरहनुपर्ने विषय हो वा उहाँको निजी जीवनसँग सम्बन्धित कुरा हो ? यतातिर लाग्न छाडेर देश बनाउने, जल्दाबल्दा राष्ट्रिय समस्या समाधानतिर एकजुट हुने घडी पो घर्कियो कि !
यो बिशुद्ध उहाँको शीघ्र स्वास्थ्यलाभको निम्ति मुलुकले शुभकामना दिइरहनुपर्ने, चिकित्सकहरूले पनि त्यहीअनु्सार ख्याल गर्नुपर्ने विषय हो । उहाँको स्वास्थ्योपचारको काम नियमित रुपमा चल्दै गएको छ । सँगसँगै सरकारको काम पनि नियमित गतिमा गइरहोस् भनेर सिंगो मुलुक त्यतातिर केन्द्रित हुनुपर्ने अवस्था छ । ‘भोलि नै विदेश जाने’, ‘अर्को हप्ता विदेश जाने’, ‘मृगौला प्रत्यारोपण गर्ने वा डाइलासिसमात्र गर्ने’, ‘उहाँको अनुपस्थितिमा अर्का पार्टी अध्यक्षको हैसियत हुने ?’ ‘कार्यवाहक प्रधानमन्त्री कसले चलाउने ?’ यी चर्चा गरिरहनुपर्ने विषय हुन् कि होइनन् ? महिनौंदेखि मन्त्रीहरू आज हटाइने कि भोलिजस्ता लेखाइले देशको प्रशासन सञ्चालनमा अवरोध आउँछ कि सुचारु हुन्छ ? कर्मचारीहरू कुन जाँगरले काम गर्छन् ? हामी अलिक नचाहिने कुरामा केन्द्रित भयौँ कि ? नियमित काम गर्नमा चुक्यौँ कि ? कफी र चिया गफमा भुलेर समय व्यतित ग¥यौँ कि ? कार्यवाहक प्रधानमन्त्री को हुने भन्ने विषयको बहस र समय व्यतित गर्नुपर्ने विषय नै होइन । यो स्वतः हुने कुरा हो । एकजना अध्यक्ष नहुँदा विगतमा पनि उपाध्यक्षले कार्यवाहक चलाउने परिपाटी रहँदै आएको छ ।
झलनाथ खनाल, माधव नेपालदेखि केपीकै पालामा पनि त्यस्तो भएको हो । सरकारमा पनि दोस्रो वरियताको व्यक्ति कार्यवाहक हुने अन्तर्राष्ट्रियदेखि नेपालकै अभ्यास हो । सरकारको कार्यशैली कस्तो भयो ? बिरामी भएर प्रमले आफ्नो कर्तव्य पालना गर्नुभएन कि ? ओछ्यानमा लडेर ‘ऐया–आत्थु’ मात्र गर्नुभयो कि ? मुलुकलाई अनिर्णयको बन्दी बनाउनुभयो कि ? भन्ने कुरा अहिले माथापच्ची गरिरहने विषय होइन । उहाँले गर्नुपर्ने काम नियमित रुपमा, उस्तै जाँगरका साथ गरिरहनुभएको छ । उपचार गर्नु आवश्यकता हो । त्यो उपचारमा कुनै समस्या, बाधा ल्याइनु हुँदैन । तर, यस्तै–यस्तै कुरामा रुमल्लिरहने बेला यो होइन । हरेकको आ–आफ्नो ड्युटी हुन्छ । प्रकृतिको पनि नियम हुन्छ । यताउताको बहसमा लागेर समयको बर्बादी गरिरहेका छौँ । सेनाले देशको सुरक्षा गर्न छोड्ने, सशस्त्रले गस्ती गर्न छोड्ने, भीड नियन्त्रण गर्न छोड्ने, अदालतमा न्यायाधीशहरू चिया गफमा भुलेर समय व्यतित गर्ने, सर्वसाधारणले टुँडिखेल, रत्नपार्कजस्ता खालि ठाउँमा बदाम खाँदै गफ गर्ने बेला होइन । सबैले ‘सुखी नेपाल, समृद्ध नेपाली’ बनाउन तदारुकताका साथ आफ्नो काममा निरन्तर जुट्नुपर्ने घडी हो । यही बेला नक्सा विवाद सडकमा छ । यिनै विषय विभिन्न सभा, सम्मलेनहरूमा उठिरहेको पनि छ ।
यसबीच चिनियाँ प्राध्यापकहरू, जो त्यहाँका थिङ्कट्यांक हुन्, उनीहरूको एउटा समूह आएर भारतको भूटानबाहेक सबै छिमेकीसँग सीमा विवादको समस्या रहेको औँल्याएको छ । उनीहरूले त्यस्ता कुरा सुल्झाउनुपर्ने अभिव्यक्ति दिएका छन् । सीमावर्ती चिनियाँ भूमिलाई पनि भारतले आफ्नो नक्सामा पारेको कुरा पनि आएकै छ । नेपालको पनि दुखेसो त्यही हो । सबै छिमेकीसँग समस्या मोलेर के आनन्द लिनु ? त्यसमा पनि सानो देशको सानो चोक्टा जमिन ओगटेर कति मोटाउनु ? कसरी आनन्दले बस्नु ? त्यसैले हाम्रो छिमेकीले पनि खुला छातीसहित समस्यारहित हिसाबले समस्या बल्झाउन हैन, सुल्झाउनतिर जानु बेस हुन्छ । देशमा यस्ता कुरा छन् । तर, ‘प्रधानमन्त्री कहिले विदेश जाने ?’ ‘कार्यवाहक को हुने ?’ भन्ने कुरातिर नगई देश कसरी जोगाउने ? सीमा कसरी जोगाउने ? देशको आर्थिक विकास र समृद्धि कसरी हासिल गर्ने ? भन्नेतिर बहस विवाद केन्द्रित गर्नुपर्ने बेला हो । बिरामी अवस्थामा पनि प्रधानमन्त्रीले आफ्नो कर्तव्य नियमित रुपमा पालना गरिरहनुभएको छ । अदम्य इच्छाशक्ति भएको उहाँको स्वास्थ्यमा चाँडोभन्दा चाँडो सुधार भएर देश विकासको कुरामा उहाँबाट लिन सकिने योगदानहरू अधिकतम् रुपमा लिनु हाम्रो कर्तव्य र जिम्मेवारी हो ।
हाम्रा मिडिया, बुद्धिजीवी र समाजका सबै अवयवहरूले यही विरामीका, कार्यवाहकका, को मन्त्री बनाउने, हटाउने सबै फैसला गरिसके । हुने नहुने आफ्नो ठाउँमा छ । परिणाम आएपछि थाहा भइहाल्छ । हल्लाका खेती अनेक भए । यसले जानेलाई कति तनाव हुने ? धुकचुकको अवस्थामा कतिञ्जेल मन्त्रीहरूलाई रिंगाई राख्ने ?
टिप्पणीहरू