सित्तैमा खाँदा स्पष्टीकरण

यत्रतत्र सर्वत्र भनेझैं निक्षेप तथा कर्जा सुरक्षण कोषमा पनि ठूलाबडाले व्यक्तिगत स्वार्थ र चाहनामा मिलाएको औपचारिक विदेश भ्रमणको पर्दाफास भएको छ । कोष सदस्य रहेको एशियन क्रेडिट सप्लिमेन्टेसन इन्स्टिच्युसन कन्फेडरेसनको अक्टोबर २८ देखि ३० तारिखसम्म श्रीलंकाको कोलम्बोमा सम्पन्न ३२ औं वार्षिक सम्मेलनमा अध्यक्षसहित तीन जनाले सहभागिता जनाएका थिए । प्रमुख कार्यकारी अधिकृत विष्णुबाबु मिश्रको चाहना र रोजाइमा सीमित कर्मचारीलाई मात्र पटक–पटक ठूलो रकम खर्च गरी विदेश सयर गराएकामा अर्थ मन्त्रालयले हालै स्पष्टीकरण सोधेको छ । कोलम्बोको कार्यक्रममा सहभागिताका लागि मन्त्रालयले अध्यक्ष तथा महालेखा नियन्त्रक गोपीनाथ मैनाली र मिश्र दुई जनालाई मात्र स्वीकृति दिएको थियो । तर, सीईओ मिश्रले भने कोषकी कायममुकायम नायब प्रमुख कार्यकारी अधिकृत उषा पौडेललाई समेत लगेपछि मन्त्रालयले खबरदारी गरेको हो । 

मन्त्रालयले अध्यक्ष र सीईओलाई सात दिनको काज दिए पनि मिश्रले कर्मचारी पौडेललाई भने नौ दिनको सुविधा दिएका थिए । श्रीमतीसहित श्रीलंका गएका मैनालीले दुबई रुट प्रयोग गरेका थिए भने मिश्र र पौडेलले बैंककको बाटो समाते । कोषले मितव्ययिता नअपनाई अध्यक्ष र सीईओलाई महँगो प्रिमियम टिकट उपलब्ध गराएकोमा पनि स्पष्टीकरण सोधिएको छ । यसैगरी, गत चैतमा टोकियोमा सम्पन्न एउटा सामान्य कार्यक्रममा समेत मिश्रले पौडेललाई महँगो खर्चमा पठाइदिएका थिए । त्यसको पनि औचित्य पुष्टि गर्न मन्त्रालयले भनेको स्रोतको दाबी छ ।

टिप्पणीहरू