अष्ट्रेलियाका नेपालीमाथि विभिन्न आपत
- मनऋषि धिताल
फराकिलो भूगोल, अनौठो पर्यावरण, आठ हजार वर्ष पुराना आदिवासी मानवीय सभ्यताको पहिचान भएको इतिहास, प्रकृति र मानवनिर्मित अनौठा स्थान र संरचना, वनस्पति तथा पशुपक्षी – अष्ट्रेलिया देश मात्रै नभएर अनौठो महादेश पनि हो ।
यही महादेशमा नेपाली पाइला टेकिएको आधा शताब्दि पूरा भएको छ । नेपालीभाषी परिवारमा जन्मिएको पहिलो बच्चाले अगस्त ९ मा आफ्नो ४५ औं जन्मदिन मनाएको छ । आजभोलि नेपालीको बाक्लो बस्ती भएको अस्पतालमा दिनहुँ केही नेपाली बच्चा जन्मिरहेका छन् ।
अष्ट्रेलियामा नेपालीभाषी जनसंख्या पुगनपुग डेढ लाख भएको अनुमान छ । जसमा नेपाली, भुटानी र भारतीय छन् । नेपाली विद्यार्थी मात्रै झण्डै ४० हजार छन् । पूर्णरूपमा स्थायी र मतदाता भइसकेकाको संख्या २० हजारभन्दा बढी पुग्न लागेको अनौपचारिक तथ्यांक छ ।
मूलतः माइग्रेन्ट (बसाइँ सरी आउने)हरूको बाहुल्यता भएकाले यहाँको नयाँँ आप्रवासी (न्यु माइग्रेन्ट) समाजभित्रका समस्या पनि नयाँ नै छन् । कतिपय मान्यता, ऐन, कानुन, नीति–नियम बुझ्न र लागू गर्न नजान्दा व्यहोरिरहेका समस्या एकथरी छन् भने अर्कोथरी आफ्नै आदतको दास हुने र नयाँँ सिक्न नचाहने प्रवृत्तिले पनि समस्या पैदा भएका छन् । गत शनिबार साँझको एक घटनाले भने यहाँको नेपाली समाजभित्रको चरम नकारात्मक परिदृश्य बाहिर ल्याएको छ ।
मोटर वर्कसप सञ्चालन गर्ने श्रीमान् र हाउसकिपिङसम्बन्धी व्यवसाय गर्ने श्रीमतीको औसत अष्ट्रेलियन कमाइ राम्रै थियो । शुक्रबार दिउँसो मात्रै खेलकुदमा स्वर्णपदक पाएकी आठवर्षे छोरीको प्रगतिको खुशी र गर्वले पनि त्यो परिवारभित्रका स–साना असमझदारीलाई टाढा लखेट्ने सम्भावना थियो । आखिर अष्ट्रेलियन समाजमा खुशी हुन धेरै ठूलो कुरा पनि चाहिँदैनथ्यो ।
क्रिकेट खेलमा स्थापित श्रीमान्् प्रायः सप्ताहान्त व्यवसाय बन्द गरेर परिवार र खेलकुदलाई दिन्थे । तर, शनिबार उक्त दम्पत्तिको झगडा एक जनाको जीवनको अन्त्यसम्म पुग्यो र अर्कोको अब सम्भवतः लामो काराबास जीवन सुरु हुनेछ । काराबास समाप्तिपछि पनि अष्ट्रेलियन मान्यताको जीवन हुने छैन । बिचरी आठ वर्षीय छोरीको भविष्य कस्तो होला ? श्रीमान् र श्रीमती दुवैतिरका आफन्त र मित्रजनको पीडा कहाँ–कहाँसम्म फैलिएला ?
असन्तुष्टि, असमझदारी, झैझगडा, गालीगलौज, मुद्दा मामिला, सम्बन्धविच्छेदसम्मका घटना अष्ट्रेलियन नेपाली समाजभित्र सतहमा देखिन थालेका थिए, कहिलेकाहीँ सम्बन्धहरूको विघटन, चरम आर्थिक तनाव, आफ्ना समस्या कतै भन्न नसक्ने वा भित्रभित्रै कुण्ठित हुनेहरूमा एक्लोपन हुँदै मानसिक बिमारी बढेर आत्महत्यासम्म पुगेका केही घटना पनि छन् ।
अहिले यहाँका नेपाली कूटनीतिक नियोग, परिवार मिलन केन्द्र, सामाजिक कार्यकर्ता, स्वास्थ्यकर्मी वा कानुन व्यवसायीसँग प्रायः घरेलु झैझगडा, सम्बन्धविच्छेदजस्ता विषय बढी आउने गरेको सुनिन्छ । नेपालबाटै नक्कली प्रेम वा विवाहसम्बन्धरूपी समस्याको गह्रँुगो लगेज बोइङमा बोकेर आउने र यहाँ आएर भागबण्डा गर्ने चिन्तन युवामा हुर्केको छ । त्यसमा नेपालका अभिभावक दोषी छन् भने कथित परामर्शदाता पनि । श्रीमान््–श्रीमतीले नेपाल आ–आफ्ना आफन्तलाई एक्लाएक्लै सहयोग गर्न खोज्ने तर एकले अर्कोलाई रोक्ने प्रवृत्तिले झैझगडा भएको सुन्नमा आउँछ । त्यो समस्या एकअर्काको परिवारलाई सम्मान नगर्ने र अन्त्यमा विघटनसम्म पुग्ने गरेको छ ।
अष्ट्रेलिया बसिरहेको जोडी सामान्य स्थापित हुने चरणमा पुग्नासाथ नेपालबाट अभिभावकलाई घुम्न बोलाउनुमा गर्व गर्छ । तर, यहाँ आएपछि फेरि त्यही चिन्तन ः एकले अर्को आफन्तलाई सम्मान गर्न छाड्छ । ३ महिनाको बसाइ पनि ती आफन्तलाई निकै उराठलाग्दो हुने गर्छ र अर्को मानसिक बिमारी तथा सम्बन्ध विघटनको नासो लिएर फर्केका उदाहरण छन् । केही वर्षअघि थुप्रै छोरा–बुहारी, छोरी–ज्वाइँ भेट्न आएका एक जना अभिभावकले उनीहरूको हेपाइ सहन नसकी आत्महत्या गरे । अर्का अभिभावकले डेरा छाडेर भागे र समाजको सहयोगमा घुमफिर छोट्याएर फर्के ।
अष्ट्रेलियाको स्थानीय काउन्सिलले आफ्ना बासिन्दाभित्र यस्ता समस्या थाहा पाएपछि समाधान खोज्यो । घुमफिरमा आउने अभिभावकलाई घरभित्रबाट बाहिरसम्म आउन प्रेरित गर्ने, सामाजिक घुलमिल गराउने, आफंै स्वतन्त्र घुम्न र रमाउन सक्ने बनाउने नीति लियो । १० वर्षदेखि मित्र ऋषि आचार्य र ४ वर्षदेखि यो पंक्तिकारले स्वयंसेवक भएर अभिभावकको सेवा गरिरहेका छौं । तिनै अभिभावकका आफन्त कहिलेकाहीँ हामी स्वयंसेवकसँग आफ्नो घरेलु समस्या थाहा पाउने चिन्ता गर्छन् र सप्ताहान्तको बिदामा बढी कमाइ हुन सक्नेमा काम नगरेर किन स्वयंसेवा गर्छौ भनी आलोचना गर्छन्, शंका पनि व्यक्त गर्छन् ।
यहाँको हाम्रो समाजभित्र अर्को समस्या पनि विकराल छ । असीमित मदिरा तथा धूमपानको लत, चोकचोकमा भएका जुवा घरमा गएर अकुत सम्पत्ति कमाउने लोभ र पश्चिमा समाजको छिटोछिटो प्रेम जोडी छाड्ने र बनाउने लहड । यहाँ नियमभित्र रहेर उपर्युक्त तिनै कुराको स्वतन्त्रता छन् । गत वर्ष यहाँको एक सपिङमलका भित्ता र सडक छेउका ट्राफिक लाइटको पोलमा नेपाली भाषामा एउटा सूचना देखियो– ‘यहाँ तोप पाइन्छ’, सूचनामा फोन नम्बर पनि थियो ।
तोप गोलाबारे अलिअलि जानकारी राख्ने पंक्तिकारलाई अर्थ बुझ्न केही घण्टा लाग्यो । त्यो त केही कुलतमा फसेका नेपाली युवाले यहाँ प्रतिबन्धित धुम्रपानजन्य पदार्थ बिक्री गर्ने विज्ञापन पो रहेछ । देखेजति तत्काल हटाइयो । हटाउन लगाइयो । पछि थाहा भयो यहाँका सुधारगृहसम्म केही युवा पुगेका छन् ।
हुण्डी र मानव तस्करी राज्यस्तरले मात्रै समाधान खोज्ने समस्या हुन् । तर, प्रवासको हाम्रो समाजका समस्याको रांै–चिरा हामी आफैंले निदान गर्नुपर्ने भएको छ । केही सामाजिक अगुवा यो काममा लागेका पनि छौं । किनकि ती ठूला समस्याले भन्दा यी स–साना समस्याले समाजलाई भित्रभित्रै डढेलो लगाइरहेका छन् ।
अघिल्लो शनिबारको घटना मित्र भरतराज पौडेलले भनेजस्तै सामान्य ‘अलार्म’ मात्रै नभएर ‘इमर्जेन्सी साइरन’ नै हो । राम्रो कानुनी व्यवस्था, समानता र लोककल्याण भएको विकसित देशमा नेपाली परिवार भित्रैको मान्छेको ज्यान जाने कलह त संकटकालीन अवस्था नै हो ।
टिप्पणीहरू