धीरेन्द्रको घर ढालेर धमाधम

यो एउटा त्यस्तो भव्य महलको डिजाइन हो, नेपालभरि यही शैलीका कुनै घर आजसम्म बनेका छैनन् । अत्याधुनिक विदेशी शहरको झल्को दिने यो ठाउँ हो, ०५८ को दरबार हत्याकाण्डमा दिवंगत अधिराजकुमार धीरेन्द्र शाहको बासस्थान रहेको जीवन कुञ्ज ।

दिवंगत पूर्वराजपरिवारको नाममा रहेका अधिकांश जायजेथा सरकारिकरण गर्दै नेपाल ट्रष्टको स्वामित्वमा ल्याइएको छ । यो जीवनकुञ्जमात्र हो, जसलाई ट्रष्टले चलाएन । चलाउने कानुनी आधार पनि पाएन । ०६५ सालदेखि यसको बिक्री, बैनाका कथा चल्दै रहे । तर, कहिले भाउ नमिल्ने, कहिले बैना गर्ने मान्छे बेपत्ता हुने कारण भोगचलनमै समस्या आइरहेको थियो । ०६९ सालमा टुंगो लाग्यो– यो जमिनलाई ३५ वर्षका लागि भाडामा लगाउने । कुनै बेला वैदेशिक रोजगारीको लागि नेपाली कामदारलाई कोरिया पठाउने एकमात्र ओभरसिज कम्पनी मुनड्रप्सका सञ्चालक पुकार राणाहरूले अहिले ३५ रोपनी क्षेत्रफलमा रहेको जीवनकुञ्जलाई भत्काएर १९ तलाको होटल बनाइरहेका छन् ।

अघिल्तिरको कम्पाउण्डमा नेपालकै सबभन्दा ठूलो सपिङ सेन्टर बन्दैछ । पार्किङचाहिँ अण्डरग्राउण्डमा । त्यहाँ हजारभन्दा बढी चारपांग्रे र त्यही अनुपातमा दुई पांग्रे साधन अट्ने गरी पार्किङस्थल बन्दैछ । यसका लागि उनीहरूले पाँच वर्षअघि नै काठमाडौं महानगरपालिकाबाट नक्शा पास गराइसकेका छन् । अहिले काम धमाधम अगाडि बढिरहेको छ । त्यहाँबाट आउने भाडा धीरेन्द्रका तीन सन्तानले दामासाहीमा बाँड्ने सहमति भएको छ ।

त्यसबाहेक धीरेन्द्रकै स्वामित्वमा रहेको धुम्बाराहीस्थित क्लब कुण्डलिनीमा सञ्चालित प्याथोलोजी ज्वाइँ डा. राजीव शाहीले र त्यहीं सञ्चालित सासा व्याङ्क्वेट (पार्टी प्यालेस) अर्का ज्वाइँ आदर्श राणाले हेर्ने गरेका छन् । आम्दानीचाहिँ तीन छोरीले बराबर बाँड्छन् । सासा व्याङ्क्वेट टेकुमा पनि छ, प्रहरी परिसरभित्रै । त्यो पनि आदर्शले नै हेर्छन् । 

यो आम्दानीबाट तीनै दिदीबहिनीले पूर्वयुवराज पारसको खर्च पनि बेलाबेलामा चलाइदिने गरेका छन् । पारस विशालनगरबाट चण्डोलतिर जाने एउटा हाउजिङमा फ्ल्याट लिएर बस्छन् । उनीसँग डा. राजीव शाहीले भेटिरहन्छन् । पतिको वियोगपछि एक्लिएकी धीरेन्द्रपुत्री शिताष्माले यही आम्दानीमध्येको महिनावारी ५० हजार रूपैयाँ सासू आशा सिंहलाई दिने गरेकी छन् । 

टिप्पणीहरू